तनहुँका महिला ढाका बुन्ने व्यवसायमा

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी रितु थापा मगर बिहानको घरधन्दा सकेर ढाकाको कपडा बुन्ने व्यवसायमा आवद्ध छिन् । बिहान घरको काम सकेर दिउँसो ढाकाको कपडा बुन्ने व्यवसाय उनले अंगाल्दै आएकी छिन् । चार वर्ष अगाडि ढाका कपडा बुन्ने तालिम लिएपछि उनी यो व्यवसायमा लागेकी हुन् ।
त्यतिबेला थापाले तीन महिनाको तालिम लिएकी थिइन् । ‘तालिम लिएपछि घरमै पाँच महिना कपडा बुन्न थालें । फेरि दुई महिना थप सिक्नका लागि दमौली आएर तालिम लिएँ,’उनले भनिन्, ‘त्यसपछि अहिले निरन्तर यही पेशा सञ्चालन गरिरहेकी छु ।’ घरमा यत्तिकै बस्नुभन्दा फुर्सदको समयलाई सदुपयोग गर्दा कामसँगै दाम कमाउन सकेको उनको भनाइ छ ।
उनले भनिन्,‘घरधन्दा सकेपछि दिउँसोको समय यत्तिकै बित्ने गरेको थियो, अहिले यो व्यवसायमा लागेपछि बिहान बेलुका घरको काम र दिउँसोको समयमा कपडा बुन्ने काम गर्दै आएको छु । समय यत्तिकै खेर फाल्नुभन्दा उद्यम गरेर आम्दानी भइरहेको छ ।’ आफैंले व्यवसाय गर्न थालेपछि अरुसँग पैसा माग्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।
उनले भनिन्,‘पैसा चाहिँदा अरुसँग माग्नुभन्दा आफैले कमाउन थालेपछि धेरै सहज भयो । घरायसी कामसँगै यो पेशालाई अगाडि बढाउन सकिने भएकाले अन्य महिलालाई पनि केही न केही उद्यम गर्न आग्रह गर्छु ।’ घरायसी काममै सीमित महिलालाई समय व्यवस्थापन गर्न सके आत्मनिर्भर बन्न सकिने बताउँदै उनले थपिन्,‘टिकटक हेर्ने, भिडिओ हेरेर समय फाल्नुभन्दा केही सीप सिकेर आफैले व्यवसाय गर्नुपर्छ । सीप सिकेपछि अरुको भर पर्नुपर्दैन, आफ्नै खुट्टामा उभिन सकिन्छ ।’
ढाकाको कपडा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ काठमाडौंबाट अर्डर गर्ने गरेको उनले सुनाइन् । अर्डर गरेका धागो ल्याएर माग अनुसारको कपडा बनाउने गरेको बताउँदै उनले अहिले धेरै साडीको माग भएकाले साडी बनाउने गरेको बताइन् । उनका अनुसार ढाकाबाट पछ्यौरा, चोली, कोटहरु, मफलर, कुर्ता सुरुवाल बनाउन सकिन्छ । उनले भनिन्,‘साडीमा फाइदा भएको र बढी माग पनि रहने गरेको छ ।’
थापाका अनुसार एउटा साडीको लागि तान, धागोलगायत सबै गरी तीन हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । आफूले आठ/नौ हजारदेखि १२ हजार रुपैयाँसम्मको साडी बिक्री गरेको उनको भनाइ छ । एउटा साडी बनाउन कम्तिमा १२ दिन लाग्ने बताउँदै यो पेशाबाट सन्तुष्ट रहेको उनले बताइन् । उनले भनिन्,‘गाउँपालिकाभित्रका महिलाहरुले कसैले ढाकाको कपडा बुन्ने सीप सिक्न चाहे म सहयोग गर्न तयार छु । घरको काम सकेर दिनको दुई तीन घण्टा समय छुट्याएर व्यवसायलाई अगाडि बढाउन सकिन्छ ।’
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले व्यवसायी बन्न चाहनेहरुलाई गाउँपालिकाले सहयोग गर्ने बताए । जिल्लामा ढाकाको कपडा बुन्नेतर्फ आकर्षण बढेसँगै पर्यटन तथा उद्योग कार्यालय तनहुँले दुई महिने निःशुल्क एडभान्स ढाका बुनाइ तथा डिजाइन तालिम सुरु गरेको छ । युवायुवतीलाई उद्यमसँग जोड्ने उद्देश्यसहित कार्यालयको वार्षिक कार्यक्रम बमोजिम तालिम सञ्चालन गरिएको निमित्त प्रमुख सुवास पौडेलले जानकारी दिए ।