Logo

काठमाडौंमा दसौं फर्निचर एक्स्पो हुने

काठमाडौं– आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा दसौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ । ‘आत्मनिर्भरतामा एक कदम अगाडी’ भन्ने नाराका साथ नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले आगामी असोज २ देखि ५ गतेसम्म एक्स्पो आयोजना गर्न लागेको हो ।

राजधानीमा एक्स्पोको लञ्चिङ कार्यक्रमको आयोजना गरि आयोजकले एक्स्पोमा पहिलो पटक खुल्ला बजार समेत सञ्चालन गर्न लागिएको जनाएको छ । इभेण्ट लञ्चिङकै दिनदेखि एक्स्पोको स्टल बुकिङ खुल्ला गरिएको छ । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बुकिङ खुल्ला गरिएकोमा कार्यक्रमस्थलमै ५० प्रतिशत स्टलहरु बुकिङ भएका छन् ।

हरेक वर्ष एक्स्पोमा आकर्षण बढ्दा फर्नेक्स नेपाल राम्रो ब्राण्डका रुपमा स्थापित भएकाले लञ्चिङकै दिन स्टल बुकिङमा आकर्षण देखिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए । नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको अग्रवालको भनाइ छ ।

एक्स्पोका संयोजक सम्यक मान सिंहका अनुसार पहिलो पटक एक्स्पो स्थलमा फर्निचरजन्य उत्पादनको प्रत्यक्ष किनबेच गराउन फर्निचर तथा फर्निसिङको खुल्ला बजार पनि सञ्चालन हुनेछ । २० वटा स्टलमा सञ्चालन हुने फर्निचर बजारमा आकर्षक छुट तथा अफरमा अवलोकनकर्ताले फर्निचर तथा फर्निसिङका सामान खरिद गर्न सक्नेछन् । किस्ताबन्दीका साथै धेरै छुटका सम्बन्धमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरिने अग्रवालले बताए ।

प्रतिक्रिया दिनुहोस्