Logo

मापदण्ड पूरा नगरेका चुनढुंगा उत्खनन् बन्द

दाङ– सरकारी मापदण्डविपरीत चुनढुंगा उत्खनन् भइरहेको भन्दै सरकारले जिल्लाका चार स्थानका चुनढुंगा खानी उत्खनन्मा रोक लगाएको छ । खानी तथा भूगर्भ विभागले जिल्लाका चार स्थानका चुनढुंगा खानीमा उत्खनन् प्रतिबन्ध लगाएको हो ।

बंगलाचुली गाउँपालिकाका तीन खानी तथा बबई गाउँपालिकाको एउटा खानी उत्खनन्मा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । बंगाचुली गाउँपालिकास्थित थारा खानी, बंगलाचुली गाउँपालिकाकै तापा, बंगलाचुलीकै तिमिले भन्ने स्थानको चुनढुंगा खानीको उत्खनन्मा रोक लगाइएको हो । यसैगरी बबई गाउँपालिकाको पुरन्धारा खानीमा समेत अवैध उत्खनन् हुँदै आएको थियो । विभागले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै यी चार स्थानमा खानी उत्खनन्मा नियमविपरीत भइरहको भन्दै तत्काल रोक्न निर्देशन दिएको थियो । यो निर्देशनअनुसार खानी उत्खनन् बन्द गर्न जिल्ला प्रशासन कार्यालयले उत्खनन् गर्दै आएका कम्पनीलाई परिपत्र गरिसकेको छ ।

प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले विभागले बन्द गर्न भनेको स्थानमा अहिले उत्खनन् बन्द भइसकेको जानकारी दिए । ‘खानी विभागले चार स्थानका चुनढुङ्गा खानीमा अवैध उत्खनन् भइरहेको र यी चार खानीको उत्खनन् बन्द गर्न भनेर हामीलाई परिपत्र गरेको थियो,’ प्रमुख जिल्ला अधिकारी सुवेदीले भने, ‘सो परिपत्रका आधारमा हामीले पनि तोकिएका चार स्थानमा उत्खनन् गरिरहेका कम्पनीलाई पत्राचार गरेर उत्खनन् गर्न भनिसकेका छौँ ।’ खानी विभागले पुरन्धारास्थित खानीबाट उत्खनन् गर्दै आएको दाङ सिमेन्ट इन्डस्ट्रिज प्रालिलाई उत्खनन् बन्द गर्न भनेको छ ।

यसैगरी बंगलाचुलीको थारास्थित खानीबाट चुनढुंगा उत्खनन् गर्दै आएको सम्राट सिमेन्टको उत्खनन् बन्द गर्न भनेको छ । यसैगरी बंगलाचुलीको तापा खानीबाट उत्खनन् गर्दै आएको विश्वकर्मा माइन्स एन्ड मिनरल्स प्रालि तथा बंगलाचुलीको शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडलाई उत्खनन् बन्द गर्न भनेको छ । मापदण्डभन्दा बाहिर रहेर उत्खनन् गर्दै आएका यी चार कम्पनीले विभागले निर्दिष्ट गरेको मापदण्डभित्र रहेर मात्रै उत्खनन् गर्न पाउने छन् । अन्यथा उत्खनन् गर्न नपाउने प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए ।

‘उत्खनन्का लागि प्रक्रिया पूरा नगरेका कम्पनीले गर्दै आएको उत्खनन् बन्द गर्न निर्देशन भएको हो,’ प्रमुख जिल्ला अधिकारी सुवेदीले भने, ‘विभागको मापदण्डमा रहेर मात्रै उत्खनन् गर्न पाउने अवस्था रहन्छ अन्यथा विभागको मापदण्डविपरीत गएर उत्खनन् गर्न पाइँदैन ।’ प्रमुख जिल्ला अधिकारी सुवेदीले पहिले नै उत्खनन् गरेको खनिज पदार्थ ओसार पसार गर्न अहिले पाएको भए पनि मापदण्ड नपु¥याएर उत्खनन् गर्न नपाउने बताए ।

खानी विभागले यी चार खानीमा उत्खनन् गरिएको खनिज पदार्थको परिमाण जाँच गर्ने यन्त्र नराखिएको भन्दै जिल्लाका चार स्थानमा भइरहेका खानी उत्खनन्को काम अवैध ठहर्‍याएको हो । खानी तथा खनिज पदार्थ नियमावली २०५६ को नियम १९ को देहाय (ङ) बमोजिम खनिज पदार्थ भण्डारण तथा जम्मा गर्ने स्थलमा खनिज पदार्थको नाप गर्ने यन्त्र अनिवार्य राख्नुपर्ने उल्लेख गरेको छ तर यो नियमानुसार चार कम्पनीले चार स्थानबाट उत्खनन् गर्दै आएको स्थलमा कुनै पनि यन्त्र नराखिएको भन्दै तत्काल उत्खनन् बन्द गर्न निर्देशन दिइएको हो ।

यसैगरी उत्खनन्मा संलग्न चार कम्पनीलाई पटक–पटक सूचना जारी गरेर यन्त्र जडानबारे जानकारी दिन आग्रह गरिएको पनि विभागले उल्लेख गरेको छ । तर विभागले गरेको आग्रहलाई बेवास्ता गरी अटेरी गरेको भन्दै उत्खनन् बन्द गर्न निर्देशन दिएको हो । ‘पटक–पटक सूचना जारी गरेर खनिज पदार्थ नापजाँच गर्ने यन्त्र भए नभएको जानकारी दिन विभागले आग्रह गरेको थियो,’ प्रमुख जिल्ला अधिकारी सुवेदीले भने, ‘तर शर्त पालना गरेको भनेर जानकारी नदिइएपछि खानी उत्खनन् बन्द गर्न भनेर विभागले सूचना जारी गरेको हो ।’ विभागले उल्लेख गरेको शर्त पूरा नभए उत्खनन्को काम बन्द नै गरिने प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए । ‘उत्खनन्का लागि विभागले राखेको शर्त पूरा गर्नैपर्छ अन्यथा उत्खनन् गर्न पाइँदैन,’ प्रमुख जिल्ला अधिकारी सुवेदीले भने ।

प्रतिक्रिया दिनुहोस्