Logo

सिद्धबाबा सुरुङमार्गमा आजदेखि बम विष्फोट गराइने

बुटवल– सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डअन्तर्गत निर्माणाधीन सुरुङ मार्गमा बम विष्फोट गराइने भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा सुरुङमार्ग निर्माणको काम भइरहेको छ । निर्माणको क्रममा हाल स्काभेटर तथा ब्रेकरको प्रयोग गरी खन्ने काम भएको छ ।

सुरुङमार्ग निर्माणको गतिलाई तीव्रता दिन आइतबारदेखि विष्फोटक पदार्थको प्रयोग गर्न लागिएको सुरुङमार्गको आयोजना हेर्ने इन्जिनियर सविता ज्ञवालीले बताइन् । ‘सुरुङभित्रको कडा चट्टान फुटाउनका लागि विष्फोट गराउन लागिएको हो,’ उनले भनिन्, ‘विष्फोटक पदार्थ नेपाली सेनाकोमा राखेका छौं । सेनाकै स्कर्टिङमा यहाँ लिएर आइन्छ । नेपाल प्रहरी र ट्राफिक प्रहरी र आर्मीको उपस्थितिमा विष्फोट गराइन्छ ।’

विष्फोटक पदार्थ प्रयोग गर्न आवश्यक सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापन लगायतका लागि शुक्रबार पूर्वाभ्यासको काम भएको थियो । नेपाली सेना, नेपाल प्रहरी तथा निर्माण कम्पनीका प्राविधिकको उपस्थितिमा शुक्रबार आवश्यक तयारी तथा अभ्यासबारे छलफल भएको थियो । आइतबारदेखि दिनको तीन पटक जति विष्फोटको काम हुने इन्जिनियर ज्ञवालीले जानकारी दिइन् ।

‘कम्तीमा तीन पटक विष्फोट गर्न सकिन्छ होला । त्यसभन्दा बढी कति पटक भ्याइन्छ । एकपटक ब्लास्ट गरेर त्यहाँ निकालेर फेरि ब्लास्ट गर्नुपर्छ,’ उनले भनिन्, ‘नरम खालको चट्टान आयो भने मेसिनले नै हुने भयो । कडा खालको चट्टान आयो भने विष्फोटको कार्य निरन्तर नै जान्छ ।’ विस्फोटको बेला आसपासमा सवारी साधन र मानवीय गतिविधिलाई रोकिने छ । सवारी साधनको व्यवस्थापनका लागि ट्राफिक प्रहरीको परिचालन गरिनेछ ।

पूर्वाभ्यासमा कायम गर्नुपर्ने दूरी, विष्फोटका समयमा बज्ने साइरन, सम्भावित जोखिमलगायतका बारेमा समेत जानकारी गराइएको थियो । एक पटक विष्फोट गराएपछि आधा घण्टा जति सवारी आवागमन बन्द गरिने इन्जिनियर ज्ञवालीले जानकारी दिइन् । विष्फोटका लागि तयार भइसकेपछि राजमार्गमा सवारीसाधन रोकिने छ । त्यसपछि विष्फोट गरेर चेक जाँच गरिन्छ । त्यसपछि सवारीसाधन सुचारु हुनेछ ।

सिद्धबाबामा सुरुङमार्ग निर्माणको पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङसँग २०७८ फागुनमा सम्झौता भएको थियो । माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म ११ सय २६ मिटर लम्बाइको सुरुङमार्ग निर्माण थालिएको छ । जसमध्ये हालसम्म मुख्य सुरुङमार्ग ८५ दशमलव ७ मिटर खनिएको छ । दक्षिण पोर्टलबाट ४८ दशमलव ३ मिटर सुरुङ खनिएको छ ।

उत्तर पोर्टलतर्फ स्लोप काटेर ढलान भई ३७ दशमलव ४ मिटर खनिएको छ । दक्षिण र उत्तरतर्फका दुवै पोर्टल, निकासका लागि राखिएका तीनवटा सुरुङ, स्लोप कटिङ, स्लोप प्रोटेक्सनलगायत काम एकसाथ भइरहेको छ । १५ दशमलव ६ मिटरको पहिलो बाइपास टनेल, ७ मिटरको दोस्रो बाइपास टनेल र ४ मिटरको तेस्रो बाइपास टनेल खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ ।

आकस्मिक अवस्थाका लागि सुरुङ बाहिरी सडकमा जोड्ने गरी हरेक तीन सय मिटरको दूरीमा तीनवटा सहायक सुरुङमार्ग बनाइएको छ । आयोजनाअन्तर्गत जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सनलगायत प्रविधिमार्फत साढे दुई किलोमिटर सडक सुरक्षित बनाइने छ ।

प्रतिक्रिया दिनुहोस्