गुरुङ बस्तीहरुमा घाँटु नाचको तयारी

लमजुङ– जिल्लाका गुरुङ बस्तीहरुमा घाँटु नाचको तयारी तीव्र पारिएको छ । गुरुङ बस्तीहरुमा वैशाख पूर्णिमाको अवसरमा नाचिने परम्परागत घाँटुको अभ्यास गरिएको हो । गुरुङ संस्कृति अनुसार माघमा बसन्त पञ्चमीबाट सुरु भएको घाँटु नाँच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ ।
समापनको बेला पूर्णिमाको दिनदेखि औपचारिक रुपमा घाँटु सुरु हुने भएपनि केही दिनअघिदेखि नै अभ्यास हुन थालेको तमु ह्युला छोँज धि गुरुङ राष्ट्रिय परिषद लमजुङका अध्यक्ष जिवराज घलेले बताए । जिल्लाको उत्तरी क्षेत्रमा अधिकांश गुरुङ समुदाय रहेका छन् । क्होलासोँथार, मस्र्याङदी, दूधपोखरी, दोर्दीलगायतका गाउँपालिका अन्तर्गत सतीघाँटु नाचिने गुरुङ समुदायमा अभ्यास भइरहेको स्थानीयले बताएका छन् ।
सोसँगै बेसीशहर, सुन्दरबजार, मध्यनेपाल अन्तर्गतका गुरुङ गाउँमा पनि वैशाख पूर्णिमाबाट सुरु हुने सतीघाँटु नाचको अभ्यास भइरहेको स्थानीयले बताएका छन् । सती र बाह्रमासे गरी घाँटु नाँच दुई प्रकारको हुन्छ । सतिघाँटु श्रीपञ्चमीमा सुरु भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने बाह्रमासे घाँटु जुन बेला पनि नाच्ने गरिन्छ । गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसग जोडिएको घाँटु नृत्य पनि ठाउँ अनुसार फरक–फरक पाइएपनि सबै ठाउमा नाचिने घाँटुको कथा भने एउटै हुने घाँटु गुरुहरु बताउँछन् ।
सत्रौं सताब्दीदेखि घाँटु नृत्यको प्रारम्भ भएको मानिन्छ । यस नृत्यमा रजस्वला नभएका दुईजना कन्यालाई स्थानीय भेषभूषामा सजाई मध्ययुगिन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाँटु नृत्यको प्रारम्भ गरिन्छ । विशेष गरी पहिलोपटक घाँटु नाच्ने कन्यालाई समयअगावै अभ्यास गराउनुपर्ने अग्रजहरु बताउँछन् ।
घाँटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, शृंगार, विहेवारी, शिकार, माछा मार्ने, खेतीपाती तथा युद्धबारे व्याख्या तथा अभिनय गर्ने गरिन्छ । गुरुङ समुदायको महत्वपूर्ण संस्कृतिको रुपमा रहेको घाँटुनाच पछिल्लो समय उत्सवको रुपमा पनि मनाउन थालिएको छ । परम्परागत संस्कृतिको संरक्षण गर्न तथा गुरुङहरुको पहिचानलाई जोगाउन विशेष महत्वका साथ मेला महोत्सवमा पनि घाँटु नाच प्रदर्शन गर्ने गरीएको छ ।