प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी–१
कृषि क्षेत्रमा बैंकहरूको कर्जा लक्ष्यभन्दा बढी

काठमाडौं– राष्ट्र बैंकले तोकेको प्राथमिकता प्राप्त क्षेत्रमध्ये कृषि क्षेत्रमा लक्ष्यभन्दा बढी कर्जा विस्तार भएको छ । नीतिगत सहजता तथा बाध्यात्मक व्यवस्थाका कारण बैंक तथा वित्तीय संस्थाहरूले कृषि क्षेत्रमा हुने कर्जा बढाएका हुन् ।
चालु आवको ९ महिनासम्ममा कृषि क्षेत्रमा २ अर्ब ९० करोड रुपैयाँ कर्जा विस्तार भएको राष्ट्र बैंकको तथ्यांकमा छ, जुन असार मसान्तको तुलनामा ०.७ प्रतिशत बढी हो । गत आवको ९ महिनामा यस क्षेत्रमा जाने कर्जा विस्तार २.३ प्रतिशत ऋणात्मक थियो । यो वर्ष भने बढेको छ ।
चालु आवको चैतसम्ममा बैंकहरूले ४ खर्ब १७ अर्ब रुपैयाँ कृषि क्षेत्रमा ऋण लगानी गरेका छन् । जबकी गत असारमा ३ खर्ब ७९ अर्ब कृषि क्षेत्रमा कर्जा लगानी भएको थियो ।
चालु आवको साउनको तुलनामा भदौमा र भदौको तुलनामा असोजमा यस क्षेत्रमा जाने कर्जा केही घटे पनि अन्य महिनामा कर्जा विस्तार बढेको देखिन्छ । साउनसम्ममा बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा भदौमा ४ खर्ब ९ अर्ब, असोजमा ४ खर्ब १६ अर्ब, कात्तिकमा ४ खर्ब १० अर्ब, मंसिरमा ४ खर्ब १४ अर्ब, पुसमा ४ खर्ब १९ अर्ब, माघमा ४ खर्ब १८ अर्ब, फागुनमा ४ खर्ब १५ अर्ब र चैतसम्ममा ४ खर्ब १७ अर्ब रुपैयाँ कर्जा विस्तार भएको छ ।
कृषि क्षेत्रमा जाने कर्जाअन्तर्गत फार्मिङ, चिया, पशुपालन, माछापालन, जंगल तथा मासुजन्य उद्योग तथा अन्य कृषि तथा कृषिजन्य क्षेत्रमा गएको कर्जा पर्दछ । कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले लगानी बढाउनुपर्ने निष्कर्ष निकाल्दै यसलाई सरकारले प्राथमिकता प्राप्त क्षेत्र अन्तर्गत वर्गीकरण गरेको थियो ।
त्यसपछि राष्ट्र बैंकले कर्जा प्रवाहका लागि न्यूनतम सीमा कायम गरेर बैंक तथा वित्तीय संस्थाहरूलाई कार्यान्वयनका लागि निर्देशन दिँदै आएको छ । राष्ट्र बैंकको एकीकृत निर्देशन २०७९–८० मा भएको विपन्न वर्ग तथा तोकिएका उत्पादनशील क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा सम्बन्धी व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्नुपर्ने हुन्छ ।
यसअन्तर्गत २०८४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा १५ प्रतिशत कर्जा विस्तार गर्नुपर्ने छ । २०८१ असार मसान्तसम्ममा भने ११ प्रतिशत कर्जा विस्तार अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसै व्यवस्थालाई कार्यान्वयनका लागि बैंकहरूले सक्रियताका साथ कर्जा लगानी गर्दै आएका छन् ।
निजी क्षेत्रमा कर्जा विस्तार सुस्ताइरहेको समयमा नियामक निकायको अनिवार्य गर्नुपर्ने व्यवस्था र कतिपय लचक नीतिका कारण पनि बैंकहरूले कृषि क्षेत्रमा कर्जा लगानी विस्तार गरिरहेका छन्, जुन यस वर्षको लक्ष्यभन्दा बढी पनि भइरहेको जानकारहरू बताउँछन् । जसकारण गत वर्ष ऋणात्मक रहेको कृषि क्षेत्रमा कर्जा विस्तार चालु आवको ९ महिनासम्ममा सकारात्मक तहमा आइपुगेको छ ।
राष्ट्र बैंकको चालु आवको पुस मसान्तसम्मको विवरणअनुसार अधिकांश बैंकले ११ प्रतिशतभन्दा बढी नै कृषि क्षेत्रमा कर्जा विस्तार गरेका छन् । तर त्यस अवधिसम्ममा प्रभु बैंक र माछापुच्छ्रे बैंकले भने लक्ष्य भेट्टाउन सकेका थिएनन् । प्रभु बैंकले कृषि क्षेत्रमा ८.३२ प्रतिशतमात्रै कर्जा विस्तार गर्न सकेको थियो । यस्तै माछापुच्छ्रे बैंकले १०.८२ प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गरेको थियो ।
यी दुईबाहेक अन्य बैंकले कुल कर्जामध्ये ११ प्रतिशतभन्दा बढी कर्जा कृषि क्षेत्रमा विस्तार गरेका छन् । जुन चालु आवका लागि लक्ष्य भेटिसकेको अवस्था हो । चालु आवको वैशाखसम्ममा ती दुई बैंकको पनि अवस्था केही सुध्रिएको छ । यद्यपि राष्ट्र बैंकले चैत मसान्तसम्मको विवरण भने सार्वजनिक गर्न बाँकी नै छ ।
प्राथमिकता प्राप्त क्षेत्रमा अन्य क्षेत्रमा जाने कर्जाको भन्दा कम ‘रिस्क वेट’ भएकाले पनि बैंकहरूले यसतर्फ आकर्षण गराएको बैंकर बताउँछन् । यसबाहेक अन्य नीतिगत सहजीकरणका कारण पनि बैंकहरूले टार्गेट पुर्याउनका लागि यस क्षेत्रमा कर्जा लगानी गरिरहेको ती बैंकरको भनाइ छ । यसबाहेक अहिले पहिले नै स्वीकृत भएका यस्ता क्षेत्रमा कर्जा विस्तार भइरहेको अर्का एक बैंकरले बताए ।
ती बैंकरले भने, ‘पहिले नै स्वीकृत गरेको कर्जाका कारण पनि त्यसमा कर्जा गइरहेको देखिएको हो । ऋण अहिले बढ्दै गएको छ, परियोजना निर्माण हुँदै जाँदा ऋण बढेको देखिएको हो ।’ चालु आर्थिक वर्ष ०८०–८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले कृषि, साना, घरेलु तथा मझौला उद्यम–व्यवसायमा प्रवाह भएको २ करोड रुपैयाँसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरेको छ । रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना हुने कर्जाको जोखिम भार ७५ प्रतिशतमात्रै हुने भएका कारण त्यसले बैंकको पुँजी कोष व्यवस्थापनमा समेत सहज भएपछि यस्ता क्षेत्रमा कर्जा विस्तार केही बढेको जानकारहरू बताउँछन् ।