हात्तीपाइले निवारणमा ७३ लाख

हात्तीपाइले रोग निवारणका लागि डोटीका ७ गाउँपालिका र २ नगरपालिकामा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयं सेविका परिचालन गर्न ७३ लाख ३ हजार खर्च लाग्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
शनिबार राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि आमऔषधि सेवन अभियान २०७४ भन्ने विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा प्रस्तुत गरिएको हो । जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पठाउनु पर्ने हुँदा उक्त रकम लाग्ने जिल्ला जनस्वास्थ्य कार्यालय डोटीका प्रमुख सतिस विष्टले बताए ।
डोटीमा दुई लाख १३ हजार ५९७ कुल जनसंख्या मध्ये १ लाख ९८ हजार १०६ जनालाई निरन्तर औषधि खुवाइरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । निरन्तर औषधि खुवाइएका बिरामीलाई यसपटक औषधि सेवन गराउन सहजका लागि ३६१ जना स्वास्थ्यकर्मी र एक हजार २३७ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सतिस विष्टले बताए ।
“लक्षण देखिना साथ उपचार गर्नुपर्छ । खुट्टा सुन्निन थालेपछि त्यसको उपचार हुँदैन ।” जिल्ला स्वास्थ्य कार्यालय डोटीका डाक्टर विवस पराजुलीले भने, “उच्चज्वरो आउनु, रुघाखोकी पनि हात्तीपाइलेको लक्षण हो ।” गर्मीयाम सुरु हुँदै गर्दा लामखुट्टेको टोकाइबाट जोगिनु अति आवश्यक रहेको डाक्टरको सल्लाह छ ।
क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सुरु हुने हात्तीपाइले रोग, हात्तीपाइले भइसकेका अन्य रोगीलाई अन्य लामखुट्टले टोकेर सामान्य मानिसलाई पनि टोक्यो भने सर्नसक्ने चिकित्सक बताउँछन् । जिल्लामा हालसम्म जिल्ला स्वास्थ्य कार्यालयमा एकजना उपचार गराउने क्रममा हात्तीपाइलेका बिरामी देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कम्प्युटर अपरेटर दीपक बोहराले बताए । उनले भने, “जिल्लाका बजार भएका ठाउँमा यो रोग देखा पर्नसक्छ, किनकि बजारकै आसपास बढी लामखुट्टे हुने हुँदा हात्तीपाइले रोग देखिन सक्ने उनले बताए ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हात्तीपाइले रोग ७० भन्दा बढी मुलुकमा देखिएको छ । ७० मुलुकका १ अर्बभन्दा बढी मानिस यो रोगको जोखिममा छन् भने १२ करोड मानिस हात्तीपाइलेबाट संक्रमित भएका छन् ।
–भूमिराज जोशी