Logo

तिनाउ नदी उत्खनन् विरोध

फाइल तस्बिर ।

भैरहवा– जथाभावी रूपमा रुपन्देहीको तिनाउ नदी उत्खनन् गर्दा विद्युत प्रसारण लाइनलाई असर पुग्ने गरेको, नदीमा ठूला ठूला खाल्डा पर्न गई दुर्घटना बढेको र नदीको बहाब नै परिवर्तन हुन थालेपछि स्थानीयले विरोध गर्दै उत्खनन्मा अवरोध गरेका छन् ।

स्थानीयले अवरोध गरेपछि शनिबार बिहानै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चपाईं, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, रुपन्देही प्रहरी प्रमुख रन्जित सिंह राठौर, सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हेडक्वार्टर रुपन्देहीका प्रमुख, आनन्द थापा रुपन्देही सीमा सशस्त्र प्रहरी प्रमुख उदय थापा सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखा इन्जिनियर सूर्य पाण्डेसहितकोे टोलीले सियारी–७ को भर्तापुर नाकाको अनुगमन तथा निरीक्षण गरेको छ ।

अनुगमन पछि तिनाउ नदी किनारमा रहेका विद्युत प्रसारण लाइनलाई संरक्षण गर्ने गरी नदीजन्य सामग्री उत्खनन् गर्ने निर्णय भएको छ । निर्णय गर्दैगर्दा तिनाउमा एक १६ वर्षीय युवाको उत्खनन् गर्दा खनिएको १० फिट गहिरो खाडलमा शनिबार बिहान बजे डुबेर निधन भएको छ । तिनाउ खोलाबाट नदीजन्य सामग्री उत्खनन् गर्दा विद्युत प्रसारण लाइनलाई असर नपर्ने गरी सामग्री निकाल्नु पर्ने तथा विद्युतको टावरमा क्षति पुग्ने सम्भावित जोखिमलाई मध्यनजर गरी उत्तरतर्फ केन्द्रित नदीको हालको बहावलाई पश्चिमतर्फ डाईभर्ट गर्ने निर्णय गरिएको छ ।

सियारी गाउँपालिकाले ठेक्का लगाई नदीजन्य पदार्थ उत्खनन् भइरहेको स्थानमा सिर्जित स्थानियवासीको विरोध र उक्त स्थानमा रहेको विद्युत प्रसारण लाइनको ल्याटिक टावरको सुरक्षालगायतका विषयमा छलफल गरी नदीजन्य सामग्री निकाल्दा नदीको नेचुरल फ्लो क्यानलिङ हुनेगरी व्यवस्थित तरिकाले निकाल्ने, विद्युतको टावर अगाडिको स्थानमा ग्याभियन पर्खाल लगाई टावरको सुरक्षा गर्ने निर्णय गरिएको छ ।

तिलोत्तमा नगरपालिका–१४ सँग सिमाना जोडिएको उक्त घाटमा रहेको विद्युत प्रसारणलाइन जोखिममा परेपछि त्यसको सुरक्षाका लागि विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखा, सियारी गाउँपालिका र तिलोत्तमा नगरपालिका समेतको त्रिपक्षीय लगानीका लागि छलफल गरी तत्काल संरक्षणात्मक प्रबन्ध गर्ने निर्णयसमेत गरेको छ ।

तिनाउ नदीको तिलोत्तमा तर्फको किनार हुँदै बुटवलदेखि मैनहियासम्म १३२ केभी विद्युत प्रसारणलाइन लगिएको छ । उक्त विद्युत प्रसारण लाइनको शंरक्षण तथा ठेक्का लगाइएको नदीजन्य सामग्रीको उत्खनन्मा असर नपर्ने गरी काम गर्ने विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्