Logo

प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

कुन मन्त्रीको सम्पत्ति कति ?

काठमाडौं– सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । यसअघि जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न भन्दै छुट्टाछुट्टै पत्राचार गरेका थिए । त्यसपछि मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरी मंगलबार मन्त्रिपरिषद कार्यालयको वेबसाइटमा राखेको हो । जसअनुसार प्रधानमन्त्री दाहालले आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् ।

प्रतिनिधि सभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री दाहालले देखाएका छन् । यस्तै सीता दाहालको नाममा चितवनको भरतपुर १४ मा १४ कट्ठा जग्गा रहेको, सीताकै नाममा भरतपुर १२ मा १ कट्ठा अंशबाट प्राप्त भएको उनले जनाएका छन् । यसबाहेक दाहालसँग अन्य सम्पत्ति नरहेको जनाइएको छ । दाहालको मन्त्रिपरिषदमा सबैभन्दा धनी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ रहेका छन् ।

उनको जनकपुर उपमहानगरपालिकामा ४२०० वर्गमिटर जग्गा, साढे २ तले घर, ललितपुरको भैसेपाटीमा २ रोपनी १३ आना, २ दाम १ पैसा जग्गा र त्यसमा रहेको साढे २ तले घर रहेको छ । यस्तै श्रीमती जुली कुमारी महतोको नाममा धनुषा क्षिरेश्वरनाथमा ७ बिघा, ३ कट्ठा जग्गा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्ठा जग्गा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना जग्गा, जनकपुरमा ३ कट्ठा जग्गा रहेको छ । यस्तै रघुवीरको नाममा धनुषामा १ बिघा १५ कट्ठा जग्गा रहेको छ ।

यस्तै नगद तर्फ २ करोड २५ लाख रुपैयाँ सम्पत्ति रहेको छ । सुन ४३ तोला, चाँदी १५० केजी रहेको छ । ७ थान औंठी, ३ थान सिक्री, ३ जोडी कानमा लगाउने र २ जोडी चुरा रहेको सम्पति विवरणमा उल्लेख छ । यस्तै जुली महतोको नाममा गुडविल फाइनान्समा ५ लाखको शेयर, महिला लघुवित्त संस्थामा रु १ करोडको सेयर, कर्पोरेट बैंक वीरगञ्जमा २ करोड ५० लाखको शेयर रहेको छ । यस्तै धनुषाको क्षिरेश्वरनाथ नपामा ३३ बिघा, सबैला नापामा ३९ बिघा १४ धुर जग्गा र मिथिला बिहारी नपामा १० कट्ठा जग्गा रहेको छ ।

यता अर्का उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा झण्डै ३८ रोपनी पैतृक जग्गा गोरखामा रहेको उल्लेख गरेका छन् । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १ लाख २२ हजार ९१८ रुपैयाँ बचत रहेको उनले देखाएका छन् । यस्तै माओवादी केन्द्रका अध्यक्ष दाहालले दिएको बा१०च ५७९८ नम्बरको महिन्द्रा गाडी पनि उनले सम्पत्ति विवरणमा राखेका छन् । त्यसको मूल्य आफूलाई थाहा नभएको मन्त्री श्रेष्ठले बताएका छन् ।

गृहमन्त्रीसँग ८० तोला सुन
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्री लामिछानेले आफ्नोसहित श्रीमती निकिता पौडेलको पनि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । हाल काठमाडौं महानगरपालिका–६ स्थायी घर भएका गृहमन्त्री लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन् ।

यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंकमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन् । यस्तै श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ । त्यसैगी श्रीमती र आफ्नो आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गरेका छन् ।

श्रममन्त्री अर्यालसँग १२ ठाउँमा जग्गा, १५० तोला सुन
धादिङ स्थायी ठेगाना भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालसँग करोडौंको चलअचल सम्पत्ति रहेको छ । विवरणअनुसार अर्यालकी श्रीमती अम्बिका केसीको नाममा काठमाडौंमा करिब ३ करोड मूल्य बराबरको घर रहेको छ । यस्तै उनको र अम्बिका केसीको नाममा १२ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

धादिङको गजुरी, काठमाडौंको नागार्जुन र लमजुङको राइनासमा उनीको जग्गा रहेको हो । उक्त जग्गा व्यापार र निजी कमाइबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै अर्यालसँग १५० तोला सुन, १०० तोला चाँदी र हिरा १० तोला रहेको छ । सबै सुनचाँदी र हिरा व्यापारबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै अर्यालको विभिन्न बैंकमा नगद मौज्दात, सेयर र गाडी सम्पत्ति विवरणमा उल्लेख छ ।

सहरी विकासमन्त्री बुढासँग १५० तोला सुन, काठमाडौंमा २ वटा घर
सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौंमा दुई वटा घर, थप जग्गा र प्रशस्त सुनचाँदी र नगद मौज्दात रहेको पाइएको छ । उनको डोल्पामा पैतृक सम्पत्ति रहेको छ भने यसबाहेक श्रीमती हिमालीको नाममा १७ र २० आना क्षेत्रफलको जग्गामा काठमाडौं महानगरपालिका–६ मा दुई वटा घर रहेको छ ।

यस्तै श्रीमती हिमालीकै नाममा काठमाडौं महानगरपालिका–६ मै अर्को ६ आना जग्गा पनि रहेको छ । यस्तै उनको १५० तोला सुन र ३०० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै मन्त्री बुढाको नाममा १५ लाख बैंक ब्यालेन्स रहेको छ भने श्रीमतीको नाममा थप ४५ लाख नगद रहेको छ ।

शिक्षामन्त्रीसँग डेढ करोडभन्दा बढी बैंक ब्यालेन्स
शिक्षामन्त्री सुमना श्रेष्ठले काभ्रेको रियालेमा ९ लाख ९४ हजारमा खरिद गरेको उल्लेख गरेकी छन् । परिश्रमिकबाट खरिद गरेको जग्गाको स्वामित्व संयुक्त नाममा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख गरेकी हुन् । यता, आफ्नो नाममा एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम मौज्दात रहेको जनाएकी छन् । दुवै स्रोत उनले पारिश्रमिक रहेको जिकिर गरेकी छन् ।

उनीसँग बिहे र हजुरआमाको शेषपछि प्राप्त ११ तोला सुन, बिहेका बेला उपहार पाएको १०० तोला चाँदी र १–१ सेट हिराको हार र हिराको टप रहेको उल्लेख गरेकी छन् । उनले नबिल बैंकसहित विभिन्न कम्पनीको सेयर रहेको पनि खुलाएकी छन् । सवारी साधनका रूपमा एउटा स्कुटर र २० लाख रुपैयाँमा खरिद गरेको ईभी गाडी रहेको उनले विवरणमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्