२ करोड बढी लगानीमा ताप्लेजुङमा महिन्द्रा सोरुम

जिल्लामा २ करोड बढी लगानीमा महिन्द्रा गाडीको आधिकारिक शोरुम खोलिएको छ । मुलुकभर विभिन्न मोडलका महिन्द्रा गाडी तथा ट्र्याक्टर बिक्री गर्दै आएको अग्नि इन्कर्पोरेटेड नेपालले ताप्लेजुङमा ४२ औं सोरुम स्थापना गरेको हो । सोमबार प्रदेशसभा सदस्यद्वय बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा तथा महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री डाइरेक्टर तापस पटनायकले संयुक्त रूपमा सोरुमको उद्घाटन गरे । उद्घाटनपछि साम्सोहाङले पहाडी भेग सुहाउँदो गाडीको सोरुम जिल्लामै खुल्नु खुसीको कुरा भएको बताए । दुर्गम क्षेत्रमै ग्राहकलाई सहज एवं सुलभ सेवा दिने उद्देश्यले सोरुम स्थापना गरिएको अग्नि ग्रुपका डीजीएम अमित चौधरीले बताए । “ढिलै भए पनि सेवा सुविधा प्रदान गर्न आएका छौं,” उनले भने, “सबै सुविधा यहाँ उपलब्ध छ ।”
अत्याधुनिक सुविधासम्पन्न महिन्द्रा सर्भिस सेन्टरको पनि स्थापना गरिएको छ । फागुनको अन्तिममा निःशुल्क सर्भिस क्याम्प राख्ने तयारी रहेको चौधरीले बताए । सोरुममा महिन्द्राको पिक अप गाडी र ट्र्याक्टर राखिएको यहाँका आधिकारिक बिक्रेता संगीता ट्रेडर्सका प्रोपाइटर कमल लिम्बूले बताए । सोरुममा करिब २ करोड बढी लगानी रहेको प्रोपाइटर लिम्बूले बताए । अधिकांश महन्द्रिाको गाडी कुद्ने जिल्लामा सर्भिस सेन्टर नहुँदा झापाको बिर्तामोडसम्म जानुपर्ने बाध्यता थियो । अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राका गाडीको बिक्री गर्दै आएको छ ।
–देवराज गुरुङ