Logo

संसद अवरोधका बीच नीति तथा कार्यक्रममा राष्ट्रपतिलाई धन्यवाद

फाइल तस्बिर ।

काठमाडौं– नेपाली कांग्रेसको विरोधका बीच मंगलबार संसदले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिएको छ । पौडेलले जेठ १ मा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । त्यसपछिका ७ दिनसम्ममा संसद अवरोध जारी रहेका कारण राष्ट्रपतिलाई धन्यवाद समेत दिने काम हुन सकेको थिएन ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको आरोप लगाउँदै निष्पक्ष छानविनका लागि संसदीय समिति गठन गर्न माग राखेर नेपाली कांग्रेससहितका विपक्षी दलले केही दिन देखि संसद अवरुद्ध गर्दै आएका छन् । त्यसैक्रममा मंगलबार पनि संसदमा विपक्षी दलहरुले विरोध जारी राखेका छन् । यही विरोधका बीच सभामुख देवराज घिमिरेले सदन संचालनमा ल्याएका छन् ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नीति तथा कार्यक्रमप्रति राष्ट्रपति पौडेललाई धन्यवाद दिन प्रस्ताव गर्न निर्देश गरेका थिए । प्रधानमन्त्री दाहालले विरोधकै बीच संसदमा धन्यवाद दिने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसलाई संसदले पास गरेको घोषणा गरिएको थियो । त्यसपछि पनि सभामुख घिमिरेले संसद संचालन गर्दै केही प्रस्ताव टेवुल गराइ पास भएको घोषणा गरेका थिए । संसद बैठक जेठ ११ सम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्