समृद्धिका लागि समतामूलक समाज

समतामूलक नागरिक समाजको निर्माणले विद्यमान विसंगतिपूर्ण व्यवहारमा सामञ्जस्यता कायम राख्न सहज वातावरणको विकास हुने तथ्यगत विशेषतालाई अन्यथा लिन मिल्दैन । जसलाई नागरिक समृद्धिको आरम्भ बिन्दुको प्रस्थान बिन्दुसमेत मान्न सकिन्छ । जसमा सीमान्तकृत समूहलगायतका अन्य कुनै पनि समुदायलाई विशेषतः जातजाति, भाषा, धर्म, संस्कृति, वर्ण, लिङ्ग, एवं सम्प्रदायको आधारमा राज्यका तर्फबाट विभेदजन्य अनुभूति हुनेछैन भन्ने तथ्यको प्रत्याभूति प्राप्त हुनेछ ।
जुन निष्पक्षताको अवधारणागत विकासको विकसित रूपसमेत हो । फलतः समाजकेन्द्रित सम्पत्ति, स्रोत एवं न्यायिक कर निर्धारणको क्षेत्रमा न्यायसंगत निष्पक्षताको अनुभूतिको सुखानुभूति प्राप्त हुने अवस्था तयार हुने देखिन्छ । परिणामतः आमनागरिक समाजको बीचमा हाल कायम रहँदै आएको आय–अवसरको असमानतालाई समानताका आधारमा यथोचित रूपमा बाँडफाँड गर्न सहज रहने परिपाटी नै समतामूलक समाज निर्माणको तथ्यगत आधारभूमिको दिग्दर्शनसमेत हो भन्दा फरक नपर्ला ।
तत् सन्दर्भमा नेपालले पनि प्रस्तुत अवधारणागत विशेषतालाई आत्मसात् गर्दै मुलुकको गणतान्त्रिक संविधान, २०७२ को धारा ४२ अनुसार सामाजिक न्यायको हकअन्तर्गत सबै प्रकारका विभेदजन्य अवस्थाको अन्त्य गर्नुका साथै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तमा आधारित प्रत्येक नागरिक समूहलाई हरेक क्षेत्रमा अवसरको सुनिश्चितता प्रदान गरेबाट हाम्रो गणतान्त्रिक संविधान एवं राज्यव्यवस्था कतिसम्म उदारवादी छ भन्ने तथ्य प्रस्ट हुन्छ । जसको मूल लक्ष्य नै मुलुकबाट गरिबी निवारण गर्दै आर्थिक समृद्धिको मूल मन्त्रलाई समुन्नत नागरिक समाजको विश्वसनीय धरोहरका रूपमा रूपान्तरण गर्नु हो ।
यद्यपि आर्थिक समानता कायम राख्नु निकै नै जटिल एवं चुनौतीले भरिपूर्ण कार्य हो । जसका लागि लोकतान्त्रिक आर्थिक अभ्यासका माध्यमबाट विशेषतः नेपालजस्तो गाउँ नै गाउँले भरिएको अल्पविकसित मुलुकका नागरिक समुदायको जीवन वृत्तिका लागि आवश्यक पर्ने दिगो आर्थिक विकास एवं सामाजिक समुन्नतिका लागि अपवादबाहेक सहरकेन्द्रित समूहको तुलनामा ग्रामीण उद्यमशीलता अभिवृद्धिमा जोड दिनुपर्ने हुन्छ । जसको सकारात्मक परिणामस्वरूप समाजकेन्द्रित असमान वितरणको घाउलाई समानताको मल्हमले राहत व्यवस्थापन गर्दै समतामूलक समाज निर्माण गर्नु चुनौतीबीचको अनिवार्य आवश्यकता हो भन्दा फरक नपर्ला । जसका लागि सामाजिक उत्तरदायित्वमा आधारित उद्यमशीलताका अतिरिक्त जातीय समानता, निर्वाहमुखी रोजगार विकास एवं लगानीका अवसरहरू श्रीवृद्धि गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राख्दै व्यवहारमा उत्तार्ने हो भने सकारात्मक नतिजाको अपेक्षा अवश्य पनि गर्न सकिनेछ ।
प्रस्तुत कार्यको विकासका लागि राजनीतिक स्थिरता तथा विचारको नेतृत्वलाई आत्मसात् गर्न सक्नुपर्छ । तदुपरान्त लगानी प्रवद्र्धनको उचित वातावरणको विकाससँगसँगै नवप्रवद्र्धनको गतिशीलतालाई मुलुकको क्षेत्रगत विकास अवधारणामा समाहित गर्न सक्नु तत् सन्दर्भमा सकारात्मक पहलकदमीको उच्चत्तम नमुना विशेष कार्य हो । जसको पूर्ण कार्यान्वयन तथा उपलब्धिमूलक नतिजा हासिल गर्न शैक्षिक जनशक्ति विकास तथा सामाजिक आधारशिलाको गन्तव्यलाई एकआपसमा समायोजन गर्दै लोकतान्त्रिक अवधारणाअनुरूपको गुणस्तरीय शैक्षिक विकासमा जोड दिनु समय सान्दर्भिक रहनेछ । सुरुवाती अवस्थामा सम्बद्ध क्षेत्रमा गरेको लगानीबाट सीमान्तकृत समुदायका अतिरिक्त प्राथमिक शिक्षा विकासको क्षेत्रमा उल्लेखनीय सुधार हुने तथ्यगत विशेषतालाई अन्यथा लिन मिल्दैन ।
जसले नागरिक समूहलाई शिक्षाको उज्यालो घामबाट विमुख नगराई सुशिक्षित हुने अवसरको अभिवृद्धि गर्दै दीर्घकालीन अवस्थामा प्राविधिक तथा अन्य सीप विकासको माध्यमबाट गरिबी निवारणको क्षेत्रमा सहयोग पुयाउने देखिन्छ । शैक्षिक क्षेत्रमा राज्यका तर्फबाट आज खर्चिएको बृहत्तर आकारको धनराशिले भविष्यका राष्ट्र निर्माणका निर्णायक शक्ति उत्पादन हुने हँुदा आवश्यक जनशक्ति विकासका माध्यमद्वारा नागरिक समृद्धिउन्मुख समतामूलक समाज निर्माण गर्ने कार्यमा अवश्य पनि सघाउ पुग्ने नै भन्ने विश्वास लिन सकिनेछ ।
कायमी गरिबी, शैक्षिक विकास एवं नागरिक स्वास्थ्यका बीचमा तादात्म्यता कायम राख्न सकिएको खण्डमा मात्र निर्विकल्प समतामूलक समाजको निर्माण हुने समाजशास्त्रीय शैद्धान्तिक धरातललाई अन्यथा लिन मिल्दैन । विपरीत अवस्था रहने हो भने सामाजिक न्याय किमार्थ प्राप्त हुन नसक्ने निश्चित छ । जसका लागि सम्बद्ध क्षेत्रमा रहँदै आएको प्रणालीगत विविधताका अवधारणालाई सम्बोधन गर्दै कार्यान्वयनको पक्षमा विशेष जोड दिनुपर्ने हुन्छ ।
परिणामतः आफ्नो योग्यता, क्षमता तथा दक्षताअनुरूपको व्यवहारलाई प्रस्फुटन गर्ने क्रममा सम्प्रभु नागरिक समुदायले पूर्ण क्षमताको प्रदर्शन गर्दै अर्थपूर्ण प्रगतिको अब्बलता हासिल गर्नेछ भन्दा त्यति अत्युक्ति नहोला । तदुपरान्त अन्य कुनै पनि शक्ति समतामूलक नागरिक समृद्धिको क्षेत्रमा बाधक बन्न सक्दैन भन्ने तथ्यलाई उदाहरणका रूपमा प्रस्तुत गर्ने हो भने तदनुरूपको समाज निर्माणको क्षेत्रमा अभूतपूर्व सफलता अवश्य पनि प्राप्त हुने नै छ ।
अवसरको समानतालाई समाजकेन्द्रित अवधारणाअनुसार विकास गर्न राज्य समर्थित नियन्त्रित अर्थव्यवस्थालाई आत्मसात् गर्नुपर्ने हुन्छ । नियन्त्रित अर्थतन्त्र नै सम्बद्ध समाज निर्माणको आधारस्तम्भसमेत भएको हुँदा प्रशासनिक यन्त्रमा जवाफदेही संस्थागत प्रणालीको विकास हुन जाने देखिन्छ । जसले समतामूलक न्यायिक प्रणालीको स्थापना गर्न सहयोग पुग्नुका साथै भ्रष्टगत अभ्यासका दरलाई सदाका लागि अन्त्य गर्नेतर्फ अग्रसर गराउने प्रणालीगत अवधारणाको विकासले आय–असमानताको दरमा कमी ल्याउँदै आर्थिक समृद्धिउन्मुख समतामूलक समाजको निर्माणमा थप मद्दत पुर्याउनेछ ।
जसबाट आर्थिक वृत्ति–विकासको प्रतिफल प्राप्तिका लागि कुनै पनि नागरिक समाजलाई विमुख रहनुपर्ने अवस्था सधैंका लागि अन्त्य हुनेछ भन्ने विश्वास लिन सकिनेछ । नागरिक समृद्धिसम्मत सम्बद्ध समाजको निर्माणले आर्थिक क्षेत्रमा रहने गरेका अवरोधका बाछिटाहरू हटाएर न्यूनभन्दा न्यून आयआर्जन भएका सीमान्तकृत समूहको आर्थिक समृद्धिको आधारशिला तयार गर्दै उक्त समुदाय विशेषका लागि अवसरको ग्यारेन्टी समेत प्रदान गर्नेछ, जुन स्थानीय अर्थतन्त्रको मजबुत खम्बासमेत हो । प्रस्तुत कार्यदिशाको अभिवृद्धिले समतामूलक आर्थिक विकास तथा समृद्धिको क्षेत्रमा अभूतपूर्व सफलता हासिल गर्न कुनै पनि प्रकारको अवरोधको सामना गर्नुपर्नेछैन ।
तत्पश्चात् न्यायिक समाजमा कायम रहेको विविधता, समावेशिता एवं समान अवसरलाई नयाँ र नौलो ढंगबाट प्रस्तुत गर्दै प्रत्येक नागरिक समाजले आफ्नो व्यक्तित्व पहिचानको क्षेत्रमा भिन्दै चिनारी बनाउने संस्कृतिको विकास नै समतामूलक समाजको वैशिष्टयतासमेत हो । जसमा राज्य, संस्थाविशेष एवं व्यक्तिपरक नागरिक समुदायको त्रिकोणात्मक समन्वयको अनुपम समागमको अवस्थालाई कुनै पनि हालतमा पृथक् राख्न अवश्य पनि मिल्दैन । यदि पृथक् राख्ने परिपञ्च रचिन्छ भने नागरिक द्वन्द्वात्मकताको भयभीत रूप सामना गर्नुबाहेक अर्को कुनै उपयुक्त सामाजिक सुधारको विकल्प हामीसामु रहनेछैन भन्दा फरक नपर्ला ।
परिणामतः प्रत्येक नागरिक समुदायको श्रीवृद्धि तथा क्षमता अभिवृद्धिमा उल्लेखनीय सुधारको अपेक्षा गर्दै अर्थपूर्ण न्यायिक समाजको स्थापना गर्न प्रस्तुत प्रवृत्तिको अवधारणा निकै सार्थक बन्न सक्ने तथ्यहरूले प्रमाणित गरेको वर्तमान अवस्था हो ।