Logo

घरजग्गा कारोबारमा राष्ट्र बैंकको नीति

सरकार र राष्ट्र बैंकले घरजग्गा कारोबारलाई गति दिन विभिन्न नीतिगत व्यवस्थाबाट प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन । दुई वर्षदेखि सुस्त रहेको घरजग्गा कारोबार महसुस हुने गरी बढ्न सकेको छैन । बरु उल्टो घरजग्गाको मूल्य ठाउँ र क्षेत्रअनुसार ३० प्रतिशतसम्म कम भएको छ । काठमाडौं उपत्यकामै घरजग्गाको भाउमा गिरावट आएको छ । चालु आर्थिक वर्षको १० महिनासम्मको घरजग्गा कारोबार र त्यसबाट उठ्ने राजस्वलाई हेर्दा पनि कारोबार बढ्न नसकेको प्रस्ट हुन्छ ।

यो वर्षको वैशाखसम्ममा मुलुकभर घरजग्गाको ११ लाख ९३ हजारवटा लिखत पास (कारोबार) भएका छन् । यो कारोबारबाट ३३ अर्ब १ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यसलाई गत वर्षसँग तुलना गर्दा यो वर्ष ३१ करोड मात्र राजस्व बढेको छ । गत वर्ष वैशाखसम्म घरजग्गा कारोबारबाट ३२ अर्ब ७० करोड रुपैयाँ राजस्व असुली भएको थियो । यो वर्ष घरजग्गाको कारोबार संख्या भने ६१ हजारले बढेको देखिन्छ । गत वर्ष घरजग्गा कारोबारमा देखिएको मन्दी यो वर्षमा सुधार हुने अपेक्षा गरिएको थियो ।

सरकारले विगतमा रोकेको जग्गाको कित्ताकाटलाई खुला गरेको थियो । राष्ट्र बैंकले पनि घरजग्गा कारोबार बढाउन सहयोग पुग्ने गरी केही नीतिगत व्यवस्था गरेको थियो । मौद्रिक नीतिको प्रत्येक पटकको समीक्षामा घरजग्गा कारोबारमा जाने कर्जा प्रवाह बढाएर यो क्षेत्रलाई चलायमान बनाउने प्रयास राष्ट्र बैंकको देखिन्छ । केही दिनअघि आएको तेस्रो समीक्षामा पनि घरजग्गा कारोबारलाई सहयोग पुग्ने गरी कार्यक्रम ल्याइएको छ । अर्थतन्त्र र घरजग्गा कारोबारको गति सँगसँगै हिँड्छन् भन्ने मान्यता छ ।

त्यही कारण अर्थतन्त्र सुस्त बन्दा घरजग्गा कारोबारमा पनि मन्दी आउने गर्छ भने अर्थतन्त्र चलायमान हुँदा घरजग्गा कारोबार पनि बढ्ने गर्छ । केही अपवाद होला, तर यो संसारकै नियम हो । नेपालमा पनि अर्थतन्त्र र घरजग्गा कारोबारको गति यस्तै भएका अनेकौं उदाहरण छन् । कोभिड महामारीमा थलिएको मुलुकको अर्थतन्त्रले अझै लय समात्न सकेको छैन । निजी क्षेत्र निराश भएर खुम्चिएर बसेको छ । लगानी थप गर्ने जाँगर ऊसँग छैन । बजारमा माग नभएकाले आन्तरिक उत्पादन र बिक्री दुवै बढ्न सकेको छैन ।

यो वर्ष मुलुकको बाह्य क्षेत्र मजबुत भएको छ, तर आन्तरिक पक्ष समस्यामै छ । अर्थतन्त्रमा सुधार नआएसम्म घरजग्गा कारोबार पनि सुध्रिनेछैन । अर्थतन्त्रमा कहिलेदेखि सुधार आउँछ, कसैले अनुमानसम्म गर्न सकेका छैनन् । त्यसैले घरजग्गा कारोबार र यसबाट राजस्वमा देखिएको सुधार पनि कहिले आउला, यसै भन्न सकिने अवस्था छैन । निजी क्षेत्रको संस्था नेपाल जग्गा तथा आवास विकास महासंघको दाबीअनुसार अहिलेसम्म घरजग्गा (रियल इस्टेट) मा ५ खर्बभन्दा बढी लगानी पुगेको छ ।

घरजग्गाको कारोबारमा सुधार नआउनु भनेको ५ खर्ब रुपैयाँको लगानी अलपत्र पर्नु हो । घरजग्गामा ठूलो पुँजी फसेका कारण नै अहिले अर्थतन्त्र सुस्त भएको मानिएको छ । सर्वसाधारणदेखि उद्योगी–व्यवसायीसम्मले घरजग्गामा खर्बाैं रुपैयाँ लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रत्यक्ष–अप्रत्यक्ष रूपमा यो क्षेत्रमा अर्बौ रुपैयाँ कर्जा गएको छ । कतिपय उद्योगी–व्यवसायीले चालु पुँजी कर्जाका नाममा लिएको रकम घरजग्गामा हालेका छन् । तर, घरजग्गाको किनबेच सुस्त छ ।

किनबेच नबढेपछि त्यसको असर मूल्यमा परेको छ । कारोबार र मूल्य दुवै नबढ्दा कर्जा लिएर यो क्षेत्रमा लगानी गरेका अधिकांश समस्यामा फसेका छन् । अहिलेको अवस्थामा घरजग्गामा गरिएको लगानी क्रमशः जोखिम बन्दै गएको छ । यो क्षेत्रमा लगानी गर्न कर्जा लिएकाहरूले साँवा र ब्याज तिर्न सकेका छैनन् । त्यही कारण दिनहुँ पत्रपत्रिकामा धितो लिलामीका सूचनाहरू थपिँदै गएका छन् । कारोबारमा सुधार आए घरजग्गाको मूल्य स्वतः बढ्ने हुँदा बैंकको लगानीमा जोखिम कम हुनेछ । सुस्त घरजग्गा कारोबार, यसमा फसेको पुँजी र त्यसले पारेको असरबारे केन्द्रीय बैंक जानकार छ ।

त्यही कारण यो क्षेत्रलाई चलायमान बनाउने मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई परिवर्तन गरिएको छ । अब कर चुक्ता प्रमाण पेस गरेका आधारमा कर्जा पाउने सीमा ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिएको छ । यो व्यवस्था व्यक्तिगत घर कर्जा प्रयोग गर्नेको हकमा लागू हुनेछ । यसले आम्दानी नबढे पनि ऋण लिन पाउने सुविधा बढाएको छ । राष्ट्र बैंकको यो प्रयास आगामी दिनमा सफल नभए अवस्था झनै बिग्रनेछ ।

प्रतिक्रिया दिनुहोस्