Logo

चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

फाइल तस्बिर ।

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट सोमबार विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ । वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।

उक्त विश्वासको मतसम्बन्धी पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली २०७९ को निमय १५५ बमोजिम सोमबारको बैठकमा त्यससम्बन्धी प्रस्ताव पेश गर्ने संघीय संसदको आजको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ ।

सभामुखबाट उक्त प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । संघीय ससद्को चौथो अर्थात बर्खे अधिवेशन गत वैशाख २८ बाट शुरुभएको हो । संसद्को संयुक्त वैठकमा यही जेठ १ गते आगामी आर्थिक बर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ भने प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने सवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्