Logo

बजेट अभावले सय भन्दा बढी योजना अलपत्र

पर्वत– लागत स्टिमेट अनुसार बजेट विनियोजन नहुँदा पर्वतका ११५ वटा खानेपानी योजना अधुरै रहेका छन् । बढिमा दुई वर्षभित्र सक्ने केही बहुवर्षिय आयोजनाको रुपमा पाँच वर्षभित्र सम्पन्न गर्ने गरी थालिएका योजना डेढ दशक बितिसक्दा पनि पूरा हुन सकेका छैनन् ।

एक घर एक धारा पुर्‍याउने लक्ष्यसहित आर्थिक वर्ष २०६४/०६५ देखि सुरु भएका करोडौं लागतका ती आयोजना बजेट अभावमा अलपत्र बनेका हुन् । जिल्लामा सञ्चालित कुनैपनि योजनाका लागि पर्याप्त बजेट विनियोजन नहुँदा समस्या भएको हो । जिल्लाका सातवटै पालिकामा रहेका ती योजनालाई पूर्णता दिन संघीय र प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगरेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङको पर्वत इकाईले जनाएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन ईकाई कार्यालय पर्वतका इन्जिनियर प्रेम थापाका अनुसार अनुसार हाल जिल्लाभर संघीय र प्रदेश सरकारका गरी दुईदेखि २० करोड लागत स्टिमेटका १३० खानेपानी आयोजना छन् । ती सबै आयोजना सम्पन्न गर्न चालु वर्षको दररेटअनुसार करिब एक अर्ब ८० करोड बजेट आवश्यक पर्दछ । तर, मन्त्रालयबाट आउने बजेट वर्सेनि १० प्रतिशतभन्दा बढ््न सकेको छैन । सबै आयोजना सुरु भएको कम्तिमा दुईदेखि पाँच वर्षमा सम्पन्न हुनुपर्ने भएपछि दसांै वर्षसम्म पनि बजेटकै अभावले रोकिएका हुन् ।

आयोजनाको लागत स्टिमेट अनुसार काम हुन वर्सेनि कम्तीमा ५० करोड बजेट आवश्यक पर्नेमा चालु वर्ष १८ करोड ९० लाख मात्रै अख्तियारी आएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका प्रमुख सिनियर डिभिजनल इन्जिनियर किरण पौडेलले बताए । ‘यो वर्ष आवश्यक बजेटको १० प्रतिशत बजेट विनियोजन भएको छ’ पौडेलले भने, ‘हामीले सबै काम द्रुत गतिमा गर्छौं भनेर भएन । सबै आयोजना पाइपलाइन मै रहेका छन् ।’

बजेट नै नभएपछि काम अघि बढाउन नसक्दा थुप्रै योजना सम्पन्न नुहँदै भग्नावशेषमा परिणत भएका छन् । बजेट अभावकै कारण निर्धारित समयावधिमा खानेपानीका योजना सम्पन्न गर्न समस्या परिरहेको कार्यालय प्रमुख पौडेलले बताए । यस वर्ष सञ्चालित योजनामध्ये साना ठूला गरी १५ वटासम्म सम्पन्न हुने उनको अनुमान छ । अधिकांश आयोजना उपभोक्ताको सहलगानीमा सञ्चालित छन् । प्रत्येक आयोजनामा उपभोक्ताले २० प्रतिशत श्रमदान र मर्मतसम्भार कोषमा एक प्रतिशत नगद जम्मा गरेका छन् ।

सञ्चालित अधिकांश आयोजनाका उपभोक्ता समितिले आफ्नो जिम्मेवारीको काम सकेको भएपनि बजेट अभावकै कारण कार्यालयले अघि बढाउन नसकेको हो । घरघरै पानी पाउने आशामा श्रमदान र मर्मतसम्भार कोष जम्मा गरेका बासिन्दा पानीको आसैआसमा पुस्ता बित्ने भन्दै निराश बनेका छन् । दुई वर्षमा सक्ने गरी आर्थिक वर्ष २०७५/०७६ मा सुरु भएको बृहत् शंकरपोखरी खानेपानी आयोजनाको लागत स्टिमेट १८ करोड ८८ लाख रुपैयाँको थियो ।

उक्त योजनाका लागि यस वर्ष ६० लाख मात्रै बजेट विनियोजन भएको छ । पर्याप्त बजेट नआउँदा अहिलेसम्म सम्पन्न हुन नसकेको स्थानीय कमल भुसालले बताए । तीन वर्षमा सक्ने गरी २०७५ मा सुदूर दक्षिणमा सुरु गरिएको वहाकी शालिग्राम खानेपानी आयोजनाको काम नसक्दै जीर्ण बनेको छ । वहाकी र शालिग्रामका साढे दुई सय घरधुरीलाई एक वर्षमा घरघरै धारा पुर्‍याउने लक्ष्यसहित सुरु गरिएको आयोजना अपुरो छ । यो आयोजनालाई चालु वर्ष ४० लाखमात्रै बजेट विनियोजन भएर काम भइरहेको कार्यालयले जनाएको छ ।

२०६४ मा सुरु भएको मोदी गाउँपालिका–६ को चित्रे–तिलाहार खानेपानी आयोजना पनि निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको उपभोक्ताको गुनासो छ । उक्त योजनाका लागि चालु वर्ष ३० लाख मात्रै बजेट विनियोजन भएको छ । २०७१ मा ८ करोड लागत अनुमान गरी सुरु भएको लुंखु खानेपानी आयोजना बजेट अभावकै कारण अलपत्र बनेको स्थानीय जीवन उच्चै ठकुरीले बताए । अहिले यो योजनाका लागि ३७ लाख विनियोजन भएको छ ।

एक घर एक धारा पुर्‍याउने संघीय र प्रदेश सरकारको लक्ष भएपनि पर्याप्त बजेट नहुँदा १६ वर्ष अघिदेखिका योजनासमेत पूरा हुन नसकेको कार्यालय प्रमुख पौडेलले बताए । अहिलेसम्म पर्वतका करिब १५ हजार घरधुरीमा एक घर एक धारा जडान भएको कार्यालयले जनाएको छ । योजना मात्रै थप्दै जाने तर पर्याप्त बजेट विनियोजन नहुने समस्याले अधुरा र अपूरा योजनाको संख्या बढ्दै गएको भन्दै कार्यालय प्रमुखले जिल्लाको नेतृत्व तहले बजेटको आकार बढाउन पहल गर्नुपर्नेमा जोड दिए । कार्यालयले नयाँ भन्दा पनि पुराना योजना सम्पन्न गर्न उच्च प्राथमिकता दिएको पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्