भारतले भन्योः नक्साले सीमा परिमार्जन गरेको छैन «

भारतले भन्योः नक्साले सीमा परिमार्जन गरेको छैन

भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि परेको भन्दै नेपालभित्र तीव्र विरोध भइरहेका बेला भारत सरकारको औपचारिक प्रतिक्रिया आएको छ । भारतले दुई देशबीचको सीमानामा कुनै परिमार्जन नगरिएको दाबी गरेको छ । भारतको विदेश मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नभएको दाबी गरेको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको दाबी गरे । “नयाँ नक्साले कुनै पनि हिसाबले भारत–नेपालको सीमा परिमार्जन गरेको संकेत गरेको छैन,” उनले भने, “हाम्रो नक्साले भारतको सार्वभौम भूमिमात्र देखाउँछ ।” उनले नेपाल र भारतबीच उच्चस्तरीय संयुक्त आयोगका बैठकहरूबाट दुई देशबीचका सीमा समस्या समाधान हुन बाँकी रहेकोसमेत बताए । उनले भारत र नेपाल दुवै पक्षबीच फाटो पैदा गराउने कसैको निहित स्वार्थबारे चनाखो रहनुपर्नेसमेत बताए ।
भारतले आइतबार जारी गरेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेको भन्दै राजनीतिक दल, नागरिक समाजदेखि सर्वसाधारणसम्मले विरोध गरिरहेका छन् ।

भारतीय राजदूतलाई देउवाको फोन
यता, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली भूमिमाथि हुने अतिक्रमण अस्वीकार्य भएको स्पष्ट पारेको छ । कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको भन्दै भारतले जारी गरेको नक्साप्रति कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार नेपालस्थित भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई फोन गरेर नक्साप्रति आफ्नो पार्टीको ध्यानाकषर्ण भएको जनाएका छन् । देउवाले राजदूत पुरीलाई कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको स्मरण समेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्