Logo

पर्यटकको खर्च र बसाइ अवधि बढ्यो

काठमाडौं– नेपाल भ्रमण गर्ने पर्यटकले प्रतिदिन गर्ने औसत खर्च र बसाइ अवधि बढेको छ । पछिल्लो समय पर्यटक आगमन लयमा फिर्ता भएसँगै खर्च र बसाइ अवधिसमेत बढेको हो ।

पर्यटन मन्त्रालयले जारी गरेको ‘नेपाल टुरिजम स्टाटिस्टिक्स २०२३’ अनुसार प्रतिपर्यटक औसत बसाइ १३.२ दिन र प्रतिदिन खर्च ४१ अमेरिकी डलर पुगेको छ । २०२२ मा औसत बसाइ १३.१ दिन रहेको र खर्च ४०.५ अमेरिकी डलर थियो । यसैगरी २०२१ मा एक विदेशी पर्यटकले दैनिक औसत ४८ डलर खर्च गर्थे भने औसत बसाइ अवधि १५.५ दिन थियो । सन् २०२० मा ६५ अमेरिकी डलर खर्च थियो भने बसाइ अवधि १५.१ दिन ।

सन् २०२१ मा कोभिडका कारण पर्यटक आगमन अत्यन्तै न्यून भए पनि खर्च र बसाइ अवधि भने बढेको थियो । क्वारेन्टिन बस्नुपर्ने व्यवस्थाका कारण त्यस वर्ष खर्च र बसाइ बढेकोमा २०२२ मा घटेको थियो ।

पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत दीपकराज जोशी पर्यटकको संख्यासँगै बसाइ अवधि र खर्च बढाउनु चुनौतीपूर्ण रहेको बताउँछन् । सन् २०२३ मा १० लाखभन्दा बढी पर्यटक आगमन हुँदा पनि प्रतिदिन खर्च ४१ डलरमात्र हुनु चिन्ताको विषय भएको जोशीको भनाइ छ । उनले भने, ‘नेपालको प्रचारप्रसार गुणस्तरीय पर्यटक आगमन हुने क्षेत्रमा नभएको तथ्यांकले देखाएको छ । प्रचारप्रसारमा नेपाल चुकेको हो । हवाई भाडा महँगो भएकोले पनि अन्य पर्यटकीय गन्तव्यमा खर्च नभएको हो । डिजिटल भुक्तानीका विभिन्न माध्यम भएकाले गर्दा पर्यटकले गरेको खर्च तथ्यांकमा नदेखिने र चुुहावट हुने सम्भावना पनि छ । त्यसको अध्ययन आवश्यक छ ।’

पर्यटन मन्त्रालय तथा पर्यटन बोर्डले स्रोत बजारमा प्रचारप्रसारमा जोड नदिएकोले पछिल्लो समय पर्यटकको बसाइ र दैनिक खर्चमा कमी आएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्ष रमेश थापाले बताए । उनले भने, ‘युरोप तथा अन्य पर्यटकीय स्रोत बजारमा सिधा उडान नहुँदा हवाई भाडा महँगो हुँदै आएको छ । सरकारले टिकट मूल्यमा कर लगाउँदा थप महँगो भएर पर्यटकले गन्तव्यमा गर्ने खर्च कम भएको हो ।’ भारतीय पर्यटकलाई २५ हजारभन्दा बढी नगद ल्याउन नदिनु तथा सरकारले पर्यटन उद्योगको नीतिगत सहजता र ल्याएका कार्यक्रम कार्यान्वयन नगर्दा पर्यटकबाट हुने खर्च र बसाइ अवधि कम भएको थापाको बुझाइ छ ।

यो वर्षको पहिलो महिनादेखि नै पर्यटक आगमन बढ्दो क्रममा छ । जनवरीदेखि अप्रिलसम्म ४ लाख १६ हजारभन्दा बढी पर्यटक आएको तथ्यांक छ । जनवरीमा ७९ हजार, फेब्रुअरीमा ९७ हजार, मार्चमा १ लाख २८ हजार र पछिल्लो महिना अप्रिलमा एक लाख ११ हजारभन्दा बढी पर्यटक आएका छन् ।

प्रतिक्रिया दिनुहोस्