युवा पलायनले अर्थतन्त्र असुरक्षित

पढाइ सकेपछि विद्यार्थीहरूले विद्यालय र विश्वविद्यालय छाड्छन् । त्यसपछि देशमा रोजगारी वा अन्य केही गरिखाने उपाय नदेखेपछि निराश भएर देशै छाड्छन् । समकालीन नेपालको अर्थ–सामाजिक र राजनीतिक अवस्थाको परिदृश्य यस्तै नै छ । राजनीतिक नेतृत्वको अदूरदर्शिता र सरकारको अकर्मण्यताका कारण रङ्गीन सपना देख्ने युवाले देशमा आफ्नो भविष्य देखेकै छैनन् । उनीहरूले आशाको उज्यालो किरण कतै देखेकै छैनन् । सर्वत्र निराशामात्रै छ । देशले पनि त्यस्ता महत्वाकांक्षी युवामा आशा र भरोसा जगाउनै सकेको छैन । विशेष गरी देशको विसङ्गतियुक्त राजनीतिका कारण अधिकांश युवाको मनमा निराशा छाएको छ । देशको हरेक क्षेत्रमा राजनीतिको प्रभाव हाबी छ । तर, राजनीति विकृत भइदिँदा देशको सबै क्षेत्रमा बेथिति मौलाएको छ । जसले युवाको मनमा निराशा उत्पन्न गराएको छ, अनि त्यही निराशाका कारण आशा, भरोसा र सपनाको खोजीमा देशबाट बर्सेनि ठूलो संख्यामा नेपाली युवा बिदेसिइरहेका छन् ।
देशको वर्तमान आर्थिक, सामाजिक र राजनीतिक अवस्थाको मूल्यांकन गर्दै देशमा आफ्नो भविष्य नदेखेर भर्खर प्लस टु सकेका किशोरकिशोरीदेखि ऊर्जाशील युवासम्मले विदेश जानका लागि तँछाडमछाड नै गरिरहेको यथार्थबाट कोही अनभिज्ञ छैनन् । घरका अभिभावकले पनि बिदेसिन लालायित आफ्ना छोराछोरीलाई स्वदेशमै बस र केही गर भनेर सम्झाउने कुनै उपाय नै देखेका छैनन् । त्यसैले बिदेसिन लालायित छोराछोरीसामु अभिभावकहरू किंकर्तव्यविमूढ छन् । देशैभरिबाट विद्यार्थी र कामदारका रूपमा सबै युवा बिदेसिन थालेपछि देश युवाविहीन बन्ने हो कि भनेर सार्वजनिक चिन्ता पनि व्यक्त हुँदै आएको छ ।
नेपालको जनसांख्यिक संरचनालाई हेर्ने हो भने युवा जनसंख्या अत्यधिक छ । यही अत्यधिक युवा जनसंख्याका कारण प्राप्त हुने जनसांख्यिक लाभ भने अरू नै देशले प्राप्त गरिरहेका छन् । किनभने नेपालका अधिकांश युवा विदेशमै छन् । युवा जनशक्तिको अभावको देशको आर्थिक क्रियाकलाप नै प्रभावित छ । सबैभन्दा बढी प्रभावित क्षेत्र हो कृषि । कृषिमा अत्यधिक जनशक्तिलाई ग्रहण गर्ने क्षमता हुँदाहुँदै पनि कृषिप्रतिको विकर्षण र युवा पलायनले गर्दा देशको अर्थतन्त्रमा सर्वाधिक योगदान गर्ने कृषिक्षेत्र नै उपेक्षित हुँदै छ । यसका साथै अन्य क्षेत्रमा पनि आवश्यक जनशक्तिको अभाव निरन्तर खट्किरहेकै छ । देशमा बेरोजगारीका कारणले मात्रै युवा विदेश पलायन भएका होइनन् । मुख्य कारण त देशमा बस्दा आफ्नो भविष्य सुरक्षित छैन भन्ने सोच नै हो । युवामनमा यस्तो सोच आउनुको मूल कारण राजनीतिक बेथिति नै हो । एजुकेसन कन्सल्टेन्सीदेखि म्यानपावर कम्पनीसम्म र एम्बेसीदेखि एयरपोर्टसम्म विदेश जानका लागि धाइरहेका युवाको लर्कनले देशमा विद्यमान बेथितिहरूको कहालीलाग्दो अवस्था झल्काइरहेको महसुस हुन्छ ।
रोजगारीका लागि गएकाहरूले त विदेशमा काम गरुन्जेल कमाएर पठाउँछन् । स्वदेश फर्कंदा पनि केही कमाइ लिएरै फर्कन्छन् । विदेशको कमाइले घर–व्यवहार चलाउँछन् र देशको अर्थतन्त्र चलाउन पनि सघाउँछन् । तर, अध्ययनका लागि जाने विद्यार्थीहरूले स्वदेशबाट लाखौँ रुपैयाँ लिएर जान्छन् । विदेशमा अध्ययन गरुन्जेल पनि स्वदेशबाटै पैसा मगाउँछन् । तर जब कमाउन थाल्छन्, त्यो कमाइ विदेशमै राख्छन्, स्वदेशमा पठाउँदैनन् र आफू स्वयं पनि स्वदेश फर्किंदैनन् । यसरी सधैँका लागि देश छाड्नेहरूका कारण देशको अर्थतन्त्र र सामाजिक संरचनामा दूरगामी असर परिरहेको छ । दोष देश छाड्नेहरूको होइन, देश छाड्न बाध्य पार्नेहरूको हो ।
देशमा रोजगारीको अवसर पर्याप्त छैन । रोजगारी सिर्जना गर्ने आर्थिक क्रियाकलापहरू विभिन्न कारणले प्रभावित छन् । उद्योगी–व्यवसायीहरू निराश छन् । लगानीको वातावरण छैन । पटक–पटक लगानी सम्मेलन गर्दा पनि अपेक्षित रूपमा लगानी प्रवद्र्धन हुन सकेको छैन । भर्खरै सम्पन्न तेस्रो संस्करणको लगानी सम्मेलनमा पनि अपेक्षित लगानी प्रतिबद्धता आउन सकेन । लगानी प्रवद्र्धन हुन नसक्दा थप रोजगारी सिर्जना हुन सकेको छैन । राज्यले अँगालेका आर्थिक नीतिहरूले लगानीकर्ता र व्यवसायीहरूको हौसला बढाउन सकेको छैन । राजनीतिक स्थायित्वको अभाव र अस्थिर आर्थिक नीतिहरूले गर्दा लगानीकर्ता र व्यवसायीहरू सधैँ निराश छन् । त्यो निराशाको परिणाम देशका ऊर्जावान् युवाले भोग्नुपरेको छ र उनीहरू थप निराश हुन विवश छन् ।
निश्चित तहको शैक्षिक योग्यता हासिल गरेको खुसीमा ठूलो उत्साह र उमङ्गका साथ श्रमबजारमा प्रवेश गरेर रोजगारीको अवसर खोज्ने युवा जमात त्यही रोजगारीको अवसर नपाएर निराश भइरहेका छन् । उनीहरूको मनबाट राज्यप्रतिको भरोसा पनि उठेको छ । अनि त्यही निराशाले डोर्याएका धेरै युवा अवसरको खोजीमा बिदेसिन लालायित हुन् । तेस्रो नेपाल श्रमशक्ति सर्वेक्षण, २०७४–७५ ले बेरोजगारी दर ११.४ प्रतिशत रहेको देखाएको छ । यही बेरोजगारीको पीडाले रन्थनिएका युवाले जीवनको गतिलाई सहज यात्रामा डोर्याउन र आफ्ना केही सपना पूरा गर्न तथा जीवनका लक्ष्य हासिल गर्न अवसर र अझ राम्रो अवसरको खोजीमा धमाधम देश छाड्दै छन् । यसरी जुन गतिमा युवाले देश छाड्दै छन् अथवा योग्य र सक्षम युवाले देश छाड्ने प्रवृत्ति जुन गतिमा बढिरहेको छ, त्यसले देशको अर्थतन्त्र मात्रै असुरक्षित बनेको छैन, देशको भविष्य नै अन्धकारतर्फ धकेलिने सङ्केत पनि गरिरहेको छ ।
देशमा सेवाभन्दा स्वार्थको राजनीति हाबी छ । व्यक्तिगत र दलगत स्वार्थपूर्तिका लागि जस्तोसुकै सम्झौता गर्ने परिपाटीले मूलधारको राजनीति नै गलत दिशामा अघि बढिरहेको आभास हुन्छ । यसरी गलत दिशामा हिँडेको राजनीतिले देशलाई अधोगतितर्फ डोर्याइरहेको छ । राजनीतिक नेतृत्व स्वार्थले परिचालित भइदिँदा त्यसको प्रभाव अन्य क्षेत्रमा परेको छ । राजनीतिक नेतृत्वले गलत मार्ग अवलम्बन गर्दा र तिनको दबाब र प्रभावमा परेर देशको कर्मचारी प्रशासन र न्याय प्रशासनसमेत सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउनमा भन्दा आफ्नो व्यक्तिगत स्वार्थपूर्तिमा दत्तचित्त भएर लागेकाले सर्वत्र असन्तुष्टि, निराशा र आक्रोशमात्रै बढेको अवस्था छ ।
मूलतः देशको राजनीतिमा व्याप्त बेथितिको प्रभाव अरू सबै क्षेत्रमा परेको छ र सबै क्षेत्रमा बेथिति व्याप्त छ । यस्तै बेथितिका भुक्तभोगी र यस्तै बेथितिबाट प्रताडित युवाका मनमा यो देशमा बसेर केही हुँदैन भन्ने निराशाजनक भावना र उस्तै अवधारणाको विकास भइरहेको छ । अनि यस्तै युवाले सधैंका लागि देश छाड्दै छन् । अध्यागमन विभागको एक तथ्याङ्कअनुसार सन् २०२३ मा कुल १६ लाख ३ हजार ८ सय ३६ नेपाली विभिन्न उद्देश्यले बिदेसिएका छन् । जसमध्ये ७० हजार ९ सय १५ जनाले सधैँका लागि देश छाडेका छन् । युवामा व्याप्त निराशा चिर्न र देशप्रति भरोसा जगाउन राज्यसंयन्त्र पूर्ण रूपमा असफल बन्दै आउनुको परिणाम हो, युवाको विदेश पलायन ।
समस्या नेपालीले सधैँका लागि देश छाड्नुमात्रै होइन, कस्ता नेपालीले देश छाड्दै छन् र कति नेपालीले देश छाड्दै छन् भन्ने प्रश्न अहम् हो । लरतरा र कमजोर नेपालीले देश छाडेका छैनन् । सस्तो मूल्यमा आफ्नो श्रम बेचेर पनि त्यस्ता नेपाली स्वदेशमै सङ्घर्ष गर्न अभिशप्त छन् र गरिबीले पिल्सिएर सङ्घर्षै सङ्घर्षमा बाँचिरहेका छन् । बरु सक्षम र योग्य नेपालीले नै सधैँका लागि देश छाड्दै छन् । हो, यही कारणले देशको अर्थतन्त्र असुरक्षित बन्दै छ ।
बसाइँ सर्ने अथवा अवसरको खोजीमा हिँड्ने क्रम देशभित्रै मात्र सीमित नभएर विदेशसम्म पुग्नुको परिणाम हो, बिदेसिने नेपालीको संख्यामा भएको वृद्धि । अदक्ष, अर्धदक्ष, दक्ष, व्यावसायिक र उच्च दक्षता भएका जनशक्ति अवसरको खोजीमा बिदेसिने गरेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९÷८० मा मात्रै २६.२६ प्रतिशत अदक्ष, ७.८५ प्रतिशत अर्धदक्ष, ६५.६९ प्रतिशत दक्ष, ०.१४ प्रतिशत व्यावसायिक र ०.०३ प्रतिशत उच्च दक्ष जनशक्ति रोजगारीका लागि बिदेसिएका छन् ।
अदक्ष र अर्धदक्षभन्दा दक्ष, उच्च दक्ष र व्यावसायिक जनशक्ति बिदेसिनु चिन्ताको विषय हो, जुन जनशक्ति देशको विकासका लागि अति आवश्यक छ । पछिल्लो समय डाक्टर, नर्स, इन्जिनियर, सूचना प्रविधि विज्ञ र अन्य विषयविज्ञलगायतका दक्ष, उच्च दक्ष र व्यावसायिक जनशक्ति बिदेसिने क्रम बढेको छ । यो प्रवृत्तिले देश विकासको कार्य नै प्रभावित हुन सक्ने सम्भावना पनि बढेको छ । देश विकासका लागि प्राविधिक र प्रशासनिक दुवै किसिमका जनशक्तिको आवश्यकता पर्छ । यसमध्ये पनि प्राविधिक जनशक्तिको आवश्यकता अझ धेरै हुन्छ । तर, हाल प्राविधिक जनशक्ति नै धेरै बिदेसिइरहेकाले देश विकासको कार्य नै प्रभावित भइरहेको छ ।
हरेक खालको जनशक्ति उत्पादनमा राज्यको लगानी छ । उत्पादित जनशक्ति बिदेसिँदा राज्यको लगानी खेर गएको छ र प्रतिफल पाउनबाट वञ्चित हुनुपरेको छ । जनशक्ति पलायनले देशको लगानी र प्रतिफलसँगसँगै सेवाग्राहीले पाउनुपर्ने सरल र सहज सेवा प्रवाह पनि प्रभावित भएको छ । देश विकास र समृद्धिको यात्रा पनि प्रभावित भएको छ, जसले गर्दा नेपालकै जस्तो अर्थ–सामाजिक अवस्था भोगेका अरू धेरै देश विकासशील र विकसित देशमा स्तरोन्नति भइसक्दा पनि हामीचाहिँ अझै पनि विकासशील देशमा स्तरोन्नति हुन पनि सन् २०२६ को भाखा पर्खिरहेका छौं । आखिर नेपालका युवा जनशक्ति देशमा बस्नै नचाहने परिस्थिति कसरी सिर्जना भयो ? अथवा युवा जनशक्ति देशमा टिक्नै नसक्ने परिस्थिति कसरी सिर्जना भयो ? यसमा कसको बढी दोष छ ? यसबारेमा गम्भीरतापूर्वक सोच्नु आवश्यक भइसकेको छ ।