Logo

विद्युतीय सवारीसाधनको आयात बढ्यो

रसुवा– पछिल्लो समय रसुवागढी नाकाबाट विद्युतीय सवारीसाधनको आयात बढेको छ । यस नाकाबाट सबैभन्दा बढी विद्युतीय कार, १० र १५ सिटका माइक्रो भ्यान तथा बस नेपाल भित्रिरहेका छन् ।

पछिल्लो समय नेपालको चीनसँग जोडिएको व्यापारिक नाकामध्ये व्यस्त र बढी राजस्व उठ्ने नाकामा रसुवागढी भन्सार पर्छ । चालु आर्थिक वर्ष ०८०–८१ को साउनदेखि चैत मसान्तसम्म यस नाकाबाट चार हजार सात सय ६ साना–ठूला सवारीसाधन आयात भएको रसुवा भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले बताए ।

आयत गरिएका गाडीमध्ये चार हजार ६ सय ७९ विद्युतीय कार, माइक्रो भ्यान र माइक्रोबस नेपालतर्फ भित्रिएका हुन् । सो नाकाबाट पाँच हजार आठ सय ५० सवारीसाधन भन्सार प्रक्रिया पूरा गरी भित्रिएको रसुवा भन्सारका सूचना अधिकृत निर्मल कँडेलले बताए । विद्युतीय कारको खरिद मूल्य चिनियाँ उत्पादक कम्पनीमा २८ लाख ५१ हजार र भन्सार शुल्क ११ लाख ९८ हजार उठेको प्रमुख भन्सार अधिकृत पाठकले बताए ।

चालु आवका नौ महिनामा १५ अर्ब ७७ करोड राजस्व असुली गरेका भएको पनि उनले बताए । तुलनात्मक हिसाबले एक सय ६६ प्रतिशत राजस्व वृद्धि भएको उनले जानकारी दिए । गत आवको यही अवधिमा पाँच अर्ब ९४ करोड मात्र असुली भएको थियो । ठूलो संख्यामा चीनबाट सवारीसाधन आयात भएकाले चालु आवमा कर बापतको राजस्व बढेको हो ।

चालु आवका नौ महिनामा ४८ अर्ब ५९ करोडबराबरको सामग्री आयात भएको थियो । आयातित सामग्रीमा साना–ठूला सवारीसाधन, इलेक्ट्रिक सामान, जुत्ता, चप्पल, तयारी कपडा, लसुन, स्याउ, ओखरलगायत दैनिक उपभोग्य सामग्री छन् । ०७१ देखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा वर्षमा दैनिक तीन सयदेखि चार सय सवारीसाधन आवतजावत हुने गरेको छ ।

चीनले अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ । सोही कारण व्यापार, व्यवसाय पनि चलायमान भइरहेको स्थानीय होटेल व्यवसायी पदम रुम्बाले बताए । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ  ।

प्रतिक्रिया दिनुहोस्