Logo

सगरमाथाको भविष्यबारे चिन्ता

फाइल तस्बिर ।

सगरमाथाको भविष्यबारे धेरै कम मानिसलाई मात्रै थाहा छ। किनभने यो हिमाल धरतीमा रहेका हिमशिखरमध्ये सबैभन्दा अग्लो हिमाल हो। त्यसले गर्दा यो हिमालको शिरमा एकपटक आपूmले पाइला राख्न पाए हुन्थ्यो भनी सपना देख्नु जुनसुकै देशका पर्वतारोहीका लागि अनौठो होइन।

अहिले सगरमाथा आरोहणका लागि हरेक वर्ष कम्तीमा ४ सयदेखि ५ सयको संख्यामा विदेशी पर्वतारोहीहरू नै आउन थालेका छन्। त्यसका साथै पछिल्लो पटक नेपाली पर्वतारोहीहरूले पनि सरकारसँग अनुमति लिएर, रोयल्टी तिरेर सगरमाथालगायत अन्य हिमाल आरोहण गर्न थालेका छन्। त्यस्तै, सगरमाथा आरोहण गर्न आएका विदेशी तथा स्वदेशी पर्वतारोहीहरूका साथ जाने सहयोगीसमेत गर्दा लगभग १५–१६ सय जनाको ठूलो भीड सगरमाथाको आधार शिविरमा दुईदेखि साढे दुई महिनासम्म रहने गरेका छन्।

सगरमाथामै किन पर्वतारोहीहरूको यस्तो भीड हुन्छ त भन्दाखेरि सगरमाथा नै विश्वको एक मात्र ‘आइकोनिक’ हिमालका रूपमा स्थापित भएको छ। त्यसैले गर्दा हालसम्म यो हिमाल आरोहण गर्नका लागि अनुमानित २०–२२ हजार पर्वतारोहीले प्रयास गरे होलान्। हुन त कतिपय पर्वतारोहीले सगरमाथा एकपटकभन्दा बढी अर्थात् दोहोर्‍याएर, तेहेर्याएर पनि चढेका छन्। कतिपय पर्वतारोहीले त नवौं–दसौंदेखि सत्ताइसौं–अट्ठाइसौं पटकसम्म पनि सगरमाथाको सफलतापूर्वक आरोहण गरिसकेका छन्।

भूगर्भविद् तथा वैज्ञानिकहरूका अनुसार सगरमाथा ‘ग्रे लाइस्टोन’ले बनेको हो भने आजभन्दा १ करोड ५०–५५ लाख वर्षअघि सगरमाथा हिमालको उत्पत्ति भएको थियो। साथै, यो टेथिस महासागर टेक्टोनिक प्लेट सर्ने–चल्ने क्रममा वा भनौं सिद्धान्तअनुसार आजको सगरमाथा हिमाल बनेको हो। गुगल सर्चअनुसार टेथिस महासागर आजको एसिया, उत्तर अफ्रिका, अरब मुलुक र भारत रहेको क्षेत्रसम्म फैलिएको थियो भने त्यो बेला (करिब ४० मिलियन वर्षअघि) उत्तरतर्फ सर्दै–सर्दै आल्पस पर्वतमाला र हिमालय पर्वतमाला बनेको हो। त्यस्तै, करिब ८० मिलियन वर्षअघि आजको भारत ६ हजार ४ सय किलोमिटर दक्षिणको युरेसिया प्लेटमा रहेको थियो।

त्यस्तै, केही वर्षअघिसम्म सगरमाथाको उचाइका सम्बन्धमा पनि विवाद हुने गरेको थियो। वि.सं. २०७२ मा नेपालमा भूकम्प गएपछि चाहिँ नेपालकै भूगोलविद् तथा भूगर्भविदहरूले पनि सगरमाथाको उचाइ बढेको हुन सक्ने भनी कुरो उठाउन थालेपछि नेपाल सरकारले पनि तदारुकताका साथ सगरमाथाको उचाइ घटेको वा बढेको के हो ? सत्य–तथ्य पत्ता लगाउनका लागि नापी विभागका कर्मचारीहरूको टोली गठन गर्‍यो। सो अध्ययन टोलीले आफ्नो प्रतिवेदनमा सगरमाथाको उचाइ पहिलेको भन्दा केही सेन्टिमिटर बढेको भनी सरकारलाई आफ्नो अध्ययन–प्रतिवेदन बुझायो। त्यही प्रतिवेदनलाई वि.सं. २०७७ मंसिर २३ (सन् २०२० डिसेम्बर ८) का दिन औपचारिक रूपमा मान्यता दिइयो, जसमा नेपाल र उत्तरी छिमेकीले संयुक्त रूपमा सगरमाथाकोे नयाँ उचाइ ८,८४८.८६ मिटरलाई मान्यता दिएका छन्।

सगरमाथा आरोहणको इतिहास हेर्दा सन् सन् १९२२ मा सुरु भएको देखिन्छ। त्यसयता सन् २०२३ को वसन्त ऋतुसम्ममा नेपाललगायत विभिन्न देशका करिब ८ हजार पर्वतारोहीले (लगभग १२ हजार पटक) सगरमाथा हिमाल आरोहण गरिसकेका छन्। सन् २०२३ मा सगरमाथाको आरोहण अनुमति जारी गरेबापत ६६ करोड ६४ लाख २० हजार नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा सलामी रकम नेपाल सरकारको मातहतमा रहेको पर्यटन विभागले संकलन गरेको थियो भने यो वर्ष पनि ५२ करोड नेपाली रुपैयाँबराबरको सलामी दस्तुर संकलन भइसकेको छ। यसरी हेर्दा लाखौं अमेरिकी डलर खर्च गरेर जिन्दगीमा एकपटक जसरी भए पनि विश्वको अग्लो हिमाल सगरमाथा चढेरै छाड्ने अठोट र सपना साँचेर नेपाल आउँछन्, विश्वका कैयौं देशका पर्वतारोहीहरू।

तर सगरमाथा आरोहण व्यक्तिको इज्जत, मान, सम्मान र कीर्तिमान राख्न, आफ्नो देशको नाम विश्वभरि फैलाउन र अजर अमर राख्नभन्दा पनि जसरी भए पनि चढ्नैपर्ने रहरको विषय हुन थालेको छ। यसले गर्दा सगरमाथा आरोहण पनि हिजोआज एउटा राम्रो व्यापारका रूपमा फस्टाइरहेको देखिन्छ। जसले गर्दा सगरमाथा आरोहण गर्नका लागि आफ्नो व्यक्तिगत स्वास्थ्य, शारीरिक तन्दुरुस्ती, शरीरमा चाहिने स्टामिनाको कमी र हिमाल चढेको (खास गरी ७–८ हजार मिटरभन्दा अग्ला हिमाल) अनुभव नभए पनि जे–जसरी भए पनि सगरमाथा चढेरै छाड्ने जिद्दीपनसहित पर्वतारोहीहरू आउन थालेका छन्। मौसमले साथ दिएन भने कसैको केही नलाग्ने हुनाले पर्वतारोहीले कैयौं दिन उपयुक्त समय पर्खेर क्याम्प २–३ बस्नुपर्ने हुन्छ।

गत ५ फेब्रुअरी, २०२२ मा बीबीसी नेपाली सेवाले आफ्नो अनलाइन संस्करणमा पछिल्लो पटक प्रकाशित रिपोर्टअनुसार सगरमाथा हिमालको आसपास रहेका हिमनदीमा विगत २ हजार वर्षदेखि जमेर रहेको बरफ केही वर्ष अघिदेखि तीव्र गतिमा पग्लन थालेको छ। रिपोर्टअनुसार लगभग ७ हजार ९ सय मिटरको उचाइमा रहेको साउथकोल र त्यसवरिपरि रहेको ग्लेसियरको बरफ पग्लिने क्रम ८० गुणाले छिटो रहेको देखाएको छ। यसले के संकेत गर्दै छ, लाटोबुंगोले पनि सहजै अनुमान गर्न सक्ने कुरो हो। किनभने यसको संकेत भनेको अब सगरमाथा हिमालको आयु छोटिँदै छ, घट्दै छ भन्ने हो। त्यसैले केही गरी सगरमाथाको आयु धेरै रहे पनि सगरमाथामा हिउँ पर्न छाड्यो, अथवा भनौं बरफ जम्न पनि छाड्यो भने ढुंगैढुंगा र कडा चट्टानी भीर–पहरामा मात्रै चढेर सगरमाथाको शिरमा पुग्न त ‘जस्तै मै हुँ’ भन्ने नामुद पर्वतारोहीलाई पनि धेरै गाह्रो अथवा असम्भवजस्तै हुनेछ। त्यस्तै, सगरमाथा हिमालको बेस क्याम्प पनि विगतको समयमा भन्दा १ सय ५० मिटर तल सरिसकेको भन्ने भनाइ छ।

विश्वका विभिन्न देशका पर्वतारोहीहरूका लागि कीर्तिमान राख्ने, नेपाल सरकारका लागि हिमाल आरोहणबाट प्राप्त हुने सलामी रकममध्ये सबैभन्दा धेरै सलामी रकम प्राप्त हुने (समग्रमा वर्षभरिमा नेपालका विभिन्न हिमाल आरोहण गर्न आउने विदेशी पर्वतारोही तथा नेपाली पर्वतारोहीहरूबाट उठ्ने सलामी रकममध्ये कम्तीमा ८०–९० प्रतिशत रकम सलामीबापत प्राप्त हुने) सगरमाथा हिमालको भविष्यबारे अब हामीले केही चिन्ता र सोच–विचार गर्ने कि ? अब पनि हामीले सगरमाथालाई लामो समयसम्म हिउँसहित बचाइराख्न तदारुकताका साथ केही न केही नगर्ने हो भने कहिले गर्ने ? यस सम्बन्धमा हामीले अब साँच्चै गम्भीर भएर सोच्ने बेला आइसकेको छ।

किनभने अहिले पनि समय घर्किसकेको छैन। बेला छँदै जल तथा मौसमविद्, वातावरणविद्, भूगर्भविद् तथा वैज्ञानिक, नेपाल सरकार र नेपाल सरकारको जिम्मेवार निकाय र मातहत बसेका मानिस, सगरमाथा हिमाल ग्रुप लिडर, सरदार, पर्वतारोही तथा स्वदेशी एवम् विदेशी पर्यटन व्यवसायी, त्यसमा पनि पर्वतारोहणसम्बन्धी व्यापार–व्यवसाय गरिरहेका टा्रभल तथा टे«किङ एजेन्सीका सञ्चालक, सबै मिलेर सकेसम्म सगरमाथा हिमाल बचाउन, नभए पनि सगरमाथाको आयु अलि लामो समयसम्म तन्काउनका लागि के गर्न सकिन्छ, सो सम्बन्धमा हामी सबै मिलेर काम गर्न सुरु गरिहाल्नुपर्ने देखिन्छ। अन्यथा सगरमाथाको अस्तित्व नै रहेन भने नेपाल सरकार, स्वदेशी तथा विदेशी पर्वतारोही कम्पनी तथा हिमाल आरोहीहरूलाई साथ दिन र भरथेग गर्न जाने सहयोगीहरू जस्तो कि सरदार, गाइड–शेर्पा, किचेन ब्वाइ, पोस्ट म्यान, एल्टिच्युड पोर्टर, कुक, सम्पर्क अधिकृत आदिले कहाँबाट आम्दानी गर्ने ?

प्रतिक्रिया दिनुहोस्