लगानीकर्ता आकर्षित गर्ने नीति बनाउन सुझाव
सुर्खेत– कर्णाली प्रदेशका उद्योगी व्यवसायीहरुले लगानीकर्ताहरुलाई आकर्षित गर्ने खालको नीति तथा कार्यक्रम ल्याउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न मुख्यमन्त्री यामलाल कँडेलले मंगलबार आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले कर्णालीमा उद्योगी व्यवसायीलाई आकर्षित गर्ने नीति ल्याउन सुझाव दिएका हुन् ।
अहिलेसम्म प्रदेश सरकारले लगानीकर्तालाई आकर्षित गर्ने नीति बनाउन नसकेका कारण कर्णालीमा उद्योग व्यवसायमा लगानी जुट्न नसकेको भन्दै प्रदेशको समृद्धिका लागि लगानी भित्र्याउन आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् । त्यसका लागि प्रदेश सरकारले भन्दै आएको लगानी सम्मेलन आगामी आर्थिक वर्षभित्रै आयोजना गर्न व्यवसायीहरुले आग्रह गरे ।
‘विगतमा लगानी सम्मेलन गर्ने भनेर तिथि मिति तोकिए पनि हुन सकेन’ उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले भने,‘राम्रो तयारी गरेर लगानी भित्र्याउने गरी सम्मेलनको आयोजना आउँदो आर्थिक वर्षमा गनुपर्छ ।’ यस्तै सुर्खेतमा निर्माण गर्ने भनिएको प्रादेशिक औद्योगिक क्षेत्र निर्माणको योजनालाई कार्यान्वयनमा लैजान उनले सुझाव दिए ।
सुर्खेत उद्योग वाणिज्य संघका तर्फबाट सुझाव दिँदै अध्यक्ष कँडेलले यथाशीघ्र प्रादेशिक औद्योगिक ग्राम निर्माण गर्नुपर्ने सुझाव दिए । उनले सुर्खेत विमानस्थललाई विस्तार गर्नुपर्ने, सुबाकुनादेखि बांगेशिमल सम्मको सडकलाई ६ लाईनको बनाउनुपर्ने, जडीबुटी प्रशोधन उद्योग सञ्चालनमा ल्याउनुपर्नेलगायतका सुझाव दिए । संघका पूर्व अध्यक्ष विष्णु शाहीले उत्पादनमूलक, जडिबुटी र खानीजन्य उद्योगलाई प्रवर्द्धन गर्ने नीति लिनुपर्ने सुझाव दिए ।
निर्माण व्यवसायी खड्क खत्रीले सित भण्डार निर्माण, साना तथा मझौला हाइड्रो पावर निर्माणलगायतका योजना समावेश गर्न सुझाव दिए । चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्माले कृषि, पर्यटन खानीजन्य उद्योगलाई प्रदेश सरकारले प्रोत्साहन गर्ने नीति लिनुपर्ने सुझाव दिए । अनुदानको सट्टा व्यवसायीलाई प्रविधि, पहुँच मार्ग, खानेपानी, सिँचाइलगायतका भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्नु पर्ने शर्माले बताए ।
व्यवसायीका सुझावपछि मुख्यमन्त्री कँडेलले नीजि क्षेत्रको हुटहुटिविना सरकार एक्लैको हुटहुटीले कर्णालीको समृद्धि सम्भव नभएको भन्दै सहकार्य गर्न आग्रह गरे । सीमित स्रोत साधन र अधिकार क्षेत्रभित्र रहेर प्रदेश सरकारले व्यवसायीका मागहरुलाई सक्दो सम्बोधन गर्नु पर्ने उनको भनाइ थियो ।