Logo

बिजुली बेच्न नपाउँदा रसुवागढीलाई मासिक २७ करोड घाटा

रसुवा– रसुवागढी जलविद्युत आयोजना १८ अर्बको लगानीमा निर्माण सम्पन्न भई गत माघमा उत्पादन परीक्षण गरेको भए पनि विद्युत प्राधिकरणले समयमा सबस्टेशन र प्रसारण लाइन बनाउन नसक्दा आर्थिक नोक्सानी व्यहोर्नु परेको छ ।

चिलिमे सबस्टेशन (२२० केभी) र चिलिमेदेखि त्रिशूली ३ ‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइन निर्माण कार्य पूरा नहुँदा १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण सम्पन्न भए पनि उत्पादन गर्न पाएको छैन । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोड्ने गरी चिलिमे हब निर्माण कार्य पूरा नहुँदा सो आयोजनाको बिजुली विगत चार महिनादेखि पानीमा बगिरहेको छ । अहिलेसम्म विद्युतको व्यावसायिक उत्पादन सुरु गर्न नपाउँदा आयोजनाले मासिक २७ करोड घाटा व्यहोर्नु परेको छ ।

उत्पादित विद्युत बेच्न बाटो नपाउँदा चार महिनामा एक अर्बभन्दा बढी आम्दानी गुमेको आयोजनाको भनाइ छ । रसुवागढी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले प्रसारणलाइन अभावमा विद्युत उत्पादन गर्न नपाएर ठूलो घाटा सहनु परिरहेको बताए । आयोजनाले सम्पन्न गर्नुपर्ने १० किलोमिटर प्रसारणलाइन पूरा भइसकेको छ । तर, चिलिमे हब नबन्दासम्म आयोजनाले आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था छ ।

प्रसारणलाइन समयमा सम्पन्न गर्न नसक्दा मासिक २७ करोड आर्थिक क्षति व्यहोर्नु परेको प्रमुख कार्यकारी अधिकृत गैरेले बताए । गत माघदेखि जलाशय र सुरुङमा पानी भरेर राखे पनि उत्पादन गर्न नपाएकोे आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए । आयोजनाको तर्फबाट उत्पादनका लागि काम बाँकी नरहेको र विद्युत गृहको ट्रान्सफर्मर लगायत उपकरण चार्ज गर्न सकिएन भने बिग्रिने सम्भावना रहेको उनले बताए ।

विद्युत प्राधिकरण र आयोजनाबीच ‘कमर्सियल अपरेशन डेट’ २०१७ अगष्ट थियो । प्राधिकरणका अनुसार १५ जुनसम्ममा प्रसारणलाइन र सबस्टेशनकोे सबै काम सकिन्छ । २८ किलोमिटर लामो प्रसारणलाइनमा ७५ वटा टावर निर्माण हुनेछन् । अहिलेसम्म ६६ वटा टावर ठड्याई सकिएको छ भने सातवटा टावरको जग खन्न बाँकी छ । सन् २०१७ अगष्टमा सम्पन्न गर्ने गरी आयोजनाको निर्माण २०७० माघ २३ गतेबाट सुरु भएको थियो ।

तर भूकम्प, नाकाबन्दी, कोरोना, बाढीपहिरोजस्ता अवरोधले आयोजनाको काममा ढिलाइ भएको आयोजना प्रमुख ज्वाख्वाले बताए । ‘भूकम्प, नाकाबन्दी र लकडाउनका कारण करिब दुई वर्ष काम ठप्पजस्तै भयो भने बाढीपहिरोले पनि क्षति पु¥याएका कारण काम ढिला हुन पुग्यो,’ उनले भने । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्