Logo

कृष्णनगर भन्सारले उठायो ७१ प्रतिशत राजस्व

बुटवल– कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको वैशाखसम्म ७१.७६ प्रतिशत राजस्व संकलन गरेको छ । जिल्लाको सबैभन्दा ठूलो भन्सार नाका कृष्णनगरले आर्थिक बर्ष २०८०/८१ को बैसाख मसान्तसम्म ३ अर्ब ७० करोड राजस्व उठाएको हो । उक्त भन्सारले वैशाख मसान्तसम्म ५ अर्ब १५ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो । चालु आर्थिक वर्षको असार मसान्तसम्म भन्सार कार्यालयले ६ अर्ब १९ करोड उठाउने लक्ष्य लिएको छ ।

त्यो अवधिसम्म लक्ष्य नजिक पुगिन्छ की भन्ने आशा रहेको कृष्णनागर भन्सारका सूचना अधिकारी लेखनाथ भट्टराईले बताए । ‘आशा छ, तर केही चुनौती पनि छन् । जेठ ११ र १२ गते भारतमा चुनाव छ । त्यो दिन सीमा नाका बन्द हुन्छ । जेठ १५ गते बजेट घोषणा हुने दिन करका दर परिवर्तन हुने हुँदा भन्सारमा कारोबार हुँदैन,’ उनले भने,‘वर्षाले पनि प्रभाव पर्छ । तै पनि लक्ष्य पुरा नभए पनि नजिक पुगिन्छ कि भन्ने आशा छ ।’ वैशाख महिनामा कृष्णनगर भन्सारको राजस्व संकलन बढेको छ ।

उक्त महिना मात्र लक्ष्यको ९६.७४ प्रतिशत राजस्व उठेको सूचना अधिकारी भट्टराईले बताए । भन्सार कार्यालयले वैशाखमा ५३ करोड १४ लाख राजस्व संकलनको लक्ष्य राखेको थियो । जसमध्ये ५१ करोड ४१ लाख उठेको हो । वर्ष भरी सबैभन्दा धेरै राजस्व वैशाखमै उठेको भट्टराईको भनाइ छ । कृष्णनागर नाकाबाट मुख्य गरी उद्योगका कच्चा पदार्थहरु आउने गर्छ । आगामी बजेटमार्फत करका दर हेरफेर हुन्छ । बजेटको पूर्व सन्ध्या भएकाले पनि गत महिना राजस्व संकलन बढेको हुन सक्ने सूचना अधिकारी भट्टराईले बताए ।

‘करका दर बढ्न सक्छन् भनेर कारखानाहरुले कच्चा पदार्थका सामग्री धेरै आयात गर्दा वृद्धि भएको होला । अर्कोतर्फ आर्थिक क्रियाकलाप पनि बढेको भएकाले हुन सक्छ,’ उनले भने । कृष्णनगर भन्सार कार्यालयबाट मुख्य गरी औद्योगिक कच्चा पदार्थ बढी आउने गरेको छ । जस अनुसार कोइला, बियर बोतल, केन, सिमेन्ट कच्चा पदार्थहरू, गहुँ दाना आयात हुने गरेको छ । पछिल्लो समय जुत्ता, कपडाको आयात दर घटेको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्