Logo

मौद्रिक नीति समीक्षाको गन्तव्य

नेपाल राष्ट्र बैंकले अहिले सुस्त रहेको घरजग्गा कारोबार, सवारी साधन र सेयर बजारलाई चलायमान बनाउने प्रयास गरेको छ । चालु मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत घरजग्गा, अटो र सेयर बजारलाई राहत हुने केही नीतिगत व्यवस्था गरिएको छ । यसअघि पनि यी क्षेत्रलाई चलायमान बनाउने प्रयास नगरिएको होइन । मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत यही क्षेत्रलाई फाइदा पुग्ने गरी नीतिगत सहजता गरिएको थियो ।

सरकारले यसअघि नै रोकिएको जग्गाको कित्ताकाट खुला गरेको थियो । यी सबै व्यवस्थाले यो क्षेत्र अझै चलायमान हुन नसकेको अनुमान गर्दै मौद्रिक नीतिको तेस्रो समीक्षामा थप सहजता ल्याउने प्रयास भएको हो । समीक्षामार्फत गरिएका व्यवस्थालाई कार्यान्वयनमा लैजान राष्ट्र बैंकको निर्देशन जारी हुनुपर्छ । अहिले परिवर्तित नीतिगत व्यवस्थामा निर्देशन जारी गर्दा थप स्पष्ट हुन्छ । तेस्रो समीक्षामा गरिएको व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाले असल वर्गमा वर्गीकृत कर्जामा १.२० प्रतिशत मात्र नोक्सानी व्यवस्था गरे पुग्नेछ ।

यसअघि यस्तो कर्जामा १.२५ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था थियो । यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको नाफामा समेत सकारात्मक असर पार्नेछ । अहिले बैंकिङ क्षेत्रमा यस्तो वर्गको कर्जा ४७ खर्ब हाराहारी छ । नयाँ व्यवस्थाअनुसार करिब २ खर्ब रुपैयाँबराबरको कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने छैन । यसले बैंकको नाफा बढाउन सहयोग पुर्‍याउनेछ । पछिल्ला वर्षहरूमा बैंकहरूको नाफामा कमी आइरहेको छ । यस्तै घरजग्गामा दिइने कर्जालाई पनि सजिलो बनाइएको छ ।

घरजग्गा खरिद गर्दा प्रदान गरिने कर्जाको ऋण भुक्तानी गर्दा आम्दानीको अनुपातलाई सहजीकरण गरिएको छ । अहिले घरजग्गा खरिद गर्दा आम्दानीको ५० प्रतिशत किस्ता हुने गरेर मात्र कर्जा लिन सक्ने व्यवस्था छ । अब यसलाई बढाएर ७० प्रतिशत कायम गरिएको छ । ऋणीले बैंकमा पेस गरेको करचुक्ता आयको ७० प्रतिशतसम्म मासिक किस्ता तिर्ने गरी कर्जा लिन सक्नेछन् । यो व्यवस्थाले घरजग्गा कारोबारमा थप कर्जा प्रवाह हुने र यो क्षेत्र चलायमान हुने अनुमान गरिएको छ ।

अहिले यो क्षेत्रमा एक व्यक्तिका लागि अधिकतम २ करोडसम्मको कर्जा दिन सकिने व्यवस्था छ । हाल बैंकहरूले यो क्षेत्रमा ३ खर्ब ८४ अर्ब रुपैयाँ यस्तो कर्जा दिएका छन् । यस्तै रियलइस्टेटमा पनि थप २ खर्ब ४८ अर्ब कर्जा प्रवाह भएको छ । मौद्रिक नीतिको तेस्रो समीक्षामा गरिएको अर्को सेयर बजारसम्बन्धी व्यवस्थाले अलमलमा रहेको सेयर बजारलाई थप ऊर्जा दिन सक्ने अनुमान छ । नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउनेछन् ।

यसअघि एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको एक प्रतिशतसम्म मात्र सेयर बिक्री गर्न पाउने व्यवस्था थियो । अहिले बैंक तथा वित्तीय संस्थाले सेयर बिक्री गर्न नपाउँदा बजार चलायमान नभएको गुनासो आइरहेको थियो । यो नीतिगत रूपमा ठूलो फड्को हो । तर, बजारमा यसले कस्तो प्रभाव पार्छ, हेर्न बाँकी नै छ । सेयर बिक्रीजस्तै बैंक तथा वित्तीय संस्थाले खरिद पनि गर्न सक्ने व्यवस्था भएको भए अवश्य नै बजारमा प्रभाव पाथ्र्यो । मौद्रिक नीतिको समीक्षाले सबै हायर पर्चेज (अटो) कर्जाको जोखिम भार १ सय रुपैयाँ कायम गर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले २५ लाखभन्दा माथिका कर्जामा १ सय २५ प्रतिशतको जोखिम भार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभारलाई १ सय प्रतिशत कायम गरेको छ । यो व्यवस्थाले पनि अटो कर्जा बढ्ने अनुमान छ । राष्ट्र बैंकले यीबाहेक अन्य नयाँ व्यवस्था पनि गरेको घोषणा गरेको छ । स्थायी निक्षेप सुविधा प्रदान गर्ने र बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोष सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरण प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने भनिएको छ । यसले बैंकहरूलाई व्यवसाय वृद्धि गर्न पुँजीकोष व्यवस्थापनमा सहजीकरण गर्नेछ ।

समीक्षालाई सरसर्ती हेर्दा यसको मूल उद्देश्य कर्जा प्रवाह बढाउने रहेको देखिन्छ । चालु मौद्रिक नीतिमा करिब १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म ५ प्रतिशत हाराहारी मात्र छ । निजी क्षेत्रले कर्जा नलिएकै कारण अर्थतन्त्र सुस्त बनेको भनिँदै आएको छ । अहिलेको नीतिले अटो, घरजग्गा र सेयर बजारलाई चलायमान गराउन खोजेको छ । यो सकारात्मक पक्ष हो । त्यसमा पनि आन्तरिक उत्पादनमा कर्जा बढ्ने गरी समीक्षा आएको भए अझै सुनमा सुगन्ध हुने थियो ।

प्रतिक्रिया दिनुहोस्