५१ करोडका सामान बरामद

बारा– भन्सार कर्मचारी र सीमाका सशस्त्र प्रहरी बेखबर बनेपछि बारा प्रहरीले तस्करीमा संलग्न ५१ करोड बढीको सामान पक्राउ गरेको छ । ८०१ व्यक्तिबाट उक्त सामान पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कलैयाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म जितपुर, सिमरा, निजगढ, पथलैया, अमलेखगंजलगायतका स्थानहरूबाट देशका विभिन्न भागमा तस्करी हुँदै गरेको अवस्थामा उक्त रकमको सामान र व्यक्तिहरू पक्राउ गरेको हो । प्रहरीले २ करोड ६८ लाख रुपैयाँको किराना सामान, २ करोड ५ लाख रुपैयाँका विद्युतीय सामान, ८ करोड ११ लाख रुपैयाँबराबरको ६८ ट्रक, १९ पिकअप, ३७ मोटरसाइकल र ७ वटा साइकल पक्राउ गरेको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।
उनले ३८ करोड २६ लाख रुपैयाँका तस्करी भै आएका अन्य थप सामान र संलग्न ८०१ जना पक्राउ गरी १ हजार ९४ मुद्दा दर्ता गरेको जानकारी दिए । नाकामा तस्करी रोक्न भन्सार कर्मचारीसँगै सशस्त्र प्रहरी परिचालन हुने गरे पनि तस्करहरूले नाका छलेर ल्याएको ठूलो परिमाणमा तस्करीका सामानहरू जिल्लाका विभिन्न भागमा प्रहरीले बरामद गर्ने थालेपछि त्यहाँ खटिने भन्सारका कर्मचारी र सशस्त्रका सुरक्षाकर्मीमाथि नै प्रश्न उठ्न थालेको छ ।
उद्योग वाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साहले पछिल्लो समय अवैध तरीकाले भित्रिने सामानको असरले स्थानीय बजारमा राजस्व तिरेर वैध व्यापार गर्नेहरू नै सकसमा परेको बताए । भारतीय सबै खाले वस्तु नेपाल भित्र १० देखि १५ प्रतिशत मुल्य अन्तरमा किनबेच नभएसम्म खुला सीमामा तस्करी चलिरहने साहको भनाइ छ । स्थानीय बजारमै तस्करी भै आएका सामान बिक्री गर्न दबदबा बढेपछि राजस्व तिरेर व्यापार गर्नेबीच मूल्य अन्तर हुँदा कतिपय व्यावसायीले व्यापार छाडने क्रम तीव्र बनेको संघले जनाएको छ ।
गत महिना वीरगन्ज उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी गृहमन्त्री रबि लामिछानेलाई बारा, पर्साको सीमामा हुने तस्करी कडाई गर्न अनुरोध गरेका थियो । गृहमन्त्री लामीछानेले तत्काल रोक्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भारतीय सीमामै बसोबास गरेर नेपालमा तस्करी गर्ने तस्करहरूले जिल्लाको सहर, बजारमा भारयीय मूल्यमा १० प्रतिशत रकम थप गरी भारतमा उत्पादन भएका खाद्यान्न लत्ताकपडा, साना ठूला सवारीका मोर्टर्स पार्टस, टायर, मल, खाद्य सामग्री सानो परिमाणमा पटक– पटक गरेर सोझै व्यावसायिक स्थलमै पुर्याइदिने गरेको छ ।
प्रहरीका अनुसार तस्करहरूले सीमावर्ती क्षेत्रका स्थानीयकै घरलाई प्रयोग गर्दैं उनीहरूलाई ओसार–पसारमा सहभागी बनाइ साना, ठूला सवारी तथा निजी सवारी साधनबाट तस्करी गराउने गरेको जिल्ला प्रहरीले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । सीमावर्ती क्षेत्रमा खटिने सशस्त्र प्रहरीका अधिकृत, भन्सार कर्मचारीकै मिलेमतोमा दैनिक करोडौको सामान तस्करी हुने गरेको बारा प्रहरीले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पक्राउ गरेका अवैध सामानको परिणाम अत्यन्तै न्युन देखिएको छ भने जिल्लामा सञ्चालित दुई छोटी भन्सारको राजस्व कमजोर रहेको छ ।