Logo

शुद्धोधन पालिकाले अनलाइनबाट बजेट सुझाव माग्याे

बुटवल– रुपन्देहीको शुद्धोधन गाउँपालिकामा अनलाइनमार्फत नीति तथा कार्यक्रम र बजेटको लागि सुझाव माग गरिएको छ । गाउँपालिकाले गुगल फारम बनाएर सुझाव संकलन गर्न थालेको हो । विदेशमा रहेका शुद्धोधनवासीले पनि सुझाव दिन सकुन भनेर अनलाइनमार्फत सुझाव संकलनको व्यवस्था गरिएको गाउँपालिकाका प्रवक्ता केशवप्रसाद अधिकारीले बताए ।

‘अब हाम्रो गाउँसभामा पनि बजेट बनाउने बेला भएको छ । विदेशमा रहेका साथीभाइहरुले पनि हाम्रो गाउँपालिका यस्तो होस भनेर सुझाव दिन पाउने भए,’ उनले भने, ‘देश भित्रै रहेका र विभिन्न विज्ञहरुले पनि सुझाव दिन सक्ने भए ।’ सुझाव संकलनको लागि गुगल फारमको लिंक गाउँपालिकाले आफ्नो वेबसाइट र सामाजिक सञ्जालमा राखेको छ । लिंकमा क्लिक गरेपछि फारम खुल्छ । फारममा १८ वटा सुझावका लागि प्रश्न तथा विषय राखिएको छ ।

सुरुमा सुशासन तथा संस्थागत विकासको लागि के गर्दा उपयुक्त हुन्छ भनेर सोधिएको छ । दोस्रोमा नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउने सम्बन्धमा सुझाव मागिएको छ । तेस्रोमा कृषि क्षेत्रमा गाउँपालिकाले के के गर्दा उपयुक्त हुन्छ भनेर प्रश्न गरिएको छ । चौथोमा पशुपालनबारे सुझाव मागिएको छ । त्यसपछि क्रमशः समावेशीकरण, शिक्षा, स्वास्थ्यको बारेमा सुझाव दिन भनिएको छ ।

गाउँपालिकाको स्थायी आम्दानी बृद्धि गर्न के के गर्दा उपयुक्त हुन्छ भनेर समेत अनलाइन प्रश्न राखेको छ । पालिकाको सूचना प्रविधी, पर्यटन पूर्वाधार, सडक, खानेपानी, स्वरोजगारको सम्बन्धमा पनि के गर्दा उपयुक्त हुन्छ भनी प्रश्न गरेर सुझाव दिन भनिएको छ । गाउँपालिकामा के कस्ता लघु उद्यम सिर्जना गरी आत्मनिर्भर बन्न सकिन्छ भनेर पश्न गर्दै दक्ष जनशक्ति उत्पादन र रोजगारीको सम्बन्धमा पनि गाउँपालिकाले राय मागेको छ ।

नागरिकलाई के कसरी सेवा उपलब्ध गराउन सकिन्छ, टोल विकास संस्थाहरुलाई के के जिम्मेवारी दिएर प्रभावकारी रूपमा परिचालन गर्न सकिन्छ भन्ने लगायतका प्रश्न फारममा उल्लेख छ । पालिकाहरुले असारको १० गते गाउँसभा तथा नगरसभामार्फत नीति कार्यक्रम र बजेट ल्याउने गर्छन् । शुद्धोधन गाउँपालिकाका सूचना प्रविधि अधिकृत इश्वरी न्यौपानलेले जेठ मसान्तसम्म अनलाइनमार्फत सुझाव दिन सकिने बताए । यो महिना भित्र केही राम्रा सुझावहरु आउन सक्ने आशा गरिएको उनले बताए ।

यसैबीच रुपन्देहीमा अन्य पालिकाहरूले पनि नीति कार्यक्रम र बजेटको लागि सुझाव माग गर्न थालेका छन् । केहीले सर्वपक्षीय भेला गरी सुझाव माग गरेका छन् भने कतिपय माग्ने क्रममा छन् । रुपन्देहीमा १ उपमहानगरपालिका, ५ नगरपालिका १० गाउँपालिका गरी १६ वटा स्थानीय तह छन् ।

प्रतिक्रिया दिनुहोस्