Logo

थाई एयरवेजको उडान पुनः सुरू

काठमाडौं– थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरू गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले ओपचारिक रूपमा सेवा सुरू गरेको जानकारी दिएको हो ।

थाई एयरवेजले सुन् १९६८ मा बैंककदेखि कलकाता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो वायुसेवा सुरू गरेको थियो । नेपाललाई विश्वसँग जोड्ने र विश्वबजारका यात्रीलाई पनि नेपाल ल्याउने लामो यात्रामा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थाई एयरवेजले जनाएको छ ।

थाई एयरवेजले २०२३ अक्टोबर २९ मा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो । हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ ।

स्थानीय बजारको अवस्था राम्रोसँग बुझेको सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेस थाई एयरवेजको लागि एक उत्कृष्ट साझेदार बनेको छ । नेपालमा पुनः उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाई एयरवेजले २०२३ डिसेम्बर १५ मा दोस्रो दैनिक उडान सुरू गरेको हो ।

हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यहरूमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रिमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्टहरू सञ्चालन गर्दै आएको छ । यी विमानहरू आरामदायी सिटको लागि प्रसिद्ध छन् । थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले भने, ‘सेवाले नेपाललाई थाइल्याण्डलगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने छ । सन् १९६८ मा नेपालका लागि पहिलो पटक सेवा सुरु गरे देखिनैदुई देश बीचको सांस्कृतिक र आर्थिक आदान प्रदानलाई प्रवद्र्धन गर्ने एउटा माध्यम बनेको छ ।’

उनले विगत ५६ वर्षदेखि नेपालमा सेवा दिएको बताए । सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका एक्जिक्युटिभ चेयरम्यान र आरआर ग्रुप अफ कम्पनीका ग्रुप चेयरम्यान रवि चन्द्र सिंहले भने, ‘काठमाडौं र बैंककलाई उडान मार्फत जोड्दै हाम्रो सेवाहरू पुनः सुरू गर्न पाउँदा हामी हर्षित छौं । सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्य खोज्ने यात्रुका लागि नेपाल सधैँ लोकप्रिय गन्तव्य भएको छ । हाम्रो सेवाहरूले नेपाल र थाइल्याण्डबीच उडान गर्ने यात्रुलाई सहज र रमाइलो यात्रा अनुभवहरू प्रदान गर्नेछ ।’

हाल थाई एयरवेजसँग कुल ७३ विमान छन्, जुन औसतमा दैनिक १२.८ घण्टा उडान भर्छन् । थाई एयरवेजले यात्रुलाई विश्वसँग जोड्दै गर्दा लगातार यात्रुको बढ्दो मागलाई सेवाको लाभ लिन सक्छन् । यात्रुको पहिलो रोजाइमा परिरहनको लागि थाइ एयरवेजले यात्रुको सन्तुष्टिमा केन्द्रित भएर विशेष सेवाहरू प्रवाह गर्ने गरेको छ । थाइ एयरवेजका यात्रुहरूले सिट, समानलगायत आफ्नो आवश्यकता अनुसार थप सेवाहरू खरिद गर्नसक्छन् ।

प्रतिक्रिया दिनुहोस्