सुस्तायो भेरी नदीको पुल निर्माण

वीरेन्द्रनगर– भेरी नदीमा निर्माण हुन लागेको पुलको निर्माण गति सुस्ताएको छ । समयमै निर्माण हुन नसकेर पुल सुस्त गतिमा अघि बढेको हो । उक्त नदीमा निर्माण भइरहेको पुलले तीन वर्ष नाघिसकेको छ । जगदुल्ला जलविद्युत आयोजनाले जेठ २ गते ऋण सम्झौता गरेको छ । आयोजना स्थल जानका लागि निर्माण हुनुपर्ने त्रिबेणी स्थित पुलको गति भने अझैं बढ्न सकेको छैन । क्याराभान निर्माण सेवाले १५ करोडमा पुलको ठेक्का लिएर आयोजनासँग सम्झौता गरेको थियो ।
जगदुल्लाले जाजरकोट, डोल्पा र रुकुमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे दुई वर्षदेखि अलपत्र पारेर ठेक्का बिक्री गरेको थियो । क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई ठेक्का बेचेपछि पुल निर्माण सुस्ताएको हो । भेरी करिडोरको बीचमा रहेको यो पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडक समेत निर्माण हुन मुस्किल भएको छ । भेरी नदीमा एक सय मिटर लामो पक्की पुल साढे तीन वर्षदेखि निर्माण भई रहे पनि पुरा हुन सकेको छैन ।
तीन जिल्लाको संगम स्थल रहेको त्रिवेणीमा अहिले ठेक्का खरिद गरेको रेट्रो ट्रेक कन्ट्रक्सनले समेत काममा गति नदिएको स्थानीयवासीको आरोप छ । १५ करोड रुपैयाँमा उक्त पुल निर्माण गर्ने भन्दै कम्पनीले साढे तीन वर्ष अघि ठेक्का खोलेको थियो । क्याराभान कन्ट्रक्सनबाट १४ करोड १७ लाख रुपैयँमा कामको जिम्मा लिएको रेट्रो ट्रेकले कहिले बर्खा र कहिले जग्गा विवादको कारण देखाउँदै काममा ढिला गरेपछि दैनिक समस्या देखाएर काम ढिला गर्दा तोकिएको समयमा काम हुन नसकेको स्थानीय पुर्ण बुढाले बताए ।
निर्माणको जिम्मा पाएका कन्ट्रक्सनले विभिन्न बाहनामा पुल निर्माणमा ढिलासुस्ती गरेपछि १०६ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यमा समेत बाधा पुग्ने देखिएको छ । हाइड्रोपावरले हजारौँ टन वजन भएका निर्माण सामग्रीहरू आयोजनास्थलसम्म लैजान भन्दै २०७७ साउनमा टेण्डर खुलाएको थियो । रेट्रो ट्रेकका सञ्चालक बादल बुढाले पुलको दुइ वटा पिल्लर उठाउने काम भएको बताए । क्याराभानले टेण्डर हात पारेको केही समयमै सञ्चालक चन्द्र थकालीले तत्काल काम सुरु गर्ने भन्दै आयोजनाबाट ७२ लाख पेशकी रकम समेत लिइसकेका थिए ।
पुल समयमै नबन्दा आयोजनाको निर्माण कार्य नै प्रभावित भएको भन्दै डोल्पाका सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । ठाउँ–ठाउँमा ठेक्का लिँदै अलपत्र पार्दै आएका थकालीले यो पुलको काम समेत अर्कोलाई बिक्री गरेर समस्यामा पारेका छन् । भेरी करिडोरका अधिकांश कामहरु लिएका थकाली सधैं शक्ति केन्द्र धाउने र काम नगर्ने निर्माण व्यवसायीमा पर्छन् । आयोजनाको ऋण सम्झौता भइसकेकोले काम गर्नका लागि टेण्डर गर्ने अवस्थामा आयोजना पुगेको छ ।
आयोजना स्थल जानका लागि निर्माण हुन लागेको पुल ठेकेदारले पुरा नगर्दा आयोजना निर्माणमा समस्या उत्पन्न हुने सम्भावना बढेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री वीरबहादुर शाहीले बताए । स्थलगत अनुगमन गरेका शाहीले कामको गति राम्रो नभएको बताए । तल्लुस्थित भेरी नदीमा बेलिब्रिज पुल निर्माण भए पनि सोही ठाउँमा पक्की पुल समेत निर्माण भइसक्नुपर्नेमा अझैँ पुलको काम नभएको उनले बताए ।
तर, त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रूपमा रहेको तल्नुबगर बेलिब्रिज पुल भने सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाहबीचको भेरी नदीमा बनेको उक्त पुल आइतबारदेखि सञ्चालनमा आएको हो । भारत नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गतको तल्नु बगर बेलिब्रिजको निर्माणकार्य सम्पन्न भएसँगै पुल सञ्चालनमा आएपछि सामाजिक विकासमन्त्री शाहीले पहिलो बेलिब्रिज पुलमा यात्रा गरे ।
तीन वर्षअघि पुल निर्माण सुरु भएको उक्त पुल विविध कारणले ढिला हुँदै आएकोमा सरोकारवाला पक्षको भारी दबाबपछि पुल निर्माण कार्य सम्पन्न भएको हो । ‘पुल सञ्चालनमा आएसँगै डोल्पासम्म सिधा सडक सञ्जाल जोडिएको छ । मालबाहक गाडीहरू दुनैसम्म पुग्न थालिसकेका छन् । अब बर्खाको समयमा पनि यातायात सञ्चालनमा ल्याउन भेरी करिडोरबीचमा पर्ने केही खोलाहरूमा ह्युम पाइप राख्न निर्देशन दिएको मन्त्री शाहीले जानकारी दिए ।
करिडोरले भारतको रुपेडिया नेपालगञ्ज हुँदै डोल्पा चीनको सीमा क्षेत्र मोरिम्ला नाका जोड्ने भएकाले यस सडक राष्ट्रिय महत्वको सडक हो । उक्त पुल सञ्चालनमा आउनु सबैका लागि सुखद कुरा भएको मन्त्री शाहीले बताए । तीन वर्षअघि सडक डिभिजन कार्यालय चौहरजहारीले उक्त बेलिब्रिज पुल निर्माणका लागि ठेक्का खुलाएको थियो । काम सुरु भएको तीन वर्षपछि पुल सञ्चालनमा आएको हो । २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले ३ करोड ८१ लाखमा पुल निर्माणको जिम्मा पाएको एक वर्षपछि मात्र काम सुरु गरेको थियो ।
विभिन्न कारणले पुल निर्माणमा ढिलासुस्ती भए पनि अहिले पुल निर्माण सकिएर सञ्चालनमा आएको भेरी करिडोर कार्यालयका जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए । अब बाँकी खोलामा ह्युम पाइप राखेर डोल्पासम्म सिधा यातायात सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको उनको भनाइ छ । भेरी करिडोर कार्यालयका अनुसार ११८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडक खण्ड भित्रको ५६ किलोमिटर सडक खण्डमा अहिले काम भइरहेको छ । ६२ किलोमिटरमा कार्यालयले फराकिलो बनाउने काम सुरु गर्न थालेको बताएको छ ।
जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने करोपगार्ड, खदाङ, त्रिपुराकोटको बेलिबिज पुल यसअघि नै निर्माण भइसकेको छ भने रुपगार्ड खोलाको बेलिबिजको काम सुरु भइसकेको छ । रुपगार्डको बेलिब्रिज पुल निर्माण सम्पन्न भएपछि भेरी करिडोरअन्तर्गतका पाँचवटा मुख्य खोलाका पुल बन्नेछन् भने अझै सानातिना खोलामा गरेर आठवटा खोलामा पुल बन्न बाँकी छ । गत वर्ष वैशाख ६ गते निर्माणाधीन तल्नुबगर बेलिब्रिज पुल भाँचिए पछि दुई जनाको मृत्यु भएको थियो ।