Logo

विकासका नवीन आयाम

सामान्य अर्थमा सकारात्मक परिवर्तनलाई विकास भनेर बुझ्न सकिन्छ । तर, विकासको परिभाषा गर्न भने त्यति सजिलो छैन । हरेकको विज्ञता र क्षेत्रका आधारमा विकासप्रतिको बुझाइ, परिभाषा, व्याख्या, विश्लेषण र अनुभूति फरक–फरक हुने गर्छन् । राजनीतिज्ञले राजनीतिक उदारतालाई विकास मान्छ भने अर्थशास्त्रीले आर्थिक सम्पन्नतालाई विकास ठान्छ । पूर्वाधारविद्ले ठूलाठूला पूर्वाधारबिना विकासको सम्भावना नै देख्दैन, प्राविधिज्ञले हरेक कुरालाई डिजिटल संसारसँग नजोडेसम्म विकास नै भन्दैन । इतिहास, दर्शन र साहित्यले मानव सभ्यताको विकाससँग जोड्दै मानव चेतनाको स्तरवृद्धि हुनुलाई विकास मान्ला, मानव अधिकारको दृष्टिले सबै व्यक्तिका सबै अधिकार सुनिश्चित हुनुलाई विकासको रूपमा अथ्र्याउला ।

विकास समाज सापेक्षित विषय हो । आधुनिक युगमा समाजको नेतृत्व राजनीतिले गर्ने भएकाले राजनीति विकासको पहिलो पाइला अवश्य हो । राजनीतिक उपलब्धिका कारण बनेका अधिकारसम्पन्न संविधान, कानुन, नीति, निर्वाचन प्रणाली र चुनावी स्वार्थवश नै किन नहोस्, राजनीतिक नेतृत्वको पहलबाट भएका विकास निर्माणका सवाललाई सकारात्मक मान्नुपर्छ । तर, नेपालको राजनीतिक नेतृत्वले जनतालाई भ्रममा पार्न खोजेजस्तो राजनीति नै सबै कुरा भन्नेचाहिँ होइन ।

विकासको बहस आधारभूत आवश्यकताको परिपूर्तिसँग पनि जोडिन्छ । तर, आधारभूत आवश्यकता र विकास अलि फरक कुरा हुन् । आधारभूत आवश्यकता अति न्यूनतम पूर्तिमा चित्त बुझाउने कुरासँग सम्बन्धित छ भने विकास भनेको अधिकतम इच्छाको सम्बोधन हो । हुन त आधारभूत आवश्यकता पनि सबैका लागि एउटै हुँदैन । गाँस, बास, कपास नै आधारभूत आवश्यकता हो भन्ने परम्परागत बुझाइ आजको सन्दर्भमा सान्दर्भिक छैन । शिक्षा, स्वास्थ्य, यातायात हुँदै राजनीतिक अधिकार, सामाजिक, सांस्कृतिक अधिकारदेखि मनोरञ्जनका विषयसमेत अब मानिसका आधारभूत आवश्यकता भइसकेका छन् ।

विकास समसामयिक विषय हो । कुनै समय जंगल फाँडेर खेतीयोग्य जमिन बनाउनु वा बस्ती बसाल्नुलाई पनि विकास मानियो होला । विकासका नाममा ढिस्काहरू भत्काएर फुटबल मैदान बनाइयो होला । तराईका घनाबस्ती भएका कतिपय सहर विगतमा जंगल फाँडिएर बस्ती बसालिएका परिणाम हुन् । तर आज त्यही काम गरियो भने अब विकास मानिँदैन, विनाश मानिन्छ । प्रकृतिको असीमित दोहन गरेर गरिएका विकास निर्माणका काममा प्रश्नचिह्न खडा भएको छ । आधुनिक शैलीका विकासले पनि प्रत्यक्ष परोक्ष रूपमा प्रकृतिमाथि असर त पारेकै छ ।

समसामयिक सन्दर्भमा नेपालको विकासबारेमा ध्यान दिनुपर्ने केही ज्वलन्त सवाल छन् । विकासका नवीन आयामलाई आत्मसात् गर्ने हो भने ठूलाभन्दा सानासाना कुराको व्यवस्थापनमा ध्यान जानु आवश्यक छ । जस्तैः

– सहरमा गाडी गुड्ने बाटो ठूलो गर्ने लहर चलेको छ । बाटो फराक गर्ने नाममा कतिका घर–कम्पाउन्ड भत्काइएका छन्, कतिका टुक्रे जग्गा अझ साना पारिएका छन्, चोकहरू मासिएका छन्, सार्वजनिक जग्गा सखाप पारिएका छन्, साँगुरा सडकपेटी अझ साँगुरा पारिएका छन् । बाटो ठूलो हुनु राम्रो हो, तर पैदलयात्री हिँड्ने पेटीसमेत मासेर मोटर गुड्ने बाटो बढाउनु कति जायज हो ? गुड्नेले भन्दा पैदल हिँड्नेले प्राथमिकता पाउनु अन्तर्राष्ट्रिय मान्यता हो । विश्वका ठूला सहरमा मोटर गुड्ने सडकभन्दा चोकहरू ठूलाठूला हुन्छन् । सडकपेटी फराकिला हुन्छन्, पैदलयात्रीलाई छोटो विश्राम गर्न मिल्ने गरी सडकपेटीमै विश्रामस्थल बनाइएका हुन्छन् । तर, नेपालमा भने कुनै समय बनाइएको विश्रामस्थलसमेत भत्काएर मोटर गुड्ने सडक बढाइन्छन् ।

– सहरवासीलाई जहाँ पनि गाडी कुद्ने बाटो बनाउनु पर्‍या छ । साँगुरा गल्ली, भिराला पाखा, घनाबस्ती, पर्यटकीय क्षेत्र जता पनि चारपाङ्ग्रे गुडाउनैपर्ने साँगुरो चिन्तनबाट सहरिया मान्छे ग्रसित छ । गाडीलाई विकास र सम्पन्नताको पहिलो सर्त मान्ने पुस्ता देखिँदै छ । यो वास्तविक विकास होइन । बरु हाम्रो मौलिकतामाथिको अतिक्रमण हो । पूर्ण सहर त यस्तो होस्, कतै गाडी गुडून्, कतै गाडी निषेधित क्षेत्र पनि हुन्, कतै साइकल मात्र चलून, कतै पैदलयात्रीले मात्र प्रवेश पाऊन्, उकालो बाटोमा कलात्मक सिँढी हुन्, चोकहरूमा विश्रामस्थल बनून् । हाम्रो आफ्नै मौलिक शैलीको विकास न विकास हो । नेपालबाहेक संसारका कुनै पनि मुलुकले विकासका नाममा आफ्नो मौलिकता गुमाएको छैन ।

– वातावरणको संरक्षण त पछिल्लो समय विकासमा जोडिने नै भयो । अब यसमा थप गर्नुपर्ने के छ भने वातावरण र प्राकृतिक स्रोत मानिसको भावी पुस्ताका लागि मात्र होइन, पशुपन्छीका लागि समेत संरक्षण हुनुपर्छ । पृथ्वीमाथि कुनै पनि प्राणीको एकल अधिकार हुन सक्तैन । हामी पृथ्वीका मालिक होइनौँ, बरु हामी पृथ्वीबाट आश्रित र पालित हौँ । यो धर्तीमा आश्रित हुने जति मानिसको अधिकार हो त्यति नै पशुपन्छीको पनि हो । आश्रयस्थललाई अतिक्रमण नगर्नुचाहिँ सम्पूर्ण प्राणीको धर्म हो । मानिसबाहेक कुनै प्राणीले प्रकृतिको दोहन गर्दैन, मात्र प्रयोग गर्छ । मानिसले पनि दोहन नगरोस्, मात्र प्रयोग गरोस् ।

– सबैको सन्तुष्टि र सन्तुलन विकासको अर्को महत्वपूर्ण पाटो हो । एकातिर वातावरण सन्तुलनको कुरा छ, अर्कातिर जनताले प्राप्त गर्नुपर्ने सन्तुष्टि छ । विकासको नाममा कसैको उठिबास हुनु हुँदैन । महानगरपालिकाले नगर सफा राख्ने नाममा सडकमा गरिखानेहरूको रोजीरोटी खोसिनु, ठूला विकास निर्माणका कार्य गर्दा बस्तीहरू नै विस्थापित हुनु र उद्योगधन्दाबाट निस्कने फोहोर धूवाँ र धूलोले स्थानीयको जनजीवनमा प्रभाव पारिनुजस्ता कार्यले विकासमा सन्तुलनको सिद्धान्तमाथि चुनौती खडा गरेको छ । केही मान्छे विकास कार्यबाट लाभान्वित भइरहँदा अर्को समूह प्रभावित हुनु हुँदैन ।

– विकास आवश्यकतामा आधारित हुनुपर्छ । समानुपातिक विकास हुनुपर्छ । देशभित्र कतिपय ठाउँमा आवश्यकताभन्दा बढी विकास निर्माणमा काम हुने र कतिपय स्थानमा न्यूनतम कुरा पनि नहुने असन्तुलित विकासको ढाँचा देखिएको छ । आवश्यकता र प्राथमिकतामा आधारित विकास भए मात्र त्यो दिगो हुन्छ । कुन ठाउँमा विद्यालय, कुन ठाउँमा अस्पताल, कुन ठाउँमा बाटो कुन ठाउँमा पुल, कुन ठाउँमा ढल, कहाँ पानी आपूर्ति गर्ने भन्ने कुरा आवश्यकता र प्राथमिकताका आधारमा निर्धारण गरिनुपर्छ । जहाँ जति आवश्यक छ त्यहाँ त्यति बजेट लगाएर बाँकी बजेट अर्को अति आवश्यक ठाउँमा किन नलगाउने ? अहिले पूर्वपश्चिम राजमार्गभन्दा ती राजमार्गबाट सदरमुकाम जोड्ने भित्री सडक धेरै लेनका हुन थालेका छन् । अनावश्यक ठाउँमा भ्युटावर निर्माण भएका छन् । आवश्यकताभन्दा बढी अन्तर्राष्ट्रिय विमानस्थल बनेर प्रयोगविहीन भए । अझै थप बनाउने कसरत भइरहेको छ । यी यस्ता अनावश्यक नै त नभनौँ कम आवश्यकताका निर्माण कार्यमा बजेट ओइर्‍याउनुभन्दा अति आवश्यक ठाउँमा बजेट विनियोजित गरे मात्र आवश्यकतामा आधारित विकास हुन्छ ।

– विकासको प्रतिविम्ब हो, समृद्धि । भौतिक पूर्वाधार मात्र नभई सबैलाई सबै कुराको उपलब्धता हो, समृद्धि । विकासले समृद्धि ल्याउँछ, समृद्धिले विकासको प्रतिविम्ब देखाउँछ । विकास र समृद्धि एक–अर्काका परिपूरक हुन् । जबसम्म प्रत्येक नागरिकका आधारभूत आवश्यकता मात्र होइन कि कानुनले प्रत्याभूत गरेका अधिकारको सुनिश्चितता, समय सुहाउँदो जीवनशैली, अभावबाट मुक्ति, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातको सर्वसुलभता हुँदैन तबसम्म समृद्धिको परिकल्पना गर्न सकिँदैन । समृद्धिबिना विकास भयो भन्नुको अर्थ छैन ।

– विकासको बहसमा सबैभन्दा चुकेको पाटो भनेको सुशासन हो । अहिले स्रोत नभएर भन्दा बढी स्रोतको सही सदुपयोग नभएर विकासमा हामी पछि परिरहेका छौँ । सेवा प्रवाहमा देखिएको लापरवाहीका कारण जनताले विकास र सुशासनको अनुभूति गर्न सकेका छैनन् । विकास निर्माणका काममा हुने भ्रष्टाचारले विकास टाक्सिएको छ । सरकारको सबैभन्दा पहिलो प्राथमिकता सुशासन हुनु आवश्यक छ ।

अब पनि विकासको कुरा गर्दा कुल गार्हस्थ्य उत्पादन, आर्थिक वृद्धिदर, मुद्रास्फीति, प्रतिव्यक्ति आय, प्रतिव्यक्ति ऋण, व्यक्तिको सरदर आयु, वैदेशिक ऋण तथा अनुदान, राजस्व असुली, पुँजीगत खर्च अनुपातजस्ता अत्यन्त परम्परागत सूचकहरूका आधारमा मात्र विकास र समृद्धिको मापन हुन सक्तैन । यस्ता तथ्यांक सालाखाला हुन्छन् र सिद्धान्तमा आधारित हुन्छन् । यस्ता सालाखाला तथ्यांकले विकासको उपभोगबाट वञ्चित समुदायलाई वास्तविक रूपमा समेट्दैन । विगतमा हामीले विकासलाई नाप्न सकिने, तौलन सकिने, देख्न सकिने सकिने भनेर बुझ्यौँ र बुझायौँ । यो मोडेलको विकासले भौतिक संरचनालाई बढी जोड दियो । तर, आजको विकास भौतिक संरचनाभन्दा बढी जनताको आवश्यकता, चाहना र अनुभूतिसँग जोडिएको हुन्छ ।

अब परम्परागत विकासको मोडेललाई परिवर्तन गरी जनताको आवश्यकता र प्राथमिकतामा आधारित भएर विकासका काम गर्नुपर्छ । जनताको विकास छनोट गर्न पाउने अधिकार, विकास प्रक्रियामा सहभागी हुन पाउने अधिकार र विकासको प्रतिफल उपभोग गर्न पाउने अधिकारको सम्मान हुनु आवश्यक छ । विकासप्रतिको परम्परागत हेराइमा परिवर्तन भइसकेको सन्दर्भमा परम्परागत शैलीमा माथिबाट लादिएका विकासलाई वास्तविक विकास मान्न सकिँदैन । लादिएको विकासमा नागरिकको सन्तुष्टिको मात्रा पनि अत्यन्त कम हुन्छ । यस्तो लादिएको विकासलाई विकासको आधुनिक मान्यताले ठाडै अस्वीकार गर्छ ।

प्रतिक्रिया दिनुहोस्