Logo

वनको जग्गामा निजी बगैंचा

काटियो एक हजार स्याउका बिरुवा

जुम्ला– सिंजा गाउँपालिका–६ भाडगाउँको सानीपातल काफलबारी सामुदायिक वनमा लगाइएका एक हजार स्याउका बिरुवा काटेर फालिएको छ । सामुदायिक वनको जग्गा अतिक्रमण गरी रोपिएको भन्दै फल दिइरहेका आठ सयसहित एक हजार स्याउका बिरुवा काटेर फालिएको हो ।

वनको करिब पाँच हेक्टर क्षेत्रफलमा रोपिएका एक हजार बिरुवामध्ये आठ सय बिरुवामा स्याउ फलिरहेको थियो भने दुई सय बिरुवा फल लाग्ने क्रममै रहेका थिए । वनको जग्गमा सिंजा–६ जोडुका चारजना र सोही वडा भाडगाँउका ६ जना गरी १० जनाले अतिक्रमण गरी स्याउ रोपेका थिए । कुल १० हेक्टर क्षेत्रफलमध्ये पाँच हेक्टरमा स्याउका विरुवा रोपिएको थियो भने पाँच हेक्टर जमिनको घेराबार गरी व्यक्तिगत प्रयोजन गरेका थिए ।

अतिक्रण गरिएको जग्गा २०७१ सालमै फिर्ता ल्याउने प्रयास भएको थियो । तर प्रतिव्यक्तिले वन समितिलाई १० हजार दिने र जग्गा छोड्ने सहमति भएको थियो । तर वर्षौ बित्दा पनि उक्त सहमति कार्यान्वयन नगरी अटेर गरेर अतिक्रमित जग्गा नछोडेपछि पुनः पटकपटक मुद्दा समेत परेको थियो । वनको जग्गा वनले नै स्वामित्वमा लिनु पर्ने, रोपिएको विरुवा संरक्षण गरी अतिक्रमण गरिएको जग्गा फिर्ता ल्याउनु पर्ने भएता पनि नियमनुसार भन्दै आवेगमा आई स्याउ उत्पादन भइरहेको विरुवा नै काटेर फाल्नुलाई किसानले गलत निर्णयका रूपमा लिएका छन् । कानुन कार्यान्वयनसंगै सहमति गरेर हुर्केर फल लागिरहेको विरुवालाई संरक्षण गर्नतर्फ ध्यानदिनु पर्नेमा वन समितिले जरैदेखि उखेलेर फालेको छ ।

जुम्लाको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको स्याउ खेतीलाई प्रवद्र्धन गर्नुको साटो विरुवा नै काटेर फालेपछि आलोचना भइरहेको छ । वनको जग्गा अतिक्रमण गरेर विरुवा रोपिए पनि वनकै स्वामित्वमा राख्ने गरी विरुवा संरक्षण गर्नुपर्नेमा वन समिति, डिभिजन वन कार्यालयले गरेको उत्पादन दिइरहेको विरुवा काट्ने कार्य वैज्ञानिक नभएको आलोचना भइरहेको हो ।
यता डिभिजन वन कार्यालय जुम्लाका वन अधिकृत खड्कलाल नेपालीले नियमनुसार अतिक्रमण गरिएको वनको जग्गा खाली गरिएको बताए ।

यो सबै वन कार्यालयले गरेको निर्णय होइन । उनले भने, ‘पटकपटक मुद्दा प्रक्रियादेखि सहमति भए पनि अटेरी गरेपछि गाउँलेको सहमतिमा विरुवा काटिएको हो । फल्ने बेलाका विरुवा काट्न नहुनेमा हाम्रो पनि सहमति हो । तर वन ऐन २०७६ लगायतका अन्य ऐन नियमले पनि अतिक्रमण भएको जग्गा पूर्णरुपमा खाली गराउनु पर्ने कानुनी प्रावधान छ । त्यसैले गाउँलेले अतिक्रमण हटाएका हुन् ।’

सामुदायिक वनको संरक्षण, अतिक्रमण हटाउने नियमन तथा निरीक्षण गर्ने अधिकारसमेत सामुदायिक वन उपभोक्ता समितिलाई छ । अतिक्रमण भएको जमिन फिर्ता ल्याउन निकै कठिन रहेको उनको भनाइ छ । त्यस्तै सानीपातल काफलबारी सामुदायिकका अध्यक्ष रंगबहादुर रावत २०७१ सालदेखि अतिक्रमण गरेको जग्गा फिर्ता ल्याउन प्रयास गरे पनि नमानेपछि बाध्य भएर विरुवा नै काट्नु पर्ने अवस्था आएको बताउँछन् ।

उनी भन्छन्, ‘अतिक्रमण गरेको जग्गा फिर्ता गर्ने धेरै पटकको निर्णय कार्यान्वयनमा अटेरी गरेपछि सबडिभिजन वन कार्यालय नराकोट, प्रहरी र स्थानीयको सक्रियतामा विरुवा काटेका हौं । अब अन्य विरुवा रोपेर वनलाई हराभरा बनाउँछौ ।’ डिभिजन वन कार्यालयमा विरुवा माग गरेका छौ । सल्लाह, धुपी, ओखर, पिलललगायतका थुप्रै विरुवा लगाएर वनलाई हरियाली बनाउने योजना रहेको अध्यक्ष रावतले उल्लेख गरे ।

सिंजा–हिमा सबडिभिजन वन कार्यालय नराकोट जुम्लाका प्रमुख क्षेत्रबहादुर महतले राजीखुसी अतिक्रमण गरेको जग्गा नछोडेपछि अतिक्रमण हटाइएको बताए । अतिक्रमण गरिएको वन क्षेत्र सिंजा–६ को पूर्वमा दिलौरी खोला पश्चिममा मासीडाँडा, उत्तरमा भुगाडी हान्ने ठूलो खोला र दक्षिणमा भेडानागी चारकिल्लामा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्