उत्पादनमूलक उद्योगलाई प्रोत्साहन हुने नीति बनाउन सुझाव

सुर्खेत– कर्णालीका व्यवसायीहरूले उत्पादनमा आधारित उद्योगहरूलाई प्रोत्साहन हुने मौद्रिक नीति बनाउन सुझाव दिएका छन् । राष्ट्र बैंकले सोमबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको अन्तक्र्रियामा व्यवसायीहरूले उक्त सुझाव दिएका हुन् । उत्पादनमूलक उद्योग फष्टाउने खालको नीति बनाउन उनीहरूले गभर्नर महाप्रसाद अधिकारी समक्ष सुझाव राखेका थिए ।
छलफलमा साना तथा घरेलु उद्यमी लालबहादुर नेपालीले साना घरेलु तथा लघु उद्यमीहरूले बैंकबाट कर्जा पाउन नसकेको भन्दै त्यस्ता व्यवसायीहरूलाई विनाधितो कर्जा लगानी गर्नुपर्ने बताए । उनले उत्पादनमा आधारित स्वरोजगारमूलक उद्योगहरूलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले अर्थतन्त्रलाई लयमा फर्काउने गरी पुँजी चलायमान हुने मौद्रिक नीति राष्ट्र बैंकले ल्याउनुपर्ने बताए । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले कोभिडपछि व्यवसायी अझै लयमा फर्कन नसकेको भन्दै बैंकहरूलाई सहजीकरण गर्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले उत्पादनमूलक उद्योगहरूबाट नै देशको अर्थतन्त्र बलियो हुने भन्दै त्यस्ता उद्योगमा लगानी बढाउन बैंकहरूलाई आग्रह गरे । उनले व्यवसायीहरूमा देखिएका समस्या समाधानका लागि राष्ट्र बैंकको नीति भित्र रहेर बैंकहरूले व्यवसायीसँग सहजीकरण गर्नुपर्ने बताए । यस्तै सानो तिनो कर्जामा धेरै जोखिम देख्न आवश्यक नरहेको पनि उनले बैंकहरूलाई स्पष्ट पारे ।
गभर्नर अधिकारीले लघु वित्त तथा सहकारीका सन्दर्भमा कर्जा मिनाहा गरिदिन्छु भनी कतिपय व्यक्तिहरूले अनर्गल प्रचार गरेको भन्दै ऋण मिनाहा भन्ने कुरा बैंकिङ शब्दकोषमै राख्न नहुने बताए । ती सबै व्यवस्थालाई भत्काउनका लागि गरिएका चलखेल भएको भन्दै त्यस्ता व्यक्तिको बहकाउमा नलाग्न उनले आग्रह गरे ।