Logo

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा

काठमाडौं– पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रूपमा भण्डारण गर्ने सेवा सुरु भएको छ । पर्साका विरुवागुठीमा नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले यो सेवा सुरु गरेको हो ।

कम्पनी अध्यक्ष आनन्द बगरियाले पर्सासहित सुनसरीको गढी र कपिलवस्तुको वीरपुरमा कम्पनीले अन्न भण्डारण गृह निर्माण गरिसकेको जानकारी दिए । यी तीन भण्डारण गृहको कुल क्षमता ५५ हजार मेट्रिक टन रहेको उनले बताए । ‘सबैभन्दा बढी क्षमताको वेयरहाउस पर्सामा निर्माण गरी सञ्चालनमा ल्याएका छौं’ अध्यक्ष बगरियाले भने, ‘पर्साको २५ हजार मेट्रिक टन तथा सुनसरी र कपिलवस्तुको १५÷१५ हजार मेट्रिक टन क्षमताका छन् ।’

कम्पनीका महाप्रबन्धक समीरराज सत्यालका अनुसार यी भण्डारण गृहमा गहुँ, मकै र भटमासलगायत सबै किसिमका अन्न भण्डारण गर्न सकिन्छ । यी भण्डारण गृहको सेवा खाद्य उद्योग, व्यापारी, कृषक सबैले लिन सक्ने उनले बताए । वेयरहाउसमा भण्डारण गरिएको अन्न धितो राखेर कर्जा पनि लिन सकिन्छ । यो सुविधाले किसानलाई व्यापारीको मूल्यमा आफ्नो उत्पादन बेच्नुपर्ने बाध्यताबाट मुक्ति दिने अपेक्षा कम्पनीले गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्