सिस्नु बेचेर आम्दानी गर्दै उदयपुरका स्थानीय

उदयपुर– जिल्लाकै दुर्गम क्षेत्र मानिने बेलका नगरपालिकाको मैनामैनी माझगाउँकी भक्तकुमारी सार्कीको दैनिकी परिवर्तन भएको छ । दुई वर्ष अघिसम्म दुई रुपैयाँ कमाई नहुँदा गाउँ डुलेर दिन बिताउने सार्की अहिले व्यापारी भएकी छन् । अहिले एक दिनमै एक हजार रुपैयाँसम्म कमाउने भएपछि उनको दैनिकी बदलिएको हो ।
मैनामैनीकी सार्कीमात्रै होइन, एक वर्ष अघिसम्म वर्षभरिमा ५/६ पटकमात्रै सदरमुकाम गाईघाट बजार आउने रौतामाई गाउँपालिकाको पोखरीका सन्तबहादुर राई हिँजोआज सातामा ३/४ दिन गाईघाट बजार आइपुग्छन् । सार्की र राईको पछिल्लो दैनिकी परिवर्तन हुनुको मुख्य कारण जिल्लाको पहाडी क्षेत्रमा खेर गइरहेको सिस्नु संकलन गरेर बिक्री गर्नु हो । पहिले दुई/चार रुपैयाँको खाँचो पर्ने उनीहरू अहिले सिस्नु बेचेरै हजार कमाउने भएका छन् ।
‘करिब पाँच वर्ष भयो, मैनामैनी र कटुन्जेबबलाको विभिन्न क्षेत्रमा संकलन गरेर रामपुर बजार सिस्नु बिक्री गर्दै आएकी छु,’ भक्तकुमारीले भनिन्, ‘पाँच वर्ष पहिले गाउँ घरमा ज्याला मजदुरी गरेर दिनमा दुई सय रुपैयाँ कमाइ हुन्थ्यो, ज्याला मजदुरी नपाएको दिन गाउँ डुलेर बित्थ्यो ।’ तर अहिले सातामा कम्तीमा दुई हजार रुपैयाँ कमाइ हुने उनले बताइन् ।
सार्कीले रामपुर बजारमा प्रतिकिलोग्राम सय रुपैयाँका दरले सिस्नु बिक्री गर्ने गरेकी छिन् । एक पटक आठ देखि १० किलोग्रामसम्म बिक्री गरेर महिनामा करिब आठ हजार रुपैयाँसम्म कमाइ हुने उनले बताइन् । बजारमा माग बढेकाले गाउँ घरको भीरपाखामा खेर गइरहेको सिस्नु अहिले आम्दानीको स्रोत बन्दै गएको उनको भनाइ छ ।
सार्कीजस्तै राईले पनि सिस्नु बिक्री गरेर साताको दुई हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताए । ‘सिस्नु टिप्न अलि समस्या हुन्छ, तर बिक्री गर्न समस्या छैन,’ राईले भने, ‘गाईघाट बजारमा पुर्याएपछि तुरुन्तै बिक्री हुन्छ ।’ सित्तैमा ल्याएर नगदमा बिक्री गरिने भएकाले सबै नाफा हुने उनले बताए । रौतामा स्थानीयले सिस्नुको धुलो बनाएर बिक्री गर्ने गरेपछि आफूले पनि सिस्नुको बारेमा जानकारी पाएको राईले बताए ।
सिस्नुको महत्व जानकारी पाएपछि संकलन गरेर बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘अब खेतबारीको डिल र जंगलबाट संकलन गरेर होइन खेती नै गर्ने सोच बनाएको छु,’ राईले भने, ‘अहिले पनि एक रोपनी क्षेत्रफलमा खेती सुरु गरेको छु ।’ सिस्नु बिक्रीबाटै वार्षिक करिब एक लाख बढी कमाइ हुन थालेपछि खेती गर्ने सोचमा रहेको उनले बताए ।
मधुमेह र उच्च रक्तचापको रोगीको संख्या बढ्दै जाँदा सिस्नुको व्यापार पनि बढेको छ । सिस्नुको दैनिक सेवनबाट मधुमेह र उच्च रक्तचापका बिरामीलाई राम्रो हुने चिकित्सकले सल्लाह दिएपछि बजारमा सिस्नुको माग बढेको हो । गाउँघरमा संगुरको चारो र गाईभैसीको खोलेको रूपमा प्रयोग हुने सिस्नु हिजोआज सहरियाको भान्साको परिकारसमेत बन्न थालेको छ । उच्च रक्तचाप, सुगरलगायतका रोगीका लागि समेत उपयोगी हुने थाहा पाएपछि सिस्नुको व्यापार सहरका डिपार्टमेन्टल स्टोरबाटै हुन थालेको व्यापारी बताउँछन् ।
‘सिस्नु मधुमेहका रोगीका लागि पनि उपयोगी हुने थाहा पाएर मधुमेहका रोगीहरूले पाएसम्म नियमित खाने गर्छन्,’ स्थानीय युवराज बस्नेतले भने, ‘केही समय अघिसम्म गाउँघरमा सिस्नु खाने मान्छेलाई हेप्ने चलन थियो तर हिजोआज यो सहरियाकै भान्सामा पाक्न थालेको छ ।’
उदयपुरको साउने, खाँबु, रौता, पोखरी, बाँस्बोटे, चिलाउने, मैनामैनी बबला, मयंखुलगायतका पहाडि गाउँमा सिस्नुलाई खेतबारीमै उत्पादन गर्न थालिएको छ । जिल्लाकै पहिचानको रूपमा अगाडि बढाउने र ग्रामीण महिलाको रोजगारीको माध्यम बनाउने उद्देश्यले संरक्षण, उत्पादन र बिक्रीको काम थालिएको संलग्न महिला उद्यमी बताउँछन् ।