काँकडभिट्टा नाकाबाट तेस्रो देशका नागरिक अझै आउन पाएनन्

बिर्तामोड- विगत चार वर्षदेखि नेपालको पूर्वी नाका काँकडभिट्टाबाट स्थलमार्गबाट आएका तेस्रो देशका नागरिक नेपाल प्रवेश गर्न पाएका छैनन् ।
कोरोना महामारी सुरु भएसँगै तेस्रो देशका नागरिकलाई काँकडभिट्टाबाट स्थलमार्ग भएर आवतजावतमा भारतले रोक लगाएको र अहिले सहज परिस्थिति बन्दा भारतसँगका अन्य नाकाबाट आवागमन सामान्य भए पनि काँकडभिट्टा नाकाबाट भुटान र भारतबाहेकका तेस्रो देशका नागरिकलाई आवागमनमा रोक लगाउँदै आएको हो ।
भारत सरकारले भूटान र भारतबाहेकका तेस्रो देशका नागरिकलाई नेपालको पूर्वी नाका काँकडभिट्टाबाट स्थलमार्ग भएर आवागमनमा रोक लगाउने निर्णय नगरे पनि अघोषित रुपमा रोक लगाएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले बताए । तेस्रो देशका नागरिक काँकडभिट्टाबाट नेपाल प्रवेश रोकिनुको औपचारिक कारण भने अझै भारतले नदिएको उनले बताए ।
भारतले अहिले नेपाल प्रवेश गर्ने भुटानी नागरिक र भारत आउन भिसा आवश्यक नपर्ने तेस्रो देशका नागरिक (एनआरआई)लाई मात्र नेपालतर्फ पठाइरहेको उनले जानकारी दिए । पूर्वी नाका प्रयोग गरी तेस्रो मुलुक जान नेपाली नागरिकलाई नेपाल सरकारले नै रोक लगाएको बताउँदै उनले बंगलादेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई भने जान दिइएको स्पष्ट पारे ।
काँकडभिट्टाबाट तेस्रो देशका नागरिक नेपाल प्रवेश गर्न भारतले गरेको अवरोध खुला गर्नका लागि विगत दुई वर्षदेखि पहल गरिरहेको अध्यागमन प्रमुख भट्टराईको भनाइ छ । झापाका प्रमुख जिल्ला अधिकारीले भारततर्फको काउन्टरपार्टसँगको छलफलमा पनि कुरा गरेपनि औपचारिक जानकारी नआएको बताउँदै उनले आफूहरुले मन्त्रालय, विभागमा पनि जानकारी गराइरहेको जनाए ।
विगतमा काँकडभिट्टाबाट वार्षिक नौ हजारभन्दा बढी तेस्रो देशका नागरिक नेपाल भित्रने गरेपनि अहिले भुटान र भारतमा भिसा नलाग्ने नागरिक गरी वार्षिक तीन हजारको हाराहारीमा मात्र नेपाल प्रवेश गर्ने गरेको अध्यागमन प्रमुख भट्टराईले जानकारी दिए ।
काँकडभिट्टाबाट सबैभन्दा धेरै बंगलादेशी नागरिक र भुटानी नागरिक आवतजावत गर्ने गरेको बताउँदै उनले भारत घुम्न आएका अन्य देशका नागरिक नेपालतर्फ आउने र नेपाल आएका अन्य देशका नागरिक भारततर्फ जाने गरेको भएपनि अहिले उनीहरु नआउँदा यहाँको अर्थतन्त्र नै प्रभावित भएको जनाए । अध्यागमन कार्यालयका सूचना अधिकारी इन्द्रकुमार राजवंशीले भारतको केन्द्रीय सरकार र पश्चिम बंगाल सरकारबीच तालमेल नमिल्दा तेस्रो देशका नागरिकलाई काँकडभिट्टा नाकाबाट आगमनमा रोक लगाइएको बताए ।
काँकडभिट्टासँगै जोडिएको सीमावर्ती पानीट्यांकी अध्यागमनलाई आवागमन प्रक्रिया सहज गरिदिन पटक पटक अनुरोध गर्दा केन्द्र सरकारको निर्देशन भएकाले अहिले भुटानबाहेकका नागरिकलाई आवागमन खुला गर्न सकिँदैन भन्ने जवाफ आउने गरेको उनले बताए ।
कोरानाको महामारी समाप्त भएको लामो समय बितिसक्दा पनि भारतले अघोषित रुपमा तेस्रो देशका नागरिकलाई काँकडभिट्टा नाकाबाट आगमनमा रोक लगाउँदा देशको अर्थतन्त्रमै असर पु¥याएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए ।
तेस्रो देशका नागरिकलाई काँकडभिट्टाबाट आगमनमा रोक लगाउँदा यस क्षेत्रको पर्यटन, होटल व्यवसायमा प्रत्यक्ष असर परेको बताउँदै उनले सरकारले कूटनीतिक तहमा संवाद गरी तेस्रो देशका नागरिकलाई काँकडभिट्टाबाट निर्वाध आवागमनको व्यवस्था गर्नुपर्ने जनाए ।
बंगलादेश, म्यान्मा, फिलिपिन्स, बेलायत, अमेरिका, नेदरल्याण्ड, सिंगापुरलगायत देशबाट भारतका विभिन्न ठाउँ घुम्न आएका नागरिक काँकडभिट्टाबाट प्रवेश गरी नेपालसमेत भ्रमण गर्न आउँदा यहाँको होटल व्यवसायस राम्रो चलेको भएपनि अहिले सबै ठप्प रहेको उनले बताए ।
तेस्रो देशका नागरिक आउन पाउने हो भने यहाँको पर्यटन, होटेल व्यवसाय फस्टाउने बताउँदै उनले दार्जिलिङ र सिक्कम आएका तेस्रो देशका नागरिक नेपाल आउने र नेपाल आएका तेस्रो देशका नागरिक पनि त्यता जाने भएपनि अहिले तेस्रो देशका नागरिकको आवतजावत बन्द हुँदा पर्यटन, होटेल व्यवसायमा ठूलो प्रभाव परेको जनाए ।
पूर्वी नाका नखुल्दा तेस्रो देशका नागरिक वीरगन्ज र रक्सौलबाट हिँड्न थालेको बताउँदै उनले नेपालसँग सीमाना जोडिएका अन्य नाकामा सहज आवागमन हुँदा काकँडभिट्टामा मात्रै राकिएको विषयमा माथिल्लो तहमा वार्ता गरी निष्कर्ष निकाल्नुको विकल्प नभएको जनाए ।
भारतले अघोषित रुपमा तेस्रो देशका नागरिकलाई काँकडभिट्टा नाकाबाट आवागमनमा रोक लगाउँदा यसको असर पर्यटन र होटेल व्यवसायमा देखिएको ट्राभल्स संघ झापाका अध्यक्ष नेत्र कार्कीले बताए । तेस्रो देशका नागरिक नआउँदा काँकडभिट्टाका होटेल बन्द भएको बताउँदै उनले पूर्वी नाका तत्काल खुलाउन सरकारको ध्यानकर्षण गराए ।