Logo

सहकारीमार्फत आत्मनिर्भर बन्दै महिला

स्याङ्जा– स्याङ्जाको अर्जुनचौपारीमा रहेको ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्थामार्फत महिलाहरु व्यावसायिक बन्दै गएका छन् । सहकारीले पशुपालन र कृषिमा लगानी वृद्धि गरेपछि महिला व्यावसायिक बन्दै गएका हुन् । सहकारीले पशुपालनमा ८ करोड र कृषिमा ९ करोडसहित समग्रमा २६ करोडको लगानी गरेको छ ।

सहकारीमार्फत एक सय घरपरिवारले चार हजार बाख्रपालन, ५० घरपरिवारले पाँच सय भैंसी पालन र १० घरपरिवारले १५० वटा बंगुर पालन गर्दै आएका छन् । पशुपालन र कृषि पेशा गर्नेमा ९० प्रतिशत महिला आबद्ध छन् । लगानीको कुल हिस्सामध्ये ९० प्रतिशत पशुपालन र कृषि क्षेत्रमा लगानी गरेको सहकारीका अध्यक्ष बोधनारयण रेग्मीले बताए । पशुपालन र कृषितर्फको कुल लगानीमा १० प्रतिशत पुरुष र ९० प्रतिशत महिला व्यावसायिक बन्दै गएको अध्यक्ष रेग्मीले बताए ।

महिलाहरु व्यावसायिक बन्दै जाँदा पालिका दूध र मासुमा आत्मनिर्भर बन्दै गएको उनले दाबी गरे । उत्पादित दूध, मासु र तरकारीको स्थानीय बजारमै खपत हुने गरेको छ । ग्रामीण बजारमा खपत हुन नसक्ने वस्तुलाई छिमेकी पालिका पुतलीबजार, भीरकोट, वालिङ र पोखरामा लगेर बिक्री वितरण गरिएको छ । उत्पादनमा जोडिएका व्यावसायिक महिलाको आर्थिक अवस्थामा समेत परिवर्तन आएको महिलाहरुको भनाइ छ ।

महिलाले बाख्रा पालनबाट खसीबोकासँगै पाठापाठी बिक्रीबाट राम्रो आम्दानी लिन सफल भएका छन् । मासुका लागि खसीबोका र नयाँ समूहमा आबद्ध सदस्यलाई पाठापाठी बिक्री गर्दै आएका छन् । भैंसी पालनमा आबद्ध महिलाले दिनमै १५ सयदेखि दुई हजार रुपैयाँसम्म आम्दानी लिने गरेका छन् । बंगुर पालनमा आबद्ध महिलाहरु पनि आम्दानीबाट प्रफुल्ल देखिन्छन् ।

सहकारीले म्यादी बीमा, पशु बीमा, उन्नत जातको बिउबिजन वितरण र पशु स्वास्थ्य कार्यकर्तामार्फत पशु हेरचाहको सेवा प्रवाह गर्दै आएको छ । सहकारीमा २०५ समूहमा आबद्ध ४५ सय सदस्यलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता प्रदान गरेको छ । सदस्यहरुको आर्थिक र सामाजिक स्तरमा बढ्वा दिन सहकारीकै लगानीमा म्यादी बीमा र पशु बीमा गरेको सहकारीका प्रबन्धक शालिग्राम काफ्लेले बताए ।

‘मौसम तथा बेमौसमी तरकारी, फलफूल खेतीका लागि उन्नत जातको बिउबिजन दिने गरेका छौं’ प्रबन्धक काफ्लेले भने, ‘पशु स्वास्थ्यको हेरचाह र उपचार पद्दतिमा सदस्यको क्षमता अभिवृद्धिमा ध्यान दिएका छौं ।’ संस्थाले भण्डै ३ करोडको लगानीमा १८ कोठे तीन तलाको व्यावसायिक भवनसमेत बनाएको छ । भवनमा बहुउद्देश्यीय व्यापारिक प्रयोजन र कार्यालय सञ्चालन गरिएको छ । पालिकाका ६ वटा वडा मध्ये ५ वडामा प्रत्यक्ष सेवा प्रवाह गर्दै आएको सहकारीले जनाएको छ ।

महिलाहरु व्यावसायिक बन्दै जाँदा घरपरिवारमा हुने खर्च कटौती र बचतमा टेवा पुग्ने गरेको पुरुष सदस्यहरुको अनुभव छ । घरपरिवार बालबच्चामा हुने खर्चमा मितव्यायी हुने र फजुल खर्च नहुने भएपछि आम्दानीमा समेत बढ्दोत्तरी आएको उनीहरुले बताए । पुरुषको तुलनामा महिलाबाट हुने आम्दानी टिकाउ भएको उनीहरुको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्