Logo

युक्रेनको विमान पार्किङ गर्न भैरहवामा

भैरहवा– अन्तर्राष्ट्रिय उडान अवतरण गर्ने विमानहरुले ल्याण्डिङ र पार्किङका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट भएपछि काठमाडौंमा स्थान अभाव भएमा भैरहवामा पार्किङका लागि आउन थालेका छन् ।

काठमाडौंमा चार्टर उडानका रुपमा आउने र फिर्ता जान केही दिन लाग्ने भए भैरहवामा निःशुल्क ल्याण्डिङ र पार्किङ सुविधाका लागि आउने गरेका हुन् । काठमाडौंमा ल्याण्डिङ र पार्किङको विमानको तौलको आधारमा प्रतिघण्टाको दरले रकम भुक्तानी गर्नुपर्ने हुन्छ । विगत तीन दिनदेखि युक्रेनको एक निजी वायुसेवा कम्पनीको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरी राखिएको छ ।

युक्रेनको स्काई–अप एयरलाइन्सको एअरबस बिगत तीन दिनदेखि विमानस्थल परीसरमा पार्किङमा रहेको छ । सो विमान मे १९ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको र मे २६ मा दिन फिर्ता जाने विमानस्थलका सूचना अधिकारी विनोद राउतले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आए पश्चात भैरहवा पार्किङका लागि ल्याइएको हो, यहाँको विमानस्थलमा कुनै पनि अन्तर्राष्ट्रिय उडान गर्ने विमानले उडान अवतरण गरे या पार्किङमा राखे कुनै शुल्क नलाग्ने, राउतले बताए ।

मंगलबार बिहान नेपाल एयरलाइन्सको विमान मलेसियाबाट भैरहवामा अवतरण गर्दा पहिलो पटक २ एयरबस एकै पटक विमानस्थलमा देखिएका थिए । स्काई अपका १४९ सिट क्षमताका २ र १८९ सिट क्षमताका ८ गरी १० वटा ७३७ सिरिजका एयरबस छन् । चार्टरमा नेपालमा पनि आइरहने स्काई अप जुन २०१७ मा युक्रेनमा स्थापना भएको निजी विमान सेवा कम्पनी हो ।

कति उडान कति यात्रु
गौतमबुद्ध विमानस्थलमा विगत २ वर्षमा २४० वटा अन्तर्राष्ट्रिय उडान भएको छ । यी उडानबाट १६ हजार बढी यात्रु भैरहवा ओर्लंदा २० हजार बढी भैरहवाबाट उडेका छन् । विमानस्थल उद्घाटन लगत्तै केही महिना कुवेतको जजिरा एयरवेजले नियमित र केही समय पछि हिमालयन एयरलाइन्सले भैरहवा मलेसिया चार्टर उडान गरेकोमा अहिले नेपाल वायुसेवाको मलेसिया भैरहवा काठमाडौं एकतर्फी साप्ताहिक उडानमात्र भइरहेको छ ।

गत भदौदेखि नेपाल एयरलाइन्सले भैरहवाबाट काठमाडौं ट्रान्जिट हुँदै हङकङ र दिल्ली उडान सुरु गरे पनि यात्रु भने छैनन् । २ वर्षमा विभिन्न विदेशी कम्पनीका विमानले ३९ पटक चार्टड उडान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्