विपक्षी दलका विरोधका बीच संसद चल्यो

काठमाडौं– सभामुख देवराज घिमिरेले नेपाली कांग्रेससहितका विपक्षी दलको अवरोधका बीच आइतबार प्रतिनिधि सभा संसद सञ्चालनमा ल्याएका छन् । सभामुख घिमिरेले विपक्षीदलले संसदभित्र नाराबाजी गरिरहेकै बेला अर्थमन्त्री वर्षमान पुनलाई यो वर्षको आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक प्रतिवेदन पेस गर्न समय दिएका थिए ।

अर्थमन्त्री पुन रोष्टमतर्फ अगाडि बढदा विपक्षी दलका सांसदहरुले उनलाई अवरोध गर्न खोजेका थिए । मर्यादापालकको सहयोगमा अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक प्रतिवेदन टेवुल गरेका थिए । अहिले यो वर्षको नीति तथा कार्यक्रम बीच छलफल चलिरहेको छ । विपक्षी दलका सांसदहरुले लगातार रुपमा विरोध गरिरहेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १ मा नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका थिए । विपक्षी दलहरुले संसद अवरुद्ध गरिरहेका कारण नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको थिएन । संवैधानिक व्यवस्था अनुसार यही जेठ १५ मा आगामी वर्षको बजेट सार्वजनिक गर्नुपर्छ । बजेट अघि नीति तथा कार्यक्रममाथि गहन रुपमा छलफल हुनु पर्नेमा त्यसो हुन सकेको छैन ।

सहकारी घोटलामा गृहमन्त्री रवि लामिछानेको सहित संलग्नता रहेको आशंका गर्दै विपक्षी दलहरुले संसदीय छानविन समिति गठन गर्न माग गर्दै संसदमा विरोध जनाइरहेका छन् । समिति गठनबारे विभिन्न चरणमा दलहरुबीच छलफल चले पनि अहिलेसम्म सहमति हुन सकेको छैन ।
