Logo

क्षतिपूर्तिमा कुरा नमिल्दा बस बन्द

सुनकोसी बस दुर्घटना

दोलखा-शैलुङगाउँपालिकामा बुधबारदेखि अरनिको यातायात कम्पनीका बस बन्द भएका छन । ४ दिनअघि सिन्धुपाल्चोकको सुकुटेमा सुनकोसी नदीमा बस दुर्घटनामा परेका मृतक परिवार र घाइतेको उपचारका विषयमा बस सञ्चालक कम्पनी र स्थानीय बीच क्षतिपूर्तिका विषयमा सहमति हुन नसक्दा स्थानीयले बस बन्द गराएका हुन् ।
सुनकोसी नदीमा यात्रुबाहक बस खस्दा मृत्यु भएका १८ जनाको ज्यान गएको छ भने एकजना बेपत्ता छन् । आइतबार बस दुर्घटना भए तापनि सोमबार र मंगलबार सिन्धुपाल्चोक बाह्रबिसेमा शैलुङ गाउँपालिकाका जनप्रतिनिधि, आफन्त र बस सञ्चालनक कम्पनी पूर्व अरनिको यातायात प्रालि बीच छलफल भएको थियो । तर छलफलमा स्थानीयका मागका विषयमा सहमति हुन नसक्दा बुधबार बिहानैदेखि अरनिको यातायातले सञ्चालन गरेका शैलुङेश्वरी यातायात बन्द गराएको स्थानीय संघर्ष समितिका संयोजक रिमलबाबु श्रेष्ठले बताए ।
स्थानीयका मागका विषयमा सहमत नहुँदासम्म अरनिको यातायातका कुनै पनि बसहरू शैलुङ गाउँपालिका भित्र सञ्चालन गर्न नदिइने उनले बताए । वार्तामा सहमति नभए तापनि मृतकहरूको लास आफन्तले बुझेर दाहसंस्कार गरेका छन् । मृतकका ८ वटा शव बाह्रबिसेमा दाहसंस्कार गरेका थिए । धुलिखेल अस्पतालमा भएका २ वटा लास र अन्य ८ वटा आफन्तले काठमाडौंतिरै लगेर दाहसंस्कार गरेका छन् ।
अरनिको यातायातले मनपरि गर्दै आएकोले सिण्डीकेट अन्त्य, भाँडामा एकरुपता, मृतकको परिवारलाई उचित क्षतिपूर्ति, कच्ची बाटोमा नयाँ बसहरू राख्ने, सिट क्षमताभन्दा बढी यात्रु ओसार्न नपाउने लगायतको माग संघर्ष समितिले सरकारसमक्ष नै राख्ने पीडितहरू बताउँछन् । तर कम्पनीले उपचार र बिमाबाट आएको सुविधाबाहेक अरु विषयमा छलफललै गर्न नचाहेको उनले बताए । शैलुङमा अरनिकोले अन्यत्र चलेर थोत्रा भइसकेका बसहरू मात्र चलाउँदै आएको छ ।
संघर्ष समितिले मंगलबार आएका सबै बसहरू बाघखोरमा रोकि राखेको छ । कम्पनी सहमति नआएर अझ कडा आन्दोलनमा जाने उनले बताए । अरनिको यातायातले शैलुङ क्षेत्रमा एकाधिकार पूर्ण यातायात सञ्चालन गर्दै आएको छ । अरनिको सिण्डिकेटविरुद्ध पटकपटक स्थानीय आन्दोलित भएपछि १० वर्षअघि अरनिकोले शैलुङमा चल्ने बसलाई शैलुङेश्वरी यातायातको छदम नामबाट सञ्चालन गर्दै आएको छ ।
शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले बस दुर्घटनाका पीडितलाई उचित राहतका लागि ३ नं. प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूलाई भेटेर ध्यानाकार्षण गराएका छन् । यातायात सञ्चालनलाई व्यवस्थित गर्न पनि उनले माग गरेका छन् ।
मृतकको दाहसंस्कारका लागि प्रतिव्यक्ति २० हजारको दरले दाहसंस्कार खर्च शैलुङ गाउँपालिकाले उपलब्ध गराएको छ । बस समितिसँग कुरा मिल्न नसकेपछि पीडित परिवारले शैलुङका स्थानिय रिमालबाबु श्रेष्ठको संयोजकत्वमा एक सय एक सदस्यीय संघर्ष समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्