Logo

पर्यटन प्रवर्द्धनको पर्खाइमा अजिरकोट

गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको उत्तर–पश्चिम क्षेत्रमा अजिरकोट गाउँपालिका अवस्थित छ । अजिरकोट डिहीटार, बुधसिंहटार, नौबीसेटार, पोखराटार, मुच्चोकटारलगायत क्षेत्रभित्रका प्राकृतिक सम्पदाले भरिपूर्ण गाउँपालिका हो । अजिरकोट गाउँपालिकामा पर्ने अजिरकोट एक पर्यटकीय, ऐतिहासिक एवं धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको छ । गोरखा जिल्लामा प्राचीन ३९ वटा कोट छन्, त्यसमध्ये अजिरकोट पनि एक हो । यहाँबाट तल्लो मनास्लु कोट मार्गमा पर्ने अजिरकोट भच्चेक, नम्की, सिरानडाँडा, चित्रे, दमाहपातल, नागेपोखरी, माडी क्षेत्र, दूधपोखरी, नारदपोखरी तथा मनास्लु हिमालको मनोहर दृश्यको अवलोकन गर्न सकिन्छ ।

कोटमार्गको लिगलिगकोट, सिरानचोककोट, अजिरकोट, सिम्जुङकोट र अपुनकोट प्रसिद्ध छन् । अजिरकोटमा रहेको पुरानो कालिका मन्दिरको संरचना जीर्णौद्धार गरी पुनः सुन्दर मन्दिर निर्माण गरिएको छ । सो मन्दिर क्षेत्रबाट प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ बाह्रै महिना आन्तरिक पर्यटनको चाप बिस्तारै बढेको छ । विशेष गरी बडादसैँ र चैते दसैँमा यहाँ मेला लाग्छ । चैत्र-वैशाखमा अजिरकोट कालिका मन्दिरवरिपरि फुलेको विभिन्न लालीगुराँस र सुनाखरी फुलको घुम्टो ओढी तपाईं–हामी सबैलाई स्वागत गरेजस्तो लाग्छ ।

सो मन्दिर त्यस क्षेत्रको पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । बाइसे–चौबीसे राज्यको समयमा अजिरगणका रूपमा रहेको सो स्थान हाल अजिरकोट नामबाट प्रसिद्ध छ । पर्यटकीय दृष्टिकोणले निकै सम्भावना बोकेको सो क्षेत्रबाट हिमचुली, बौद्ध, अन्नपूर्ण, गणेश हिमाल, चेपे नदी, दरौदी र अन्य कैयौँ मनोहर दृश्य अवलोकन गर्न सकिन्छ । अजिरकोट क्षेत्रमा जान धेरै सजिलो छ । पृथ्वी राजमार्ग, मजुवाखैरेनीबाट गोरखा सदरमुकाम जाने सडक १२ किलोबाट ४५ कि.मि. कालोपत्रे सडक यात्रापछि अजिरकोट क्षेत्र पुगिन्छ ।

अजिरकोट क्षेत्रको महत्वपूर्ण पर्यटकीय स्थल नागेपोखरी पनि हो । नागहरूको पोखरी भएकाले नै यसलाई नागेपोखरी भनिएको हो । सत्ययुगमा देवीदेवताले नागकन्याको रूप लिएर विहार गरेकाले नागेपोखरी भनिएको गण्डकी महात्यमा चर्चा गरिएको पाइन्छ । १ सय मिटर लामो र ५० मिटर चौडा यस मनोरम पोखरीको प्रत्यक्ष पानीको निकासा देखिँदैन । रमणीय यस पोखरीडाँडाबाट चितवनसम्म देख्न सकिन्छ । हिमाली दृश्यावलोकन गर्न सकिने यस पोखरीमा मूल देखिँदैन, गुराँसको फेदमा नागपूजा गरिन्छ । नीलो आकारको यस पोखरीमा वस्तुभाउले छेउबाट मात्र पानी खान्छन् । सो ठाउँमा प्याराग्लाइडिङ तथा जिपलाइनजस्ता साहसिक खेलको सम्भावना रहेको छ । यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।

वदन्तीअनुसार च्यवन ऋषिको तपो थलो बाङ्गे ओडारलाई मानिन्छ । यहाँ नागपञ्चमीमा विशेष पूजा गर्ने प्रचलन छ ।
यो क्षेत्र पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । यो मार्गबाट दूधपोखरी र नारदपोखरी तथा मनास्लु हिमशृङ्खला जान सकिन्छ । सिरानडाँडा, दोबाटो, ठूलोखर्क, निम्चेपोखरी, जम्ल्याहा खोला, गल्छी, राम्दीको चौतारा, धुपीखोला, मपुरमाडी, तुईखर्क, बाङ्गे रह, खहरेको उकालो र धर्म गौंडा भएर दूधपोखरी पुग्न सकिन्छ । नारदपोखरी पनि सिरानडाँडाबाट दोबाटो, पौनडाँडा, नाजीखर्क, नागेपोखरी, डिलको ओडार, तपिडाँडा, सिरानखोला, मार्कसेमाडी, पौखोला, चिलिमखरे ओडार, बौलाखोला, चरममाडी हुँदै पुग्न सकिन्छ । दूधपोखरी र नारदपोखरीमा जनैपूर्णिमामा धार्मिक मेला लाग्छ । दूधपोखरी र नारदपोखरी माथिसम्म पनि भेडाखर्क देखिन्छ । यो क्षेत्र जडीबुटीको खानी हो ।

यस क्षेत्रमा सतुवा, वनलसुन, पाँचऔँले, नीरमसी, जटामसी, भूतकेश, यार्सागुम्बा, पाखनभेद, रथविरथ, हर्रो, बर्रो, जुर्गो, लेमनग्रास, तिते, अँलैची, कुरिलो, बोजो, कम्मरी लहरा, हात्ती पाइलेजस्ता अनगिन्ती जडीबुटी पाइन्छ । वनस्पतिमा गुराँस, चिमल, चाँप, धूपी, भोजपत्र आदि पाइन्छ । फलफूलमा भुइँचुत्रो, भोटेचुत्रो, भक्याम्लो, काफल, ऐंसेलु, मडिलो, मेल, नाल्चे आदि पाइन्छ । तरकारीमा निउरो, टुसा, कन्य च्याउ, खोचे, वनलसुन, साग, सिस्नो, खोलसाग, जेठीसाग, ठोट्ने, मुलापात आदि पाइन्छन् । जीवजन्तुमा काँडे भ्याकुर, मृग, हिम चितुवा, कस्तूरी, थार, बाघ, ब्वाँसो, हिमाली खैरो भालु, भालु, बाँदर, फ्याउरो, दुम्सी, वनबिरालो, मुनाल, डाँफे, कालिज, ल्याचे, वनकुखुरा आदि पाइन्छन् ।

अजिरकोट क्षेत्रको मार्गबाट हरियाली माडी पोखरी, खर्कका भेडीगोठ र हिमाली दृश्यको सौन्दर्यले जोकोही पनि मुग्ध हुनु स्वाभाविक हो । अजिरकोटबाट मनास्लु, हिमालचुली, बौद्धनाथ, मनास्लु उत्तर, रउला हिमाल, श्रृंगी हिमाल आदि साथै नागबेली आकारमा चेपे र दरौंदी खोला तथा हरियो वनको मनमोहक दृश्य देख्न सकिन्छ । राष्ट्रिय संस्कृतिको स्वरूप लिन यहाँको लोकसांस्कृतिक एकतामा समाहित भएर अजिरकोट क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर परम्परा बचाएको पाइन्छ र आफ्नै मौलिक जातीय पहिचानमा मौलाएको पाइन्छ ।

हिमाली भेगको जातीय पहिचानमा सिर्जिएका गुरुङ समाजका घाटु, सोरठी, मारुनी, स्यार्गा, छ्याँडु, ठाडो–भाका, रोदी, तामाङ समाजमा प्रचलित सेलो, टुङ्ना, ब्राह्मण–क्षेत्री समाजमा चर्चित बालन, भजन–चुड्का, तीज, माहल आदि प्रचलित दोहोरी, झ्याउरे, सरस्वती नाच, पञ्चैबाजा नाच र प्रायः सबै जातजातिमा प्रसिद्ध देउसी–भैलो आदि प्रसिद्ध नाचगानले यस समाजको पृष्ठभूमिमा सिर्जित लोक–संस्कृतिले मुख्य स्थान लिएको पाइन्छ । यस्तै बहु–रीतिरिवाज, चालचलन, रहनसहन, वेशभूषा, बोलीवचन, साइनो–अभिवादन, धर्मकर्म, लोकपरम्परा, कला–कौशल, लोकसाहित्य र तिनको दैनिक उपभोग्य सामानको प्रयोगमा माझिएको ग्रामीण जीवनशैली यहाँका जनताका आफ्नै निजी सम्पत्ति हुन् ।

नेपाल प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवं पर्यटकीय स्थल हुँदाहुँदै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । उत्कृष्ट पर्यटकीय सम्पदा भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदाका कारण अजिरकोटमा आन्तरिक एवं बाह्य पर्यटक आकर्षण गरी भविष्यमा यस क्षेत्रमा पर्यटकको आगमनमा वृद्धि गर्न सकिनेछ ।

ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गरेर स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको माग हो । दुःखको कुरा, यस क्षेत्रबाट बर्सेनि सयौँ परिवार बसाइँ सर्दा बस्ती उजाड भई जमिन बाँझो, वनजङ्गल, झाडी, चरन र खर्कको रूपमा रहेको छ । वन्यजन्तु आफ्नो बासक्षेत्र छोडेर खेती–बाली क्षेत्रमा आई बालीनाली सखाप पारिदिने, घरपालुवा जनावर खाइदिने गर्छन् । वन्यजन्तुको उपद्रोबाट हैरान भएपछि मानिस आफ्नो छातथलो छोडेर बसाइँ सरिरहेका छन् ।

युवा खाडीमा छन् । गाउँमा ज्येष्ठ नागरिक मात्र छन् । सो क्षेत्रमा बाटो, बत्ती र अन्य भौतिक पूर्वाधार क्रमशः विकास नभएको भने होइन, तैपनि गाउँमा मलामी जाने मान्छेसमेत पाउन कठिन छ । समृद्धिको यात्रा कहाँबाट सुरु गर्ने भन्नेमा तीनै तहका सरकार वास्तवमा अलमलमा छन् भन्नुमा अत्युक्ति नहोला ।

अजिरकोट क्षेत्रमा विभिन्न समयमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम हुने गर्छ । वैशाख १९ गते पर्यटन प्रवद्र्धनको हवाला दिँदै अजिरकोट–२, ओलाङमा भीरमौरीको मह निकाल्ने महोत्सव ‘हनि हन्टिङ फेस्टिभल’ सम्पन्न भयो । जेष्ठ अष्टमीमा हुने घाँटु जात्राको अवसरमा जेठ १७ देखि १९ सम्म अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेकमा तीनदिने ‘अजिरकोट सांस्कृतिक एवं पर्यटन प्रवद्र्धन मेला, २०८१’ विभिन्न कार्यक्रमका साथ आयोजना हुँदै छ । वास्तवमा अजिरकोटमा सयौँ यस्ता पर्यटक आकर्षण गर्ने कार्यक्रम राख्न सकिन्छ । जस्तै— जलक्रीडा, काफल–ऐंसेलु–चुत्रो महोत्सव, रैथाने जातका बाली महोत्सव, दुग्धजन्य वस्तुको महोत्सव, पशु महोत्सव, माछा पाहा महोत्सव, जडीबुटी महोत्सव, अल्लो महोत्सव, टुसा, तामा, निहुरो महोत्सव, मठ–मन्दिर धार्मिक महोत्सव, जडीबुटी महोत्सव, घाँटु, बालुन, सोरठी, दोहोरी गीत, झ्याउरे, चुड्का, माहल महोत्सव, हिमश्रृंखला अवलोकन महोत्सव, पदयात्रा महोत्सव, दौड महोत्सव आदि । हामी भने एउटा विद्वान्ले भनेजस्तै सुनको कचौरा लिएर मागिरहेका त छैनौँ ?

समग्रमा एउटा दिगो आयस्रोत सिर्जना गर्न र समग्र नेपालको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ । देशभित्र रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक छ । स्थानीय सरकारले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ समृद्धिको यात्रा कहाँबाट सुरु गर्ने निक्र्योल गरी अगाडि बढ्नु आवश्यक देखिन्छ ।

अतः पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाएर गरिबी न्यूनीकरण गर्दै देशभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । साथै, देशभित्र ट्रेकिङ स्थलको विकास गर्नु आवश्यक छ, जसले स्थानीय स्तरमा रोजगारी सिर्जना भई वैदेशिक मुद्रा आर्जनबाट जीविकोपार्जनमा ठूलो टेवा पुग्ने छ । समुदायमा आधारित प्राकृतिक धरोहरको प्रयोग गरी सामुदायिक विकासका कार्यहरू सञ्चालन गर्न सकिन्छ, जसले देश विकासमा जनसहभागिता जुटाउने कार्य गरी नमुनाको रूपमा विकास गर्न सकिन्छ ।

यातायातको विकाससँगसगै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटनको विकास गर्न सकिन्छ । हाम्रो देशभित्र अजिरकोटजस्ता हजारौँ क्षेत्र मित्रराष्ट्र भारतको दार्जीलिङभन्दा कैयौँ गुणा सुन्दर र धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले भरिपूर्ण छन् । कस्तूरी आफैंसँग अमूल्य बिना हुन्छ, तर त्यो कुरा उसलाई थाहा हुँदैन भनेजस्तै नेपालमा पनि अमूल्य, मनोहर, प्राकृतिक तथा धार्मिक स्थानहरू रहेका छन् । त्यो नेपालीले विश्व बजारमा प्रचारप्रसार गर्न नसकेको अवस्था छ । यस्ता क्षेत्रको पहिचान गरी विश्व बजारमा प्रचारप्रसार गर्न सके पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर छ ।

प्रतिक्रिया दिनुहोस्