Logo

कोदोमा आकर्षित भए पर्वतका किसान

फाइल तस्बिर ।

पर्वत– रैथानेवालीको रूपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका कृषकको आकर्षण बढ्न थालेको छ । बजार अभावले केही वर्ष पहिलेसम्म कोदो उत्पादन गर्न छाडेका कृषकहरु अहिले पुनः कोदो खेतीमा सक्रिय हुन थालेका छन् । पछिल्ला केही वर्ष यता होटल, रेस्टुरेन्ट तथा होम स्टेहरुमा पनि कोदोका परिकारको माग बढ्न थालेको छ । कोदोको परिकारमा प्रोटिन, आइरन र क्यालसियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्न थालेपछि उत्पादन पनि बढ्न थालेको हो ।

पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरबाससँगै सहर बजारका ठूला–ठूला होटलका भान्छामा पनि ढिँडो पाक्न थालेको छ । कोदोको माग बढ्दै जान थालेपछि जिल्लामा व्यावसायिक रूपमा कोदो खेतीतर्फ कृषकलाई आकर्षण गर्न थालिएको छ । कृषि ज्ञान केन्द्र पर्वतले रैथाने वाली उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने कृषकलाई अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षमा थप साढे २८ हेक्टर क्षेत्रफलमा कोदो खेती विस्तारका लागि केन्द्रले सहयोग गरेको हो ।

कोदो खेती गर्ने कृषकलाई यान्त्रिकीकरणमा सहयोग गरिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ कोदो बालीको प्रवर्द्धनका लागि कृषकलाई वितरण गरिएको छ । कृषकलाई यान्त्रिक हलो र थ्रेसर मेसिन उपलब्ध गराइएको छ । यसले खेतबारी खनजोत गर्न र उत्पादन भइसकेपछि कोदो झार्न सहज हुने भएको छ । कृषकको कार्य बोझ घट्नुका साथै उत्पादन लागत समेत कम होस् भन्ने उद्देश्यले यान्त्रिकीकरणतर्फ सहयोग गरिएको कार्यालयले जनाएको छ ।

यस बाहेक रैथाने जातका बालीको रूपमा रहेका फापर, धान, जौ, कोदोको प्रशोधनका लागि चार लाख रुपैयाँ अनुदान वितरण गरिने अधिकारीले बताए । पर्वतमा झापे, डल्ले, मंसिरे र स्थानीय जातको कोदो उत्पादन हुँदै आएको छ । जिल्लाको आठ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा कोदोको उत्पादन हुने गर्छ । यो वर्ष पर्वतमा आठ हजार तीन सय १० मेट्रिक टन कोदो उत्पादन भएको छ । जसमध्ये पाँच हजार एक सय ७५ मेट्रिक टन कोदो निर्यात भएको कार्यालयले जनाएको छ ।

जसबाट २३ करोड २८ लाख ७५ हजार रुपैयाँ भित्र्याएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । उत्पादित कोदोमध्ये तीन हजार एक सय ३५ मेट्रिक टन कोदो कृषकहरूले खाद्यान्न, बिउ र गाईभैसीको दानाको रूपमा प्रयोग गरेका छन् । रैथाने जातको कोदोको माग बढेपछि केही किसान व्यावसायिक कोदो उत्पादनमा लागेका छन् । जिल्लाको सबै क्षेत्रमा कोदो उत्पादनका लागि उपयुक्त हावापानी रहेको कार्यालयले जनाएको छ ।

पछिल्लो केही वर्षयता पर्वतको कुस्मा बजारका होटलहरुमा कोदोका परिकारको माग बढ्न थालेको होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए । कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेको उनको भनाइ छ । माग बढेसँगै गाउँबाट कोदोको पिँठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको श्रेष्ठले बताए । मुख्य गरी मधुमेह र ग्यास्ट्रिक रोगबाट पीडितहरूले कोदोको परिकार बढी मात्रा खाने गरेका छन् ।

अहिले ग्रामीण क्षेत्रमा उत्पादित कोदो स्थानीयले मदिरा बनाउन प्रयोग गर्दै आएका छन् । बजारमा विभिन्न परिकार बनाएर बिक्री गर्ने प्रचलन बढ्दै गएको कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शंकर पौडेलले बताए । कोदो उत्पादनका लागि प्रोत्साहनमूलक कार्यक्रम थालेसँगै क्षेत्रफल समेत बढ्ने केन्द्रको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्