Logo

बजेट वाच २०८०–८१

पर्यटन क्षेत्रको उपलब्धि निराशाजनक

काठमाडौं– चालु आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयनमा लैजाने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ र पुराना गरेर दर्जनौं कार्यक्रम सार्वजनिक गरेको थियो । वर्ष सकिन डेढ महिनामात्र बाँकी हुँदा अधिकांश कार्यक्रम कार्यान्वनको अवस्था निराशाजनक छ ।

मन्त्रालयले अहिलेसम्म पुँजीगत बजेट करिब २६ प्रतिशतमात्र खर्च गरेको छ । यसबाटै मन्त्रालयको प्रगति कस्तो छ भन्ने स्पष्ट हुन्छ । चालु बजेटका महत्वपूर्ण कार्यक्रममध्ये सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटन दशकका रुपमा मनाउने घोषणा पनि प्रमुख थियो । तर, मन्त्रालयले यो कार्यक्रमको सुरुवात नै गर्न सकेन । यस्तै, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘नेपाल घुमौं, नेपाल चिनौं’ नारासहित अभियान सञ्चालन गर्ने भनिएको थियो । मन्त्रालयले यो कार्यक्रम पनि सञ्चालनमा ल्याउन सकेको छैन ।

बजेटमार्फत कार्यक्रम घोषणा गर्ने तर कार्यान्वनयमा लैजान नसकेका यी दुई उदाहरण मात्र हुन् । मन्त्रालयले अघि सारेका अधिकांश कार्यक्रम र योजनाहरु अलपत्र जस्तै बनेका छन् । मन्त्रालयले पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ भने केही नयाँ कार्यक्रम पनि कार्यान्वयनको चरणमा प्रवेश गरेका छन् । तर, अधिकांश कार्यक्रमको अत्तोपत्तो छैन ।

केही दिन अघिमात्र पर्यटन मन्त्रालयले चालु बजेटको त्रैमासिक प्रगति समीक्षा गरेको थियो । उक्त समीक्षामा पुँजीगत बजेट खर्च २५.५१ प्रतिशतमात्र पुगेको देखाइएको थियो । अर्थ मन्त्रालयले चालु आवका लागि पर्यटनलाई ३ अर्ब ४१ करोड रुपैयाँ पुँजीगत बजेट दिएको छ । यसमध्ये अहिलेसम्म ८७ करोड १४ लाखमात्र खर्च भएको छ । मन्त्रालयले चालुतर्फ भने ६७. ५७ प्रतिशत खर्च गरेको छ ।

मन्त्रालयका सहसचिव हेमराज तामाङले भने चालु आवमा लक्ष्यअनुसार काम भइरहेको बताए । उनका अनुसार विभिन्न स्थानमा पूर्वाधारका काम भइरहेका छन् । यस्तै, केही योजना डिपिआरको चरणमा छन् भने काम भइसकेका निर्माणको भुक्तानी दिन बाँकी रहेका कारण पनि पुँजीगत खर्च कम देखिएको हो । उनले भने, ‘पर्यटन पूर्वाधारका काम प्रक्रियामा रहेका छन् । वित्तीय व्यवस्थापन नभई थप भएका कार्यक्रमको बजेट निकासा हुन बाँकी छ । अर्कोतर्फ राष्ट्रिय गौरवमा आयोजनाको बजेट विनियोजन कम हुँदा पनि प्रगति कम देखिएको हो ।’ अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान चालु आवमा १० प्रतिशत पु्र्याउने लक्ष्य लिएकोमा हालसम्म २.४२ प्रतिशत पुगेको छ ।

मन्त्रालयले आर्थिक वर्ष २०७९–८० मा विनियोजित बजेटको ७० प्रतिशत खर्च गरेको थियो । सो आवमा सरकारले पर्यटन क्षेत्रको विकासका लागि ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको थियो । योजना आयोगले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि मन्त्रालयलाई ९ अर्ब ३३ करोडको सिलिङ दिएको छ । जसमा वित्तीयतर्फ ४ अर्ब ८४ करोड, चालु २ अर्ब ७४ करोड र पुँजीगततर्फ १ अर्ब ७५ करोडको सिलिङ छ ।

मन्त्रालयले पन्ध्रौं योजनामा १७ सूचक लक्ष्य हासिल गर्नुपर्नेमा ५ सूचकको लक्ष्यमात्र हासिल गरेको छ । पन्ध्रौं योजनाको पर्यटनतर्फको सूचकमा उच्च र समतामूलक राष्ट्रिय आयअन्तर्गत पर्यटनबाट विदेशी मुद्रा आर्जनमा प्रगति गरेको छ । समीक्षा बैठकमा मन्त्रालयले मातहतका निकायलाई ४० दिनमात्र काम गर्ने समय रहेकाले द्रुत गतिमा काम गर्न निर्देशन दिएको छ ।

मन्त्रालयअन्तर्गत हाल ४ वटा राष्ट्रिय आयोजना रहेकोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ९९.६० प्रतिशत प्रगति भएको छ । पशुपति क्षेत्र विकास कोषको ६७ प्रतिशत, लुम्बिनी विकास कोषको ८८ प्रतिशत र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति शून्य छ । मन्त्रालयले समष्टिगत प्रगतिमा भने सन् २०२३ मा प्रतिपर्यटक औसत बसाइ १३.२ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४१ अमेरिकी डलर पुगेको बताएको छ । हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल विस्तार तथा स्तरोन्नति १५ प्रतिशत भएको जनाएको छ । मुलुकभर ५५ विमानस्थल रहेकोमा ३५ वटा सञ्चालनमा छन् ।

मन्त्रालयको बजेट कार्यान्वयन र खर्चको प्रगति ४०.६३ प्रतिशतमात्र छ । ‘माइलस्टोन’ अनुरुपका क्रियाकलाप २०८० चैतसम्म १ सय २१ मध्ये ३० वटामात्र सम्पन्न भएको र ७५.२ प्रतिशत सम्पन्न हुने क्रममा रहेको भनेको छ । क्षेत्रगत प्रमुख उपलब्धिका रुपमा मन्त्रालयले २७ वटा हिमालको व्यवस्थापन र प्रवद्र्धन गर्ने जिम्मेवारी ५ वर्षको लागि नेपाल पर्वतारोहण संघबाट व्यवस्थापन गर्न दिने गरी प्रक्रिया अघि बढाएको छ ।

पर्यटन ऐन, २०८० को मस्यौदा तयार गरी तर्जुमा सहमतिको लागि कानुन मन्त्रालयमा पठाइएको छ । नागरिक उड्यनतर्फ नेपाल हवाई सेवा प्राधिकरण ऐन र नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनको मस्यौदा मन्त्रिपरिषद्मा पेश भएको छ । हवाई नीतिको मस्यौदा तयार भई सरोकारवालाको राय लिने काम भइरहेको छ । पछिल्लो पटक स्वीट्जरल्याण्डसँग हवाई सेवा सम्झौता सम्पन्न भई ४३ मुलुकसँग द्विपक्षीय सम्झौता भएको छ यूएईसँगको हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ ।

सरकारले बजेटमा व्यवस्था गर्ने तर कार्यान्वयन नगर्ने प्रक्रियागत समस्याका कारण नेपालको पर्यटन उद्योगले तुलनात्मक विकासको लय नसमातेको गुनासो होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले गरे । उनले भने, ‘सरकारले नीति तथा कार्यक्रम र बजेटमा राम्रो कार्यक्रम ल्याउँछ तर त्यसको कार्यान्वयनको लागि तालुकदार मन्त्रालयबाट कार्यविधि नबनी आर्थिक वर्ष नै सकिन्छ ।’ तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले चालु आवको बजेट भाषणमा वार्षिक पर्यटक आगमन संख्या १० लाख पुर्‍याउने उल्लेख गरेका थिए । स्वतः आउने पर्यटकको संख्यालाई सरकारले लक्ष्य बनाएर सफलताको दाबी गरे पनि पछिल्लो समय ४० लाख पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार विकास भएको अध्यक्ष शाहको भनाइ छ ।

उनले भने, ‘हालै आएको सरकारको नीति तथा कार्यक्रममा पर्यटनको पुनर्संरचना गरिने भनिएको छ । तर आगामी आर्थिक वर्षको बजेटमा त्यो समावेश हुने–नहुने र भए पनि कार्यान्वयनमा शंका छ ।’ पर्यटक आकर्षित गर्न बजेटमा प्रसारप्रसारका कार्यक्रम आएर कार्यान्वयनमा गएमात्र नेपालको पर्यटन उद्योगको विकास सम्भव रहेको अध्यक्ष शाहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्