Logo

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा कान्तिपुर दैनिकका प्रकाशक कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा मंगलबार सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाको नागरिकता नम्बरमा रहेको रेकर्ड अर्कै व्यक्तिको रहेको पाइएपछि गत वैशाख तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो । उक्त उजुरीबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान अघि बढेसँगै प्रहरीले सिरोहियालाई पक्राउका लागि जिल्ला अदालतबाट मंगलबार अनुमति लिएको हो । अध्यक्ष कैलाश सिरोहियाले भने सहकारी ठगीमा संलग्नहरूले त्यससम्बन्धी मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताएका छन् । उनले त्यसका लागि सत्ता र शक्ति दुरुपयोग गरिएको टिप्पणीसमेत गरेका छन् ।

‘सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाई सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफै उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन ।’

सिरोहियाले समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गरिएको समेत उल्लेख गरेका छन् । कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू तयार रहेको उल्लेख गर्दै उनले राज्यक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप भने किञ्चित पनि विचलित नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्