Logo

गाईघाटमा मेडिकल कलेज स्थापना गर्न प्रधानमन्त्री सकारात्मक

उदयपुर– प्रधानमन्त्री पुष्पकमल दाहालले उदयपुरको गाईघाटमा मेडिकल कलेज स्थापना गर्ने बताएका छन् । सरकारले हालै ल्याएको नीति तथा कायक्रममा उदयपुरमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख गरेकाले आगामी बजेटमा यसलाई समेटेर लैजाने बताएका हुन् ।

मेडिकल कलेज स्थापनाको मागसहित काठमाडौं पुगेको त्रियुगा नगरपालिकाको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले सदरमुकाम गाईघाट नै मेडिकल कलेजका लागि उपयुक्त हुने बताएका छन् । ‘उदयपुरमा मेडिकल कलेज स्थापना गर्ने कुरा नीति तथा कार्यक्रममा परिसकेको छ’ प्रधानमन्त्री दाहालले भने, ‘त्रियुगा नगरपालिकाले प्रस्ताव गरेको स्थानमा मेडिकल कलेज स्थापना गर्ने प्रक्रिया बजेटमार्फत अगाडि बढ्छ ।’

प्रधानमन्त्री दाहालले नेपाल सरकारको घोषित नीति अनुसार उदयपुरमा मेडिकल कलेज स्थापना गर्न कुनै समस्या नरहेको बताए । भेटमा त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्तकुमार बस्नेतले गाईघाटमा मेडिकल कलेज स्थापनाका लागि त्रियुगा नगरपालिका–४ स्थित फछौट क्षेत्रमा ६३ विघा जग्गाको व्यस्थापन गरी मेडिकल कलेजका नाममा ल्याउने प्रक्रिया सुरु गरिसकिएको प्रधामन्त्रीलाई जानकारी गराएका थिए ।

‘हामीले सदरमुकाम गाईघाट नजिकै रहेको त्रियुगा नगरपालिका–४ स्थित सबै कुराले उपयुक्त स्थानमा ६३ बिघा जमिन दर्ता प्रक्रिया सुरु गरिसकेका छौं’ नगरप्रमुख बस्नेतले भने, ‘यो स्थान सबैलाई पायक पर्ने, भौगोलिक दृष्टिले उपयुक्त र महत्वपूर्ण छ ।’

प्रतिक्रिया दिनुहोस्