Logo

व्यापारघाटाकै चिन्ता

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म नेपालको आयात, निर्यात र व्यापारघाटामा संकुचन आएको छ । यो अवधिमा नेपालले कुल १३ खर्ब ३ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ, जुन २०८० वैशाखको तुलनामा २.३९ प्रतिशत कम हो । उक्त अवधिमा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोडको वस्तु आयात गरेको थियो ।

वैशाख मसान्तसम्म नेपालले १ खर्ब २६ अर्ब करोडको वस्तु निर्यात गरेको छ, जुन गत वर्ष वैशाखको तुलनामा ३.६१ प्रतिशत कम हो । अघिल्लो वैशाखसम्म नेपालले १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो । चालु आर्थिक वर्षमा मुलुकको निकासी क्षेत्र झन् कमजोर बनेको छ । आर्थिक वर्षको १० महिनामा १ खर्ब २६ अर्बको मात्र निर्यात भएको हो । अघिल्लो आवमै गिरावट देखिएको निकासी व्यापारमा चालु आवमा सुधार आउन सकेको देखिँदैन ।

आयात र निर्यात घटेजस्तै नेपालको अन्तर्राष्ट्रिय व्यापार पनि घटेको छ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलताका कारण बैंकको ब्याजदर पनि घट्दै गएको छ । तर, बजारमा माग घट्दा वैदेशिक व्यापारमा सुधार हुन सकेको छैन । राष्ट्रिय तथ्यांक कार्यालयले उत्पादनमूलक उद्योग तथा निर्माण क्षेत्रको वृद्धिदर चालु आर्थिक वर्षमा नकारात्मक रहने र व्यापार क्षेत्रमा पनि सामान्य वृद्धि हुने योभन्दा अघि नै अनुमान गरिसकेको छ । १० महिने अवधिमा नेपालको व्यापारघाटा ११ खर्ब ७७ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वैशाखमा यस्तो घाटा १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो । यसले व्यापारघाटामा झिनो कमी मात्रै आएको देखाउँछ ।

यो बीचमा केही आयात घटेको छ । आयात व्यापार घट्नुले स्वदेशमा उत्पादन बढेको देखाउँछ । स्वदेशमै उत्पादन नबढेर दोस्रो बजारबाट आउने वस्तु तथा सेवाको माग कम हुँदा पनि आयात घटाउन सहयोग पु¥याउँछ । त्यसैले उत्पादन बढेर होस् वा माग कम भएर आयात घट्नुपर्छ । तर, हामीकहाँ उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका कारण उत्पादन बढेकाले आयात कम भएको हुन सक्दैन । बरु आम नागरिकसँग खर्च गर्ने पैसा कम भएर दोस्रो बजारबाट आउने वस्तुको माग कम भएका कारण आयात घटेको अुनमान गर्न सकिन्छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । त्यसैका कारण आयातको रकम कम भएको छ । चालु आवको वैशाख मसान्तसम्म नेपालले डिजेल १ खर्ब १५ अर्ब ६७ करोड, पेट्रोल ५६ अर्ब ८० करोड, एलपी ग्यास ४६ अर्ब आयात गरेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य केही घटेका कारण इन्धन आयात कम भएको हो । नत्र, योभन्दा पनि बढी परिमाणमा इन्धन आयात हुँदा आयात व्यापार बढ्ने थियो ।

आयातको तुलनामा निर्यात स्थिति कमजोर भएपछि सरकारले यसलाई बढाउन सकेको छैन । नेपालले सबैभन्दा ठूलो व्यापारघाटा भएको भारतसँग अझै पनि सन्तुलन कायम गर्न सकेको छैन । योसँगै जलविद्युत् निकासीलाई पहिलो प्राथमिकता दिनुपर्छ । जबसम्म नेपालले बिजुली उत्पादन गरेर भारत निकासी गर्न सक्दैन तबसम्म व्यापारघाटा कम हुन सक्ने अवस्था देखिँदैन । यसमा जति विलम्ब गरिन्छ, मुलुकमा त्यति नै परनिर्भरता र आर्थिक जोखिम बढ्न गई व्यापारघाटा अझ बढ्न सक्छ । यस्तो अवस्थामा सरकारले योजनाबद्ध आर्थिक विकासको कार्यलाई अघि बढाउनुपर्ने देखिएको छ । कृषिमा परनिर्भरता कम गर्न कृषिक्षेत्रलाई यान्त्रिकीकरण गर्नुपर्ने खाँचो देखिएको छ ।

कृषिप्रधान भनिएको देश पनि खाद्यान्नमा परनिर्भर रहेका कारण १० महिनामा २४ अर्बको धान, मकै र गहँ आयात भएको छ । खाद्यान्नमा सबैभन्दा बढी भारतबाट आयात भएको देखिन्छ । यो अवधिमा १० अर्ब ८६ करोडको धान, १० अर्ब ३१ करोडको मकै र २ अर्ब ७३ करोडको गहुँ आयात भएको छ । त्यसैले हामीकहाँ कृषिदेखि उद्योगसम्म परनिर्भरताको अवस्था कायमै रहेका कारण वैदेशिक व्यापारमा आएको संकुचन घट्न सकेको छैन । आयात व्यापारको अंश ठूलो छ भने निर्यात व्यापारको अंश सानो छ । त्यसैले निर्यात व्यापारलाई बढावा दिन सकेमात्रै व्यापारघाटा कम हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्