Logo

महाकाली सिँचाइ आयोजनाको बनायाे ड्रेन

महेन्द्रनगर– कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका र बेलौरीको सिमसार दलदलमा परिणत भएको जमिन पुर्नरुत्पादनका लागि ड्रेन निर्माण गरिएको छ । बेलडाँडी गाउँपालिका १, २ र बेलौरी नगरपालिका–९ को दलदलमा परिणत भएको जमिन पुर्नरुत्पादनका लागि ड्रेन निर्माण गरिएको हो ।

झण्डै अढाई दशक अघि निर्माण भएको महाकाली सिँचाई नहरको पानी चुहिएर खेतीयोग्य जमिन सिमसारमा परिणत भएको थियो । खेत दलदलमा परिणत भएपछि किसानले अढाई दशकदेखि अन्नबाली लगाउन पाएका थिएनन् । बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाको दलदल जमिन पुर्नरुत्पादनका लागि महाकाली सिँचाई व्यवस्थापन कार्यालय, जल उपभोक्ता संघ केन्द्रीय एवम् द्वितिय समितिले सिमसार जमिनमा स्काभेटर लगाएर ड्रेन निर्माण गरेको छ ।

महाकाली सिँचाई व्यवस्थापन कार्यालय महेन्द्रनगरका प्रमुख रामकृष्ण घोडासैनीले बेलौरी र बेलडाँडीको दलदलमा परिणत भएको जमिन खेतियोग्य बनाउनका लागि कार्यालयकै स्काभेटर प्रयोग गरेर नाला निर्माण गरिएको बताए । ‘यहाँ सिमसारमा परिणत भएको जमिन हामीले के गर्न सकिन्छ, भनेर एक पटक सर्वे गरेका थियौं, ‘उनले भने, ‘जे जति सकिन्छ, कार्यालयबाटै स्रोत साधन प्रयोग गरेर हामीले खेतमा जमिनको पानी निकासका लागि निकास बनाएका छौं, यसबाट झण्डै अढाई सय किसान लाभान्वित हुने हाम्रो अपेक्षा छ ।’

त्यसैगरी उखु धानखेतीका लागि उर्र्वरभूमि दलदलबाट मुक्त भएपछि किसानदेखि उद्योगीलाई सुविधा हुने छ । कार्यालयले मुल नहर सुरक्षित गर्नका लागि प्रयोग गर्दै आएको स्रोत साधन यस पटक हामीले बेलडाँडी र बेलौरीको दलदलमा परिणत भएको जमिनमा लगाएर किसानलाई केही राहत दिन खोजेको उनले बताए । थप विस्तारसमेत गर्ने कार्यालय प्रमुख घोडासैनीले बताए ।

महाकाली सिँचाई व्यवस्थापन कार्यालय महेन्द्रनगरका इन्जिनियर सालिक भुसालले जमेको पानी निकासका लागि झण्डै तीन हजार मिटर ड्रेन पाँच फिट गहिराई खनिएको बताए । ‘अब केही हदसम्म खेतमा जमेको पानी नालामै बग्छ’ ‘उनले भने, ‘खेतमा भएको पानी सुक्दा खेत दलदलमुक्त भई खनजोत गर्न सकिन्छ ।’

महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रिय समितिका अध्यक्ष भीमबहादुर थापाले बेलडाँडी बजारदेखि झिलमिला बस्ती, झर्नाखोलादेखि रतनपुरसम्मै ड्रेन निर्माण गरिएको बताए । अध्यक्ष थापाले किसानको समस्या समाधानका लागि ड्रेन निर्माण कार्य सुरु गरिएको बताएका छन् । ‘पहिलो चरणमा हामीले झर्नाखोलासम्म ड्रेन निर्माण गर्छौं’ ‘उनले भने, ‘बेलौरी नगरपालिका–९ रतनपुर हुँदै कमरीसम्मै निर्माण गर्ने योजना छ ।’

प्रतिक्रिया दिनुहोस्