आरोही कामीरिता ३०औं पटक सगरमाथाको चुचुरोमा

काठमाडौं– आरोही कामीरिता शेर्पाले ३०औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पाले बुधबार बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथा चुचुरोमा पुगेसँगै आफ्नै रेर्कड तोड्दै नयाँ कीर्तिमानी बनाएका हुन् । यसअघि कामीरिताले आफैंले बनाएको २८औं कीर्तिमान ब्रेक गरेर जारी सिजनको वैशाख ३० गते बिहान ७ः२५ बजे सगरमाथा शिखरमा २९औं पटक सफल आरोहणको रेर्कड कायम गरेका थिए ।
आरोहण गरेको ११ दिनमा नै अर्काे नयाँ रेर्कड बनाउँदै आरोही शेर्पा ३०औं पटक सगरमाथा चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक आरोहीको बन्न सफल भएका छन् । कामरिताले २०८० जेठ ९ गते बिहान ९ बजेर २३ मिनेटमा २८औं पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका थिए । गत वर्ष जेठ ३ गते उनले २७औं पटक सगरमाथा आरोहणको विश्व कीर्तिमानको रेकर्ड बनाएका थिए ।
शेर्पाले यसअघि २०७९ वैशाख २४ गते २७औं पटक सगरमाथाको आरोहण गरे भने २०७८ वैशाख २४ गते २५औं पटक सफल आरोहण गरेर सबैभन्दा बढी सगरमाथा आरोहणको विश्व कीर्तिमान बनाएका थिए । ५४ वर्षिया कामीरीताले सन् १९९४ देखि २०२४ सम्म ३० पटक सगरमाथा, के–२ र ल्होत्सेले एक–एक पटक, मनास्लुले तीन पटक र चो ओयु आठ पटक आरोहण पूरा गरेका छन् ।
पर्यटन विभागका अनुसार जारी सिजनको बसन्तयाममा कामीरिताले विदेशी समूहको नेतृत्व गर्दै वरिष्ठ हाई अल्टिच्युड माउन्टेन गाइडका रूपमा २९ र ३०औं पटक सगरमाथा आरोहण गरेका हुन् । बुधबार बिहान ७ बजेर ४९ मिनेटमा कामीरिताले चुचुरो चुमेपछि ३०औं पटक सगरमाथा आरोहणको कीर्तिमानी कामय गरेको लुक्लामा रहेका सभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कारोबारलाई टेलिफोनमा बताए । उनले भने, ‘५४ वर्षिया कामीरिताले सन् १९९४ देखि २०२४ सम्म ३० पटक सगरमाथाको सफल आरोहण पुरा गरेका छन् ।’
उनका अनुसार कामीरिताले जारी सिजनमा सेभेन समिट र फोर्टिन पिक्स एक्सपिडिसन गरी दुई कम्पनीका सगरमाथा आरोहीको संयोजन तथा नेतृत्व सम्हालेका थिए । पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलमा अनुसार नयाँ कीर्तिमान बनाएका शेर्पाको आधिकारीक पुष्टी गर्न भने बाँकी छ । उनले भने, ‘आधार शिविर कार्यालयबाट सुन्नमा आएको छ । तर आधिकारी पुष्टि गर्न बाँकी छ । थप जानकारी प्राप्त हुन साथ विभागले प्रेस विज्ञप्ति नै जारी गर्ने छ ।’
बसन्तयामको सगरमाथा आरोहणका लागि ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम ३० गते बैशाख जारी सिजनमा आरोहणको लागि शेर्पासहितको १० जनाको टोलीले सगरमाथामा रोप फिक्सिङ (डोरी टाँगेर) बाटो बनाउँदै यस वर्षको पहिलो आरोहणको बाटो खुलाएको थियो । १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमानसमेत रहेको छ ।
सन् २०२० मै शेर्पाले २५औं पटकको आरोहणको तयारी गरेपनि कोरोना संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको लकडाउनका कारण सबै हिमाल आरोहण रोकिएकाले उनले सन् २०२१ मा कीतिमानी पूरा गरेका थिए । सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका कामीरिताले १९९८ मा पहिलो पटक गाइडकै रुपमा सगरमाथा आरोहण गरेका थिए । सन् २००९, २०१० र २०१३ मा उनले एकै सिजनमा तीन पटकसम्म सगरमाथा शिखरमा टेकेका थिए ।
सोलुखुम्बुको थामेका स्थानीय शेर्पाको १९७० जनवरी २ मा जन्मिएका थिए । सेभेन समिट ट्रेकमा सिनियर गाईडका रूपमा कार्यरत नेपालको सोलुखुम्बुको थामे गाउँका कामीरिता शेर्पाले आफ्नो जीवन पर्वतारोहणमा समर्पित गरेका छन् । उनले दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आएका छन् । उनको पर्वतारोहण यात्रा सन् १९९२ मा सगरमाथा आरोहण अभियानमा सपोर्ट स्टाफ सदस्यको रूपमा सुरु गरेका थिए ।