Logo

कर्णालीको आर्थिक वृद्धिदर राष्ट्रिय अनुमानभन्दा कम

सुर्खेत–चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय अनुमानभन्दा कम हुने देखिएको छ । चालु आवको राष्ट्रिय आर्थिक वृद्धिदरको अनुमान ३.८७ रहेकोमा कर्णाली प्रदेशको वृद्धिदर भने ३.३९ मात्रै रहने प्रक्षेपण गरिएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कर्णाली प्रदेश सबैभन्दा कम आर्थिक वृद्धि हुने प्रदेश देखिएको छ ।

यस्तै प्रदेशको अर्थतन्त्रको आकार दुई खर्ब ४४ अर्ब हुने अनुमान गरिएको छ । गत आव २०७९/०८० मा दुई खर्ब २९ अर्ब रहने संशोधित अनुमान गरिएको थियो । गत आव २०७९/८० मा आर्थिक वृद्धिदर १.९६ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो । चालु आवमा कर्णाली प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ४.३ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको छ ।

गत आव २०७९/०८० मा कर्णाली प्रदेशले ४.२८ प्रतिशत नै योगदान पुर्‍याउने संशोधित अनुमान थियो । कर्णालीको जिडिपीमा सबैभन्दा बढी कृषि क्षेत्रको २९.५१ प्रतिशत रहेको छ भने सबैभन्दा कम प्रशासनिक सहयोगी सेवा क्षेत्र ०.१७ प्रतिशत रहने अनुमान छ । कर्णालीमा आर्थिक गतिविधि कम हुँदा वृद्धिदर पनि कम भएको हो । चालु आव २०८०/०८१ मा कर्णालीका प्रतिव्यक्ति आय एक हजार ६६ रहने अनुमान छ ।

कर्णाली प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आव २०८०/०८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२२.५२ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (–१.०२ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी, गत आव २०७९/०८० का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२१.८७ प्रतिशत) विद्युत क्षेत्रको र सबैभन्दा थोरै (–२.३१ प्रतिशत) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको थियो ।
निर्माण क्षेत्रको वृद्धिदर ऋणात्मक देखिन्छ भने उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर कर्णाली प्रदेशबाहेक अन्य प्रदेशमा ऋणात्मक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्