Logo

घरजग्गा राजस्व ३१ करोडमात्र बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको १० महिना बितिसक्दा समेत घरजग्गा कारोबार र राजस्व संकलन सुधार हुन सकेको छैन । १० महिनाको तथ्यांकले चालु आवमा समेत देशभरको जग्गा कारोबार राजस्वमा कमी हुने देखिएको छ ।

चालु आर्थिक वर्षको वैशाखसम्म ११ लाख ९३ हजार कारोबार हुँदा ३३ अर्ब १ करोड राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा ११ लाख ३२ वटा कारोबार हुँदा ३२ अर्ब ७० करोड रुपैयाँ संकलन भएको थियो । चालु आवको कारोबार र यसबाट उठ्ने राजस्व गत आवभन्दा फरक देखिएको छैन । गत आवको साउनदेखि वैशाखसम्म जग्गाको राजस्व तुलना गर्दा चालु आवको सोही अवधिमा ३१ करोडमात्र बढी संकलन भएको छ ।

गत आवमा जग्गा कारोबारमा देखिएको मन्दी यो वर्ष सुधार हुने अपेक्षा गरिए पनि वैशाखसम्मको तथ्यांकले विगत वर्षजस्तै रहने देखिएको छ । गत वर्ष जग्गाको कारोबारमा मन्दी आउँदा समग्र आर्थिक क्रियाकलापमा नै असर परेको थियो । सरकारले जग्गाको कित्ताकाट खुलाएपछि देशभरका मालपोत कार्यालयमा कारोबार सामान्य बढेको देखिए पनि यसबाट उठ्ने राजस्व भने उस्तै छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकमा भने गत वर्षभन्दा कारोबार बढेको देखिएको छ । गत आवको वैशाखसम्म ११ लाख ३२ हजार जग्गा कारोबार भएकोमा यो वर्ष ११ लाख ९३ हजार पुगेको छ । यसैगरी राजस्व ३१ करोड रुपैयाँले बढी देखिएको छ । चालु आवको वैशाखसम्म १२ लाख ९३ हजार जग्गा कारोबार हुँदा ३३ अर्ब १ करोड राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा ११ लाख ३२ हजार कारोबार हुँदा ३२ अर्ब ७० करोड राजस्व संकलन भएको थियो ।

गत आवको तुलनामा चालु आवमा कारोबार बढे पनि राजस्व संकलन भने सामान्यमात्र वृद्धि भएको भूमि विभागले जनाएको छ । विभागका महानिर्देशक विदुरप्रसाद खनालले यो वर्षबाट जग्गाको कारोबार र राजस्व संकलन वृद्धि हुने अपेक्षा गरिए पनि सानातिना कारोबार बढी हुँदा राजस्व संकलन सोचेअनुसार हुन नसकेको बताए । गत आवको तुलनामा कारोबार वृद्धि भए पनि राजस्व संकलन सामान्यमात्र वृद्धि भएको उनले जानकारी दिए ।

चालु आर्थिक वर्षको पहिलो १० महिनामा जग्गा कारोबार र राजस्व संकलन सामान्यमात्र वृद्धि भएका कारण यो वर्ष पनि अवस्था उस्तै रहने सम्बद्ध व्यवसायीको भनाइ छ । सरकारले कित्ताकाटको दायरालाई सहज बनाएपछि कारोबार र राजस्व बढ्ने तथा आर्थिक क्रियाकलाप पनि सामान्य हुने अपेक्षा गरेका व्यवसायी निराश देखिएका छन् । तथ्यांकमा जस्तो फिल्डमा व्यवसाय सोचेअनुसार बढ्न नसकेको उनीहरुको भनाइ छ । जग्गाको कारोबार र त्यसबाट संकलन हुने राजस्वमा कमी आएपछि सरकारले गत साउनबाट जग्गाको कित्ताकाट खुला गरेको थियो ।

हाल देशभर ३ खर्ब रुपैयाँ रियलस्टेट क्षेत्रमा ऋण लगानी रहेको अनुमान छ । यो क्षेत्रमा व्यवसायीले लगभग ५ खर्ब लगानी गरेका छन् । पछिल्लो समय घरजग्गामा लगानी बढेर ८ खर्ब पुगे पनि कारोबार बढ्न नसक्दा समग्र अर्थतन्त्रमा नै असर परेको छ । जग्गाको कारोबार बढाउन राष्ट्र बैंकले ‘होम लोन’ लिनेलाई ईएमआई खुकुलो गर्नुपर्ने व्यवसायीको माग रहँदै आएको छ । जग्गाका लागि दिने लोनको रेसियो बढाएर आधा पैसा ऋण लिएर जग्गा किन्न चाहनेलाई सहजीकरण गरे बजार चलायमान हुने र राजस्व पनि बढ्ने व्यवसायीको भनाइ छ । घरजग्गाको मूल्य र कर्जा धितो न्यून रहेका कारण यसको कारोबारमा कमी आउँदा समग्र अर्थतन्त्रमा सुधार हुन नसकेको व्यवसायीको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्