Logo

नदीजन्य पदार्थको कमीले योजना कार्यान्वयनमा समस्या

दाङ– नदीजन्य पदार्थको कमीले योजना कार्यान्वयनमा समस्या देखिएको छ । जिल्लामा नदीजन्य पदार्थ उत्खननको काम ढिला हुँदा निर्माणको लागि आवश्यक पर्ने कच्चा पदार्थको अभाव देखिदा योजना कार्यान्वयनमा समस्या देखिएको हो । चालु आर्थिक वर्ष सकिन २ महिना पनि समय बाँकी छैन । यती बेला विकास निर्माणका काम तीव्र रुपमा सञ्चालन हुनुपथ्र्यो ।

तर निर्माण व्यवसायीहरुले विकास निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ उपलब्ध हुन नसक्दा काम गर्न समस्या भएको बताएका छन् । नदीजन्य पदार्थ पाउन नसक्दा विकास निर्माणको कार्य प्रभावित भएको दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रवीण भण्डारीले जानकारी दिए । अहिले तुलसीपुर क्षेत्रमा यस प्रकारको समस्या आएको उनको भनाइ छ ।

‘तुलसीपुर उमहानगरपालिकामा सहज रूपमा नदीजन्य पदार्थ पाउन नसक्दा समस्या भएको भण्डारीले बताए । त्यस क्षेत्रमा काम गर्ने निर्माण व्यावसायीहरुले समस्या भएको भनेर जानकारी गराएको उनी बताउँछन् । तुलसीपुर क्षेत्रमा काम गर्ने निर्माण व्यवसायीहरुले सहज रूपमा नदीजन्य वस्तु उपलब्ध गराइदिन भनेर उपमहानगरपालिकामा निवेदन दिए पनि त्यसको सुनाइ नभएको व्यवसायीहरु बताउँछन् ।

व्यवसायीहरुले निवेदन दिएको करिव एक महिना हुन थाल्यो, तर माग पुरा हुन नसकेको एक निर्माण व्यवसायीले बताए । उपमहानगरपालिकाले कुनै वाहाना झिकेर पन्छाउने काम मात्र गरेको उनको भनाइ छ । काम गर्ने समयमा सामग्री पाउँन नसक्दा धेरै समस्या भोग्नु परेको पनि ती व्यवसायीले बताए ।

‘अहिले तीव्र रुपमा काम गर्ने समय हो तर पनि सामाग्री पाउन नसक्दा समस्या भएको छ,’ अध्यक्ष भण्डारीले भने । पिच बाटोको लागि प्रारम्भिक चरणको काम गर्न नदीजन्य सामग्री नपाउँदा काम समेत सुरु गर्न नसकिएको उनले बताए । कतिपय व्यवसायीले दंगीशरणबाट ल्याएर काम गरिरहेका छन् ।

‘टाढाबाट ल्याउँदा मूल्य पनि बढी पर्ने र ल्याउँदा धेरै समस्या भोग्नु परेको छ,’ भण्डारीले भने । काम नगरेर वस्नु भन्दा जोखिम मोलेर तथा मूल्य समेत बढी तिरेर भए पनि काम गर्ने गरेको उनीहरुको भनाइ छ । नदीजन्य वस्तु पाउन नसक्दा अहिले साना ठूला आयोजनामा प्रभाव परेको छ । निर्माणका लागि आवश्यक पर्ने सामग्रीको प्रमुख स्रोत नै नपाएपछि काम रोक्नुपर्ने बाध्यता भएको निर्माण व्यवसायीहरू बताउँछन् ।

काम रोकिदा मजदुरले समेत रोजगारी गुमाउने गरेका छन् । वर्षाको समयमा काम गर्न समस्या हुने, त्यसपछि चाडपर्व हुने भएकाले काम कम हुने गरेको उनको भनाइ छ । असोजमा नै नदीजन्य पदार्थको ठेक्का आह्वान गरेर समयमै सहज रूपमा काम गर्नका लागि सामग्री पाउने व्यवस्था मिलाउनु पर्ने व्यवसायीहरुको माग छ ।

नजिकबाट सामग्री पाएमा मूल्य समेत कम पर्ने उनको भनाइ छ । निर्माणको काम नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको छैन् । काम रोकिँदा निर्माणमा प्रयोग गरिएका सवारीसाधन समेत खाली बस्न बाध्य भएका छन् भने मजदुरले समेत रोजगारी गुमाएका छन् । तुलसीपुर उपमहानगरपालिकाकाले भने नदीजन्य पदार्थका कारण नै निर्माण कार्य रोकिने अवस्था नभएको बताएको छ ।

हालसम्म नदीजन्य पदार्थको कारण काम रोकिएको भन्ने जानकारी नआएको उपमहानगरपालिका स्रोतले बतायो । समस्याको जानकारी गराएमा समाधान हुने उपमहानगरपालिकाले जनाएको छ । नदी तथा खोलामा लगाइने उत्खनन् ठेक्काका कारण नदीजन्य पदार्थमा चोरी निकासी बढेको तथा राजस्वसमेत चुहावट हुने गरेको भन्दै जिल्लाका १० वटै स्थानीय तहले उत्खनन आफैं गर्ने सामूहिक निर्णय समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्