Logo

जिनियस स्कुलद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं- ललितपुरमा रहेको जिनियस स्कुलले जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा रहेको जिनियस स्कुलले सोही नगरपालिकाभित्रका १४ वटा सामुदायिक विद्यालयका २८ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।

स्कुलले आफ्नो स्थापनाको १० वर्ष पुरा गरेको अवसरमा १४ जना छात्र र १४ जना छात्रालाई शैक्षिक सामग्रीसहितको शत प्रतिशत छात्रवृत्ति वितरण गरेको हो । हाल कक्षा २ मा अध्यनरत उनीहरुले माध्यमिक तहसम्मको शिक्षाका साथै शैक्षिक सामग्री पनि निःशुल्क प्राप्त गर्ने स्कुलले जनाएको छ ।

छात्रवृत्ति विरतरण कार्याक्रम महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द्र श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, विद्यालयका संस्थापक अध्यक्ष नबिन जोशी र कार्यकारी निर्देशक राजेशकुमार जोशीको उपस्थितिमा सम्पन्न गरिएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख श्रेष्ठ र उपप्रमुख महर्जन दुवैले जिनियस स्कुलले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा जिनियस स्कुलका प्रिन्सीपल सिरिशा श्रेष्ठले आफ्नो मन्तव्यसहित कार्यक्रम समापन गरेकी थिइन् । नेपालमै अन्तर्राष्ट्रिय स्तरको पठनपाठन गराउने उद्देश्यका साथ स्थापना भएको जिनियस स्कुलले बालबालिकाहरू शिक्षाको उज्यालो घाम बाट बञ्चित हुनु नपरोस् भन्ने ध्ययले यस लगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ । उक्त स्कुलमा किन्डरगार्टनदेखि १० कक्षासम्म उच्च गुणस्तरीय शिक्षा प्रदान हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्